जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रु अलपत्र « Drishti News – Nepalese News Portal
Logo

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रु अलपत्र


दृष्टि संवाददाता


काठमाडौं । जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ ।

गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

‘वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ’, उनले भने, ‘पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।’

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् ।

यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिकालगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् । वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्