Logo
Logo

एसियाकै पहिलो सुरुङमार्ग पुननिर्माणको शिलान्यास


दृष्टि संवाददाता


हेटौंडा । बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा लिइएको मकवानपुरको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणका लागि शिलान्यास गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमबीच सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९१७ सालमा भीमफेदी(अमलेखगञ्ज यातायातका साधन संचालन गरी काठमाडौं गाडीहरु पु–याउनका लागि सो सुरुङ मार्ग निर्माण गरेका थिए । यो एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गको डिजाइन नेपाली इन्जिनियर स्वर्गीय ब्रिगेडियर जर्नेल डिल्लीजङ थापाले गरेका थिए ।

उक्त सुरुङमार्ग पुनर्निर्माणका लागि प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट बढ्ने गरी पहिलेकै स्वरुपमा पुनर्निर्माण गरिने भएको छ ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्