Logo
Logo

शिक्षकदेखि मुख्यमन्त्रीसम्म



काठमाडौं । कुनै बेला पेसाले स्थायी शिक्षक । तर अविचलित राजनीतिक चेतनाले युक्त। तत्कालीन नेकपा मसालका कट्टर कार्यकर्ता । यिनै विशेषताका आधारमा रोल्पाका कुलप्रसाद केसी चिनिन्थे । भूमिगत नाम ‘सोनाम’ रहेका उनले विद्यालयमा पढाउने समयबाहेक मसालमा आबद्ध थिए ।

पार्टी विस्तारका लागि गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे, कार्यकर्तालाई परिवर्तनका निमित्त जुझारु हुन सिकाउँथे । कम्युनिस्ट आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीको काँधमा राजनीतिक प्रतिस्पर्धामा मसाललाई पास गराउनुपर्ने राजनीतिक कार्यभार थियो ।

राजनीतिक सक्रियताकै कारण उनको अध्यापन यात्रामा विराम लाग्यो । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘कालो झन्डा’ देखाउने ‘साहस’ को दुष्परिणाम २०४८ देखि सुरु गरेको शिक्षण पेसाबाट हात धुन केसी बाध्य भए । त्यतिबेला कोइराला रोल्पा पुगेका थिए । कालो झन्डा प्रदर्शनको निहुँमा राज्यले उनमाथि विभिन्न मुद्दा लगायो अनि शिक्षण पेसाबाट बर्खास्त गरिदियो ।

शिक्षण पेसाबाट हटाइएपछि केसीका लागि राजनीतिक यात्रा नै निर्विकल्प बन्न पुग्यो । सोही घटनाको ईखले पनि उनमा राजनीतिक प्रतिशोध साँध्ने साहस बढ्नु स्वाभाविकै थियो ।

पूर्णकालीन रूपमा राजनीति गर्ने अठोट लिएपछि तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ बाट थालेको ‘जनयुद्ध’मा केसी होमिए । माओवादीको दोस्रो जिल्ला सम्मेलनबाट उनी सदस्य चुनिएसँगै सो पार्टीमा उनको औपचारिक यात्रा सुरु भयो ।

द्वन्द्वको कार्यदिशा बोकेको माओवादीका कार्यकर्ता बनेका उनी रोल्पाको होलेरी आक्रमणमा राज्यविरुद्ध सशस्त्र भिडन्तमा सहभागी थिए । आज तिनै केसी मुख्यमन्त्रीको कुर्सीमा विराजमान बन्न पुगेका छन् । बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा उनले सत्ता सम्हाले ।

जिल्ला सदस्य बनेर माओवादीको भूमिगत राजनीतिक यात्रा थालनी गरेका सोनाम ‘माओवाद’का कुशल व्याख्याताका रूपमा समेत चिनिन्छन् । २०५५ सालमा दाङ, सल्यान, प्युठान जिल्लामा माओवादी ‘सेक्रेटरी’ बनेका सोनाम २०५६ सालमा भेरी कर्णाली क्षेत्रका सैन्य कमान्डर चुनिए । जिल्ला हुँदै विभिन्न क्षेत्रमा ‘माओवादको कमान्ड’ सम्हालेका सोनाम २०५८ सालमा माओवादीका केन्द्रीय सदस्य बनेका थिए । माओवादीमा बौद्धिक नेताको छवि बनाएका सोनामले सो पार्टीमा लागेकै कारण जेलसजायसमेत भोग्नुपर्‍यो ।

२०६० सालमा पार्टीको बैठकमा भाग लिन भारत जाने क्रममा उनी गिरफ्तारीमा परे । उनलाई त्यतिबेला तीन वर्षसम्म भारतको बक्सर जेल चलान गरिएको थियो । २०६३ सालमा जेलमुक्त भएका केसी जनमुक्ति सेनाको कमिसार बने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्