Logo
Logo

कुमारी बैंकमा थुप्रियो खराब कर्जा भार


0
Shares

काठमाडौं । कुमारी बैंकको खराब कर्जा एक वर्षमै ६.९५ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ । बैंकले सुरुवाती निष्क्रिय कर्जाको करिब ५ प्रतिशत अपलेखन गर्दा पनि खराब कर्जा घट्नुको सट्टा थप बढेको हो । बैंकको खराब कर्जा अनुपात समग्र बैंकिङ क्षेत्रको औसत ५.५६ प्रतिशतभन्दा निकै माथि पुगेपछि कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधार्नु चुनौतीपूर्ण बनेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कुमारी बैंकको इस्युअर रेटिङ ‘डबल बी प्लस’ बाट बढाएर ‘ट्रिपल बी माइनस’ कायम गरेको छ । बैंकको पुँजीकोष, नाफा र तरलतामा आएको सुधारका आधारमा रेटिङ स्तरोन्नति गरिए पनि खराब कर्जाको बढ्दो दबाब भने कायमै रहेको इक्राको प्रतिवेदनले औँल्याएको छ ।

२०८३ असार मसान्तसम्म बैंकको खुद निष्क्रिय कर्जा अनुपात पनि ०.७४ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । भाखा नाघेको कुल कर्जाको हिस्सा १८.९३ प्रतिशतबाट बढेर २२.५५ प्रतिशत पुगेको छ । यसले बैंकका ऋणीहरूमा देखिएको भुक्तानी क्षमताको समस्या थप गहिरिएको संकेत गर्छ । बैंकको खराब कर्जा अनुपात समग्र बैंकिङ क्षेत्रको औसतभन्दा ३.२७ प्रतिशत बिन्दुले बढी छ ।

खराब कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि गर्नुपर्ने व्यवस्थापन अर्थात् प्रोभिजनको दबाब पनि बढ्छ । इक्राका अनुसार निष्क्रिय कर्जाको ठूलो हिस्सा कम जोखिम मानिने नोक्सानी व्यवस्था समूहमा केन्द्रित हुँदा प्रोभिजन कभरेज कमजोर बनेको छ । फलस्वरूप बैंकको खुद खराब कर्जा र नेटवर्थबीचको अनुपात ५.८७ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ । भविष्यमा थप कर्जा नोक्सानी भए त्यसको प्रत्यक्ष असर बैंकको पुँजीमा पर्न सक्ने जोखिम यसले देखाएको छ ।

खराब कर्जासँगै कर्जा केन्द्रीकरण पनि बैंकका लागि अर्को जोखिम बनेको छ । बैंकको कुल कर्जामध्ये करिब २५ प्रतिशत हिस्सा शीर्ष २० ऋणी समूहमा केन्द्रित छ । यो अनुपात बैंकको प्राथमिक पुँजीको करिब २०४ प्रतिशत बराबर हो । सीमित ऋणी समूहको वित्तीय अवस्था बिग्रिएमा त्यसले बैंकको समग्र कर्जा गुणस्तरमा ठूलो असर पार्न सक्छ । त्यसमाथि, तरलता दबाबमा रहेका र सूक्ष्म निगरानीमा परेका केही ऋणी समूहको अवस्था पनि चुनौतीपूर्ण रहेको इक्राको विश्लेषण छ ।

बैंकको वित्तीय अवस्थामा भने केही सकारात्मक सुधार देखिएको छ । २०८१ असारमा ७.७० प्रतिशत रहेको प्राथमिक पुँजीकोष अनुपात २०८३ असारसम्ममा बढेर ९.८७ प्रतिशत पुगेको छ । कुल पुँजी पर्याप्तता अनुपात पनि १२.३१ प्रतिशतबाट बढेर १३.५० प्रतिशत पुगेको छ । नियामकीय न्यूनतम सीमाभन्दा माथि पुँजीकोष कायम रहनुले सम्भावित कर्जा नोक्सानीको धक्का सहन बैंकलाई केही आधार दिएको छ ।

सन् २०२३ मा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको कुमारी बैंकले त्यसयता तीन आर्थिक वर्षसम्म लाभांश वितरण गर्न सकेको थिएन । गत आर्थिक वर्षको नाफाबाट भने २ प्रतिशत नगद लाभांश वितरण गरेको छ । मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ९१ अर्ब ६८ करोड १० लाख रुपैयाँ र कर्जा लगानी ३ खर्ब २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

नाफामा भएको वृद्धिले पनि रेटिङ सुधारमा सहयोग पु¥याएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले २०८२/८३ मा ७ अर्ब ३६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड २० लाख रुपैयाँबाट बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ । करअघिको नाफा पनि ५ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट बढेर १० अर्ब ३० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

तर, नाफा वृद्धिको प्रकृति पनि उत्तिकै महत्त्वपूर्ण छ । बैंकको मुख्य सञ्चालन मुनाफा स्थिर रहँदा विगतमा असल कर्जाकै ठूला खातामा नियामकीय सीमाभन्दा बढी राखिएको कर्जा नोक्सानी व्यवस्था फुकुवा हुँदा नाफामा बलियो योगदान पुगेको इक्राले जनाएको छ । त्यसैले नाफामा भएको वृद्धि मात्रैलाई बैंकको कर्जा गुणस्तरमा सुधार आएको प्रमाण मान्न सकिँदैन ।

सन् २०२३ मा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको कुमारी बैंकले त्यसयता तीन आर्थिक वर्षसम्म लाभांश वितरण गर्न सकेको थिएन । गत आर्थिक वर्षको नाफाबाट भने २ प्रतिशत नगद लाभांश वितरण गरेको छ । मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ९१ अर्ब ६८ करोड १० लाख रुपैयाँ र कर्जा लगानी ३ खर्ब २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

इक्राले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ऋणीहरूमा देखिएको तरलता अभाव र प्राकृतिक विपद्का कारण कर्जा असुलीमा थप दबाब पर्न सक्ने जनाएको छ । बैंकको प्रत्यक्ष लगानी बाढी प्रभावित क्षेत्रमा ठूलो नभए पनि प्रभावित उद्योग तथा व्यवसायमा परेको क्षतिले ऋणीको भुक्तानी क्षमतामा अप्रत्यक्ष असर पार्न सक्ने जोखिम छ । त्यस्तै, मध्यपूर्वको तनावले इन्धनको मूल्य, आपूर्ति शृङ्खला, पर्यटन र महँगीमा पार्न सक्ने असरले पनि बैंकिङ क्षेत्रको कर्जा गुणस्तर प्रभावित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000