Logo

२४ घण्टा नबित्दै सुडानमा ‘कू’को नेतृत्वकर्ताले पद त्यागे


Published On : 13 April, 2019

एजेन्सी, ३० चैत । राष्ट्रपति ओमार अल–बशीरलाई पदच्युत गर्ने सैनिक ’कू’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्का प्रमुखले पद छाडेका छन् । रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन् ।
उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएको बिबीसीले जनाएको छ । सत्ता हत्याएकाहरू बशीरसँग निकै निकट रहेको भन्दै प्रदर्शनकारीहरूले सडकबाट नहट्ने बताएपछि पछिल्लो उनको यस्तो घोषणा आएको हो । साथै, चुनावपछि दुई वर्षसम्म सत्तामा रहने सेनाले जनाएको छ ।
गएको बिहीबार बशीरलाई पदच्युत गरिएपनि प्रदर्शन रोक्न प्रदर्शनकारीहरूले अस्वीकार गरेका थिए । सेनाद्वारा जारी निषेधाज्ञाको अवज्ञा गर्दै खार्तुमस्थित सैनिक मुख्यालयबाहिर बसिरहेका थिए । शुक्रबार सैनिक परिषद्का एकजना प्रवक्ताले सेनाले सत्ता नचाहेको र सुडानको भविष्य जनताले निर्धारण गर्ने बताएका थिए । तर, सेनाले शान्ति सुव्यवस्था कायम गर्ने र कुनै प्रकारको अस्तव्यस्तता सह्य नहुने जनाएको छ ।
यसैबीच महँगीको विरोधमा गत डिसेम्बरमा सुरू भएको प्रदर्शनबीच बशीरको शासन अन्त्य हुन भएको छ । २१औँ शताब्दीको सुरुतिर भएको डार्फर द्वन्द्वका बेला इब्न औफ सैनिक गुप्तचर निकायका प्रमुख थिए । संयुक्त राज्य अमेरिकाले सन् २००७ मा उनीमाथि प्रतिबन्ध लगाएको थियो । इब्न औफको बहिर्गनको खबर सुनेपछि खार्तुममा प्रदर्शनकारीहरूले खुसियाली मनाएका छन् ।

प्रदर्शनको नेतृत्व गरिरहेको द सुडान प्रोफेसनल्स एसोशिएशनले पद छाड्ने इब्न औफको निर्णय प्रदर्शनकारीका लागि एउटा ’जित’ भएको बताएको छ।

आफूहरू घर फर्कनुअघि नागरिक सरकार गठन हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ।

अहिले सत्ताको नेतृत्व पाएका व्यक्ति पनि एक उच्च सैनिक अधिकारी हुन्। तर समाचार संस्था एपीका अनुसार सेनाका अरू जेनरलभन्दा उनको छवि स्वच्छ छ।

उनले प्रदर्शनकारीका धारणा बुझ्नका निम्ति उनीहरूलाई भेट्ने बताइएको छ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतले बशीरलाई दोषी पनि ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्