Logo
Logo

कांग्रेसद्वारा विपी राजमार्ग ठप्प


- दृष्टि न्युज/संवाददाता


सिन्धुली, ३० चैत । विपी राजमार्गसँगै जिल्लाभर शनिबार आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारबाही नगरी छाडेको भन्दै नेपाली कांग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो ।
तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गएराति नै छाडेकाले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले बताए ।
दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसका कार्यकर्ताहरुले प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनाँै स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ । आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ ।
अहिले नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी सञ्चालन गर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे दुव्र्यवहारसहित हातपात गरेको आरोप लागेको छ । सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्