Logo
Logo

कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले साढे चार लाख नयाँ क्रियाशील सदस्य थपेको छ । १४ औं महाधिवेशनको लागि कांग्रेसले देशभरबाट चार लाख ४६ हजार ६७८ नयाँ क्रियाशील सदस्य थपेको हो ।

यो संख्या विगतको भन्दा दोब्बर हो । मंगलबार क्रियाशील सदस्य छानविन समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख नौ हजार ३३ नविकरण गरेका छन् । १३ औं महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य थिए ।

नयाँ क्रियाशील सदस्य थपेसँगै कांग्रेसमा ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्यता भएका छन् । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन ।

लिंगका आधारमा हेर्दा ६ लाख ५३ हजार ४ सय ३८ जना पुरुष (७४.२६ प्रतिशत) र १ लाख ९९ हजार ९७ जना (२२.६२ प्रतिशत) महिलालाई क्रियाशील सदस्यता वितरण गरिएको छ । नवीकरणतर्फ ७७ वटै जिल्लाका क्रियाशील सदस्यताको टुंगो लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७८२ जना रहेका छन् ।

त्यस्तै नयाँ क्रियाशील सदस्यता सम्बन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगन गरेको र केही स्थानका बारेमा समितिले निर्णय गर्न सकेको छैन । समितिले निर्णय गर्न नसकेको स्थानमा आवश्यक निर्णयका लागि नेताहरुको तहमा प्रस्तुत गरिएको प्रतिवेदनमा जनाइएको छ ।

धनुषा जिल्लाको क्षेत्र नम्बर ४, सर्लाहीको क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताबारे नेताहरुबाट नै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ । त्यस्तै १३औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समितिबाट सोलुखुम्बु जिल्लाको ५१५ जना र बारा जिल्लाको १६६ फारमका बारेमा समितिमा सहमति कायम हुन नसकेका कारण निर्णयका लागि नेतृत्वसमक्ष पठाइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा आनन्द्रप्रसाद ढुंगाना, प्रदीप पौडेल, जीवन परियार, कल्याणकुमार गुरुङ, श्यामकुमार घिमिरे, योगेन्द्र चौधरी सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्