Logo
Logo

अध्यादेशबाट ल्याइएकाे बजेट प्रतिस्थापन गरिने


दृष्टि संवाददाता


काठमाडाैं । ओली सरकारले अध्यादेशबाट ल्याएकाे चालु आर्थिक वर्षको बजेटलाई शेरबहादुर देउवा नेतृत्वकाे सरकारले प्रतिस्थापन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै अध्यादेशबाट ल्याएकाे बजेटलाई प्रतिस्थापन गर्ने जानकारी दिए ।

संसदमा शर्मार्ले देशको आवश्यकताअनुसार अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको समेत जानकारी दिए ।

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उनले बताए । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।

“सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड(१९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु”, उनले भने ।

कोभिड-१९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ ले पहिलो र २६ लाख छ हजार ४६ ले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्