Logo
Logo

यू–१९ विश्वकप छनोट आजदेखि : नेपालले आज सिंगापुरसँग खेल्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका ६ राष्ट्रले सिंगल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।
छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिंगापुरसँग खेल्नेछ ।
नेपालले छनोट खेल्नुअघि भारतको आन्ध्र प्रदेशको यू–१९ क्रिकेट टोलीसँग छ मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालले चार खेलमा जीत तथा दुई खलमा हार ब्यहोरेको थियो । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका पवन सर्राफ, सन्दीप जोरा र राष्ट्रिय टोलीमा परिसकेका भीम सार्कीलगायत खेलाडी छन् ।
यसपटक नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन् । घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान, प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलोपटक यू–१९ टोलीमा स्थान बनाएका हुन् । त्यस्तै यू–१९ टोलीका नियमित सदस्य रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल तथा सूर्य तामाङ नेपाली टोलीमा छन् ।
नेपालको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास रहेका छन् । झण्डै तीन वर्षदेखि विनोदले युवा तथा राष्ट्रिय महिला टोलीको प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएका छन् । नेपाली प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि नेपालको लक्ष्य विश्वकपमा छनोट हुनु रहेको बताएका थिए ।
पहिलोपटक नेपाली यू–१९ टोलीको कप्तानी गर्न लागेका रोहितले नेपाललाई विश्वकपमा छनोट गराउन सके त्यो क्षण आफ्ना लागि उत्कृष्ट हुने बताएका छन् । सन् १९९८ देखि शुरु भएको यू–१९ विश्वकपमा हालसम्म नेपालले सात पटक खेलेको छ । सन् २००० मा श्रीलङ्कामा भएको यू–१९ विश्वकपमा नेपालको पहिलो सहभागिता थियो । नेपालले त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक तथा सन् २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।
नेपालले आगामी सोमबार मलेशियासँग खेल्नेछ । नेपाल मलेशियासँग अहिलेसम्म पराजित भएको छैन । तर मलेशियाले पछिल्लो समय यू–१९ क्रिकेटमा भने राम्रो सुधार गरेको छ । नेपालले मङ्गलबार ओमान र विहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउनेछ । रासस

प्रतिक्रिया दिनुहोस्