Logo

सामाजिक विभेद्को डरले रोग लुकाउँछन् महिला


Published On : 13 April, 2019

  • कृष्ण न्यौपाने

दमौली, ३० चैत । तनहुँको भानु नगरपालिका–८ वसन्तपुरकी रामकुमारी थापा ७० वर्ष पुगिन् । २० वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित भएकी उनले समस्याका बारेमा घरपरिवारलाई समेत कहिल्यै बताइन्न ।सामाजिक विभेद्को डरले पीडा सहेर रोग लुकाउन बाध्य भएको उनी बताउँछिन् ।


भानु नगरपालिका–८ नं वडा कार्यालयले बिहीबार र शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकी उनले भनिन्, ‘सामाजिक विभेद्को डरले पीडा सहेर रोग लुकाउन बाध्य भएँ । अब त कति सहनु भनेर जचाउन आएको हुँ ।’
वसन्तपुरकै कृष्णा जिसीलाई पनि १० वर्षदेखि पाठेघर खस्ने समस्या छ । डर र लाजकै कारण अहिलेसम्म उपचार नगराएकी उनले स्वास्थ्य शिविरमा महिला डाक्टरसँग आफ्नो समस्या खुलेर राखिन् । परीक्षणका लागि आउनुभएकी भगवती लौडारी पाँच वर्ष अघिदेखि पाठेघर खस्ने समस्याबाट पीडित छिन् । उपचार गराउने चाहना भए पनि समस्याको बारेमा अरुलाई बताउने साहस नआएपछि रोग लुकाएरै बसेको उनले बताइन् ।
स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकामध्ये ६० वर्ष उमेर काटेका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । शिविरमा सेवा प्रदान गरेकी डा अनुपमा मगरले पाठेघर समस्या देखा परेका अधिकांश महिलामध्ये नौ जनाको समस्या गम्भीर अवस्थामा रहेको जानकारी दिइन् ।
उनका अनुसार उमेर, शारीरिक अवस्था, जाँच तथा उपचारका लागि ढिलाइ गरिएको कारण उनीहरुको शल्यक्रिया समेत गर्न नसकिने अवस्था छ । तनहुँ जिल्लामा विशेषगरी ६० वर्ष उमेर पुगेका महिलामा पाठेघर खस्ने समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा देखिएको छ । आफूभित्रको यस्तो समस्या बाहिर ल्याए परिवार र समाजबाट समेत हेला हुने डरले अधिकांश महिलाले रोग लुकाउने गरेको डा मगर बताउँछिन् ।
विशेषगरी उमेर नपुग्दै बच्चा जन्माएका, गर्भवती भएको बेलामा गरुङ्गो भारी बोकेका र सुरक्षित सुत्केरी नगराएका महिलामा यस्तो समस्याको सम्भावना बढी देखिएको चिकित्सक बताउँछन् । शिविरमा सामान्य समस्यामा भेटिएका केहीलाई भने सामान्य उपचारसहित रिङ राखेर पठाइएको थियो ।
नियमित स्वास्थ्य सेवाको पहुँचसम्म नपुगेका ग्रामीण भेगका महिलालाई सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविर आयोजना गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।
शिविर ठूलो रोग तथा समस्याको उपचार भन्दा पनि समस्या पहिचानको निम्ति लाभदायक भएको उनको भनाइ छ । उनले भने, ‘दुरदराजमा गरिने शिविरबाट ठूलो उपचारको अपेक्षा गरेका छैनौँ । नागरिकमा लुकेर रहेका ठूलो समस्या पहिचान हुने विश्वास गरेका थियाँै ।’
दुई दशक अघिदेखि लुकेका समस्या शिविरमा देखिएकाले ग्रामीण भेगमा स्वास्थ्य सचेतनाको आवश्यकता महशुस भएको उनको भनाइ छ । ‘दयाका हात’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा भएको सो स्वास्थ्य शिविरमा एक हजार पाँच सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा मुटुरोग, हाडजोर्नी, स्त्री रोग, आँखासम्बन्धी समस्या तथा बालरोगको परीक्षण समेत गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य शिविरबाट धेरैजनाले प्रत्यक्ष लाभ प्राप्त गरेकाले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रमुख गौलीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्