Logo
Logo
टिप्पणी

एमाले दुई चिरा भएरै अगाडि बढ्ने निश्चित !


दृष्टि संवाददाता


काठमाडौं । नेपाली उखान टुक्कामा एउटा भनाइ छ– ‘आफ्नै मुतको पहिरो, लाजको पसारो ।’ नेपाली राजनीतिमा यतिबेला यो लोकोक्ति केपी शर्मा ओलीको सन्दर्भमा जस्ताको तस्तै लागू भएको छ ।

कसरी भने, ओलीले सत्तारक्षाका लागि दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरे । आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि लाज पचाएर त्यही संसद्मा भाग लिन गए । त्यसमाथि ‘मुतको पहिरो’ भनेजस्तो आफ्नै कोटरीका सांसद लाइन लागेर विरोधी कित्तामा उभिए ।

राजनीति गर्ने मान्छेसँग न्यूनतम नैतिकता भएन भने कम्युनिष्ट आन्दोलनकै इतिहासमा डा.केशरजंग रायमाझी जस्तै श्रृंखलाको शिकार बनेर पतन भइन्छ । जुन श्रृंखला अहिले ओलीमा देखिँदैछ । उनले एकपछि अर्को गर्दै पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालहरुलाई निषेध गर्दै गए ।

अन्ततः उनको अत्याचारविरुद्धको आवाज उनकै कोटरीभित्रबाट अभिव्यक्त हुन थालेको छ । अहिले ओलीपक्षीय नेताहरु नै भन्न थालेका छन्– ‘आफ्ना अत्याचारी कदमले अन्तिममा आफैँमाथि अत्याचार हुने खतरा बढ्यो ।’

ओलीको कोटरीबाट विद्रोह गर्ने आठ सांसदले मात्रै शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिएका छन् । एमाले स्रोतका अनुसार ओलीको कोटरीबाट थप आठदेखि दश सांसद विद्रोहका निम्ति ३ गते नै तयार थिए ।

तर, ओलीको स्वास्थ्यलाई समेत ख्याल राख्दै उनीहरु विश्वासको पक्षमा लाइन लागेनन् । त्यसमाथि माधवपक्षले आठ सांसदलाई तटस्थ राख्दै पार्टी एकताको मूल्यमा केही संयमता प्रदर्शन गरिदिँदा शेरबहादुर देउवाले पाउने थप आठ मत रोकिएको छ । नत्र देउवासँग १ सय ७३ सांसदको समर्थन रहन्थ्यो ।

माधव नेपालको संयमता
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साउन ३ गते बिहानैदेखि विश्वासको मत सन्दर्भमा अपनाउने रणनीतिबारे आन्तरिक छलफल चलायो । उपाध्यक्ष भीम रावलले पार्टी एकताको मूल्यमा सबैले सदन वहिष्कार गर्नुपर्ने धारणा राखे । तर, माधव नेपालले सार्वभौम जनताद्वारा चुनिएको संसद जोगाउने मूल्य पार्टी एकताको मूल्यभन्दा भारी हुने भन्दै त्यसो गर्न अस्वीकार गरे ।

माधव नेपालको भनाइ थियो– ‘जुन मुद्दाका लागि (संसद र संविधानको रक्षा) पुस ५ देखि हामी लड्दै आयौँ, आज त्यसलाई बचाउने मौका आउँदा हामी भाग्नु भनेको हामीले राजनीतिक नैतिकता र इमान्दारितालाई छाड्नु हो ।’

माधव नेपालको यस्तो भनाइपछि घनश्याम भुषालले बीचको बाटो सुझाए । ‘संसद पनि जोगिने, पार्टी एकताको सम्भावना पनि जिवित रहने’ उनको मार्गचित्र थियो । त्यसका लागि जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम खेमामात्रै देउवाको साथमा रहँदा माधव नेपाल पक्षबाट आठ सांसदले विश्वासको मत दिए पुग्थ्यो । त्यसैले आठबाहेकका माधवपक्षीय बाँकी सांसद तटस्थ बसिदिने ।

किनभने, त्यसबेलासम्म महन्थ–राजेन्द्र समूहका केही सांसदले उपेन्द्र–बाबुराम समूहलाई समर्थन गर्दा उनीहरुको संख्या १७ पुगिसकेको थियो । कम्तीमा पनि एकता कार्यदलमा माधव समूहका तर्फबाट सदस्य रहेका सांसद अनिवार्य तटस्थ रहने, बाँकीलाई स्वविवेकीय अधिकार दिने उनको सूत्रलाई ३ गते दिनभर विभिन्न कोणबाट कार्यान्वयन गर्ने तयारी भयो ।

संसदको दोस्रो बैठक शुरु हुनुअगावै जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहले पनि शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि माधव समूहको समर्थनबिना नै बहुमत पुग्ने भयो । तर, माधव नेपालले विश्वासको मत नदिने कुराले नैतिकतामाथि प्रश्न उठ्ने भन्दै कुनै न कुनै रुपमा संसद बचाउने भूमिकामा आफूहरु प्रस्तुत हुनैपर्ने धारणा राखे ।

उनले संसद बैठक शुरु भइसकेपछि आफूपक्षीय सांसदहरुलाई भनेका थिए– ‘हामीबिना पनि संसद जोगिने निश्चित भयो । तर, यो संसद जोगाउनका निम्ति हामीले देखिने गरी भूमिका खेलेनौँ भने इतिहासमा हाम्रो इमान्दारिता दर्ज हुँदैन । हामी राजनीतिक रुपमा बेइमान कहलिन्छौँ ।’

उनको आग्रह थियो– ‘तपाईंहरु सबैले सदन वहिष्कार गर्नुहुन्छ भने त्यो तपाईंहरुको स्वविवेकीय कुरा भयो । मचाहिँ एक्लै भए पनि विश्वासको मत दिएर हाम्रो पक्षको समर्थन छ भन्ने कुरा सांकेतिक रुपमा बुझाउन चाहन्छु । यसमा तपाईंहरुले मलाई साथ दिने, नदिने कुरामा स्वतन्त्र हुनुहुन्छ ।’


फलतः देउवालाई संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ सांसदमध्ये १५ जनाले विश्वासको मत दिए, आठ जना सांसद सदनमा अनुपस्थित भए । तर, माधव नेपालले प्रेम आलेसहित विश्वासको मत दिने अन्य चार सांसद पार्वती विसंखे, हिरा केसी, किसन श्रेष्ठ, गोपाल बमको हकमा कुनै भूमिका खेलेका थिएनन्, उनीहरुले आफूखुशी देउवाको समर्थनमा आएका थिए ।

भीम रावलको जिद्धी
सर्वोच्च अदालतबाट ससद पुनःस्थापनाको फैसलापूर्व नै ओलीले हस्ताक्षर फिर्ताको नियत राखेर एमाले एकतासम्बन्धी कार्यदल व्युँत्याए । त्यहाँदेखि नै उपाध्यक्ष भीम रावलको भूमिका शंकास्पद भएको माधव नेपाल पक्षले बुझ्दै आएको थियो ।

माधव नेपाल पक्षबाट कार्यदलको नेतृत्व गर्ने रावललाई माधवले इमान्दारिता देखाउनका लागि पटक–पटक आग्रह गर्दा उनी संसदबाट राजीनामा दिएर आफू पन्छिने बताउँदै आएका थिए । तर, माधव नेपालले अन्तिम बेला आफू भागेर सबैलाई अलपत्र नपार्न र नैतिकतामा अडिनका लागि निरन्तर आग्रह गर्दै आए ।

ओलीले भीम रावल नेतृत्वको कार्यदल व्युँत्याउनुअघि उनलाई बालुवाटार बोलाएदेखि नै शंकास्पद तवरले विषयहरु उठाउँदै आएका थिए । त्यसयता पटक–पटक माधवलाई हस्ताक्षर फिर्तामा सहमत हुन अनुरोध गर्दै आए । तर, माधवले अदालतमा सार्वजनिक सरोकारको विषयमा निवेदन दिएर सार्वजनिक रुपमा फिर्ता लिएको भन्न थाल्यो भने, मानहानी मुद्दा लाग्छ भन्दै त्यसमा किमार्थ तलमाथि नहुने अडान राख्दै आए ।

२८ गतेको फैसलालाई दृष्टिगत गर्दै २७ गते राति १० बजे भएको १० बुँदे सहमतिमा हस्ताक्षर गर्ने र अदालतको हस्ताक्षर फिर्ताको भ्रम छर्ने काममा पनि रावलको अगुवाई नै रह्यो । यी सबै काममा भीम रावललाई प्रयोग गरेर ओलीले गोटी चाले । नसकेपछि अन्ततः रावल देउवालाई विश्वासको मत नदिने कुरामा लागे ।

उनले राजीनामा दिने भनी तयार पारेको पत्र सिंहदरबारमा खोसियो । त्यो पत्र खोस्ने काम उनी निकटका सांसद झपट रावलले गरेका थिए । तर, फेरि एकैछिनमा पेन ड्राइभमा रहेको अर्को फाइल प्रिन्ट गरेर सीधै नयाँ बानेश्वर पुगे, त्यहाँ रहेका सभामुखलाई बुझाउनका लागि । त्यसबेला पनि सुरेन्द्र पाण्डेले रोक्न खोजे । तर, रावल रोकिएनन् ।

भनिन्छ– ओलीको स्वार्थरक्षा गर्नका निम्ति रावलमाथि दबाब थियो । भारतीय शक्तिकेन्द्रसँगको उनको साँठगाँठ र पहुँचबारे हिजोआज चर्चा हुन थालेको छ । उनी गृहमन्त्री हुँदा सुपुर्दगी सन्धीका लागि भारतले तयार पारेको एकतर्फी मस्यौदालाई अनुमोदन गर्ने तयारीसम्म थालेका थिए । तर, तत्कालिन प्रधानमन्त्री माधव नेपालले त्यो काम रोके ।

उनी गृहमन्त्री भएकै समयमा भारतीय अपराधीले विनाअवरोध नेपाल छिरेर लाजिम्पाटमा दिनदहाडै सञ्चार उद्यमी जमिम शाहको हत्या गरे । केन्द्रीय कारागामा कैद भएका नक्कली भारु कारोबारी युनुस अन्सारीको कारागारभित्रै हत्या प्रयास भयो । त्यसका लागि भारतबाट आएका युवा मनमिन सिंह कारागारको मूल प्रवेशद्वारबाट अगाडि बढिसकेका थिए । ती घटनाक्रम र अहिले आश्चर्यजनक ढंगले उनले देखाएको भूमिकालाई माधव पक्षीय एमाले नेताहरु जोडेर हेर्न थालेका छन् ।

नेपाललाई वामदेवको साथ
पछिल्लो समयमा माधव नेपाललाई हिम्मत दिने काममा वामदेव गौतमको साथ थियो । सर्वोच्च अदालतले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रधानमन्त्रीबाट अपदस्थ भएका केपी ओलीसँग भोलिपल्ट बालुवाटारमा वामदेवले भेट गरेका थिए । त्यो भेटमा केपीले वामदेवलाई भनेका थिए– ‘अब माधवको काम सकियो, पार्टी एकता पनि माधवबिना भए गर्ने, नत्र नगर्ने ।’

वामदेवले विगतका सबै कमी–कमजोरी बिर्सिएर पार्टी एकताका निम्ति तयार हुन केपीलाई आग्रह गरे । जति गरे पनि ओलीले माधवलाई एकतामा ल्याउन नमानेपछि वामदेव त्यसदिन बालुवाटारबाट ओलीसँग रिसाएर झर्कदै निस्किए । उनले भोलिपल्टै माधवलाई फोन गरेर ओली एकताका निम्ति अझै तयार नभएको सुनाए ।

एकता नगर्दा हुने क्षति रोक्नका निम्ति यदि माधवले कुनै कदम चाल्ने भए आफूले साथ दिने बचन पनि वामदेवले दिए । नभन्दै वामदेवसँग माधवको भेट भएको केही समयपछि नै बालुवाटारबाट बालकोट सर्ने क्रममा घरको बार्दलीबाट केपीले माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ नभएको बताए ।

साउन ३ गते संसदमा शेरबहादुर देउवा सरकारले विश्वासको मत लिने पत्र दर्ज गरिसकेपछि एमाले बैठकले देउवालाई विश्वासको मत दिने सांसदहरु एमाले रहन नसक्ने निर्णय गर्यो । वामदेवले उक्त निर्णयविरुद्ध ह्वीप नलाग्ने सर्वोच्चको व्याख्या विपरितको निर्णय भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिए ।

वामदेवले माधव नेपालसँग असार ३० गतेको भेटघाटमै उनलाई पर्ने हरेक संकटमा साथ दिने बचन दिएका थिए । एकातिर आफ्ना सहकर्मीहरु ओलीसँग लपक्कै मिलेको, अर्कातिर वामदेव साथ दिन तयार भएको कुराले माधवलाई हौसला मिल्यो । वामदेवले माधव नेपालसँग त्यस्तो बचन दिएपछि उनी ओलीले बोलाएका बैठकहरुमा गएका छैनन् ।

विश्वासको मतमाथि मतदानअघि ओलीपक्षीय पत्नी तुलसा थापालाई उनले नेपाल कबड्डी संघ (खेलकुद) को कार्यक्रमका लागि जापान पठाइदिए । यसबाहेक गणेश ठगुन्ना, लालबहादुर थापासहितका सात सांसदको साथ चाहिएमा दिलाउने बचन पनि दिएको स्रोतको भनाइ छ ।

को–को अप्ठेरोमा परे ?
ओलीराजको समाप्तिसँगै माधव नेपाललाई छाडेर ओलीतिर लागेका केही सांसद अहिले विक्षिप्त भएका छन् । यसमध्ये सिन्धुलीका सांसद गणेश पहाडी रुनु न हास्नुको हालतमा पुगेका छन् । उनले ओलीलाई साथ दिँदै योगेश भट्टराईको कोटामा १३ दिनका लागि सामान्य प्रशासन मन्त्री खाए ।

काम चलाउ सरकारले पुनःगठन गरेको मन्त्रिपरषद् सर्वोच्चको आदेशबाट खारेज भएपछि उनी पदच्युत भएका थिए । तर, अदालतले ओलीकै पक्षमा फैसला गर्ने विश्वासका साथ बसेका गणेश पहाडी र उनीजस्ता केही सांसद अहिले कुन मुख लिएर माधव नेपालसँग जाने भन्ने दोधारमा छन् । त्यस्तै माओवादीबाट कारवाहीमा परेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहको पनि बिचल्ली भएको छ ।

अबको एमाले ?
माधव नेपाललाई केपी ओलीबाट पार्टी एकताका लागि मार्गप्रशस्त गरिन्छ भन्ने कुरामा रत्ति पनि विश्वास छैन । ओलीको सरकार ढल्यो । उनीसँग रहेका सांसद र केन्द्रीय सदस्यहरु तितरवितर हुन थाले । यति हुँदा पनि ओली ‘माधव नेपालविहीन एमाले’ कै रटानमा छन् । त्यसैले कार्यदलका सदस्यहरुलाई उनीहरुको आत्मसन्तुष्टिका लागि मात्रै एकताको कामका लागि छोडिएको छ ।

तत्काल एकताको सम्भावना स्वयं माधव नेपालले नदेखेपछि र एकता गर्न केपी ओलीले नचाहेको स्थितिका कारण अब केही समयमा एमाले दुई चिरा भएरै अगाडि बढ्ने निश्चित भएको छ । कार्यदलका सदस्यहरुलाई केपीसँग एकताको अन्तिम प्रयास गर्न र यदि ओली एकताका निम्ति तयार भए एकता गर्ने, नत्र फरक पार्टी बनाएर देउवा सरकारमा सामेल हुने माधवपक्षीय रणनीति रहेको छ । तर, यो कामका लागि हप्ता दिनभन्दा बढी नपर्खिने स्रोतले जनाएको छ ।

परिवर्तित सन्दर्भमा ओली कमजोर बन्दै गएको र उनको पक्षमा रहेका कतिपय सांसद र पार्टी केन्द्रीय सदस्यहरु माधव पक्षको सम्पर्कमा आइरहेका कारण वैधानिक रुपमै पार्टी विभाजन वा एमालेमाथि दावी गर्ने सम्भावना पनि बढिरहेको माधवनिकटका एक नेताले बताएका छन् ।
संसदीय दल विभाजनमार्फत फरक दल बनाउने वा एमाले नै दावी गर्नेमध्ये कुनै एउटा परिस्थिति संग्लो भएपछि माधव पक्ष अगाडि बढ्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्