Logo
Logo

सुडानमा ‘नागरिक सरकार’ बनाउन विपक्षीको माग


- दृष्टि न्युज/संवाददाता


खार्तुम, ३० चैत (सिन्ह्वा) । सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ ।
तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् । सुडान विपक्षी स्वतन्त्र र परिवर्तन गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि नागरिक स्तरबाट सरकार बनाउनुपर्नेमा जोड दिएको छ ।
सुडानी विभिन्न पेशागत संगठनहरु समेत रहेको गठबन्धनले सैन्य परिषद्को नेतृत्व गर्नु भएका लेफ्टीनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई सडकको आवाज सुन्न पनि आग्रह गरेको छ ।
आम नागरिकहरुले तत्काल नागरिक सरकार बनाउन माग गरेको र सैन्य परिषद्ले लिएको शक्ति हस्तान्तरण गर्न गठबन्धनले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । सुडानमा ३० बर्षदेखि शासन गरेका तत्कालिन राष्ट्रपति ओमारलाई हटाएर सैन्य परिषद् गठन गरेपछि पनि प्रदर्शनहरु भइरहेका छन् ।

त्यसअघि पनि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडी लामो समयदेखि प्रदर्शन भइरहेको थियो । विरोध प्रर्दशन बढ्दै गएपछि शुक्रबार नै अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालिन रक्षा मन्त्री अवाद मोहम्मद इब्न आफले राजिनामाको घोषणा गरेका छन् । उनले लेफ्टीनेन्ट जनरल रहमानलाई जिम्मेबारी दिएका छन् ।
सन् १९८९ कु गरेर शासन गर्दै आएका ओमारलाई विगत चार महिना देखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरुले पदमुक्त गरिदिएका हुन् ।
उनीहरुले दुई बर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्