Logo
Logo

१५ बैशाखमा आउने भो रुकमानको ‘डियर लभ’ (टिजरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ चैत । नेपाली वेभ सिरिज ‘डियर लभ’को टिजर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक समारोहबीच टिजर रिलिज गरिएको हो । अभिनेता रमेश उप्रेती र सिरिजका कलाकारको उपस्थिति रहेको कार्यक्रममा ‘डियर लभ’को रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो वेभ सिरिज नयाँ वर्ष २०७६ को बैशाख १५ गते रुबुशा च्यानलबाट रिलिज हुने भएको छ ।
रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बूको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो । रुकमानकै निर्माण रहेको ‘डियर लभ’मा विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको छ ।
यसअघि पनि नेपालमा वेभ सिरिजहरु बन्ने गरेपनि यसरी पहिलोपटक भव्य कार्यक्रमबीच टेलर रिलिज गरिएको हो । कार्यक्रममा बोल्दै निर्माता तथा गायक रुकमानले भने, ‘यो सिरिज बनाउँदा जति दुःख र सास्ती खेप्नुपरेको थियो, उस्तै दर्शकले पनि रुचाइदिनेछन् भन्ने अपेक्षा गरेको छु ।’ उनले सिरिज १० एपिशोडसम्म तयार भएको पनि बताए ।
‘डियर लभ’मा अधिकांश नयाँ कलाकारलाई देख्न सकिन्छ । ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।
रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’ हाल निर्माण भइरहेका नेपाली फिल्मकै क्वालिटीमा छ । आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्