Logo
Logo

पाँचौँ पटक देउवा बालुवाटार प्रवेश


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक बालुवाटार प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आएका देउवा शुक्रबार बिहान बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । उनी बिहान १० को साइतमा बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्रीमा देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै बालुवाटार छोडर भक्तपुरको बालकोटस्थित आफ्नो नीजि निवासमा सरेका थिए ।

देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसबेला आधा वर्ष पनि नपुग्दै माओवादी जनयुद्ध सुरु भएको थियो । माओवादीले सरकारसँग राखेको ४० बुँदे मागपत्रको बेवास्ता गरेपछि जनयुद्ध सुरुवात भएको थियो ।

त्यसपछि दोस्रो पटक २०५८ साउनमा प्रधानमन्त्री बनेका देउवाले २०५९ जेठमा बहुमत सदस्यको सहमति बेगर प्रतिनिधिसभा विघटनको सिफारिस राजासमक्ष गरेका थिए । त्यही घटनाले नेपाली कांग्रेस विभाजन भएको थियो ।

देउवा २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री बने । त्यसबेला चुनाव गराउन नसकेको आरोप लगाएर राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरिदिए । फेरि देउवा २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा संघीय व्यवस्थाको चुनावसमेत भयो । तर, नराम्रोसँग पराजित हुन पुग्यो ।

र, पाँचौ पटक सत्तारोहण गरेका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । बहुमत पु¥याउन सके बाँकी अवधि उनी नै प्रधानमन्त्री बन्नेछन् भने विश्वास नपाए संसद पुनः विघटन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्