Logo
Logo

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध


दृष्टि संवाददाता


पोखरा । पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ ।महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ ।

लामाचौर- माछापुच्छ्रे सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिराले अवरुद्धपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

पक्की सडक लामो समय अवरुद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन् । अहिले माछापुच्छ्रे गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन् । माछापुच्छ्रे गाउँपालिकाका आधाभन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवतजावत गर्ने गरेका थिए ।

माछापुच्छ्रे- २ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौँ सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ्रे गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरुद्ध हुँदा आफूहरुले ठूलो दुःख र सास्ती पाएको बताए , उनले पहिराले बन्द सडक डेढ महिना व्यतित हुँदासमेत खुलाउने प्रयास नभएकामा आक्रोश व्यक्त गरे ।

उनले भने, ‘बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौँ । अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद् र लाजमर्दो भएको छ ।’

बेंसीचोकमा सडकमाथिबाट खसेको पहिराले बाटो अवरुद्ध बनेको हो । यसैगरी सडकको तल्लो भागसमेत पहिराले बगाएको छ । गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो । त्यस बेला पनि लामो समय सडक अवरुद्ध बनेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनःबगाएको हो ।

पूर्वाधार कार्यालय कास्कीका इञ्जिनीयर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी महानगरपालिकाको भएको बताउनुभयो । गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उनले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले बर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिए ।

पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताए । महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिवी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उनले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्