Logo
Logo

पाहुनालाई माटो र टोपी ‘उपहार’


- दृष्टि न्युज/संवाददाता


दमौली, २९ चैत । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा ओली शनिबारदेखि भानु नगरपालिका–५ चुँदीरम्घामा हुन लागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।
मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गर्न लागिएको जानकारी दिए । उनले भने, ‘माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छाँै ।’
साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको जन्मगाउँमै अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदैछ । सम्मेलनमा अमेरिका, म्यान्मा, भारत, भूटान, बंगलादेश, चीन, जापान र नेपाललगायतका साहित्यकारको सहभागिता रहने मञ्चले जनाएको छ ।

आयोजकका अनुसार साहित्यिक सम्मेलनमा देशभरबाट पाँच दर्जन बढी कवि र साहित्यकार सहभागी हुनेछन् । साहित्यिक कार्यक्रम दुई चरणमा हुनेछ । टाढाबाट आउने साहित्यकारलाई आज शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ ।
अन्तर्राष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।

प्रतिक्रिया दिनुहोस्