Logo
Logo

स्वस्थ र सुन्दर आँखाका लागि विशेष हेरचाह



आँखाले मानिसको व्यक्तित्व झल्काउँछ । मानिस सुन्दर देखिन स्वस्थ र सुन्दर आँखाको ठूलो भूमिका हुन्छ । त्यतिमात्र होइन, आँखामा मानिसको स्वास्थ्य अवस्थासमेत व्यक्त हुन्छ । स्वस्थ व्यक्तिको आँखा सुन्दर, स्वस्थ र आकर्षक हुन्छ । त्यसैले सुन्दर आँखा सबैको चाहना हो । तर, उमेर बढ्दै जाँदा आँखा वरिपरिको छालामा विभिन्न समस्याहरु आउन शुरु हुन्छ । चाउरी पर्नु, डार्क सर्कल बढ्नु, फुलिनु, वरिपरि सेतो फुस्रो हुनु, आँखा गाडिनु जस्ता समस्याहरु उमेरसँगै आउने समस्याहरु हुन् । त्यसैले, सुन्दर आँखाका लागि मानिस विभिन्न सौन्दर्य सामग्री प्रयोग गर्छन् ।

आँखा वरिपरिको छालामा किन समस्या आउछ ?
आँखा वरिपरिको छालामा तेल ग्रन्थी नहुने भएकाले शिवम् बन्दैन । शिवम् नहुने भएकाले सुख्खा भइ चाँडै चाउरी पर्छ । आँखा गडेको जस्तो देखिन्छ । बढ्दो उमेर, तनाव, अनिन्द्रा, सूर्यको अल्ट्रा भायलेट किरण, मोइस्चरको कमी, खानामा पोषणको कमी, गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग, डिहाइड्रेसन, प्रदुषण जस्ता कारणले आँखाको वरिपरि उमेरभन्दा अगाडि नै समस्याहरु देखा पर्न थाल्छ । यस्ता समस्याहरुले आँखाको सुन्दरतामा ह्रास आउँछ ।

आँखा सुन्दर राख्न के गर्ने के नगर्ने ?
– कहिलेकाहीँ धुलो वा प्रदुषणको कारण आँखा पोल्ने, चिलाउने हुन्छ । त्यस्तो बेला हातले मिच्ने गरिन्छ । आँखा मिच्दा समस्या समाधान नभइ झनै बढ्छ । आँखा पोल्ने र चिलाउने भएमा सफा पानीले छ्याप्नु उपयुक्त उपाय हो ।

– कम्प्युटर, टेलिभिजन, मोबाइलबाट आउने प्रकाश आँखाको लागि हानिकारक हुन्छ । यसले बाहिरी र भित्री दुवै भागमा प्रभाव पार्दछ । यस्ता सामग्री धेरै नजिकबाट हेर्नु हुँदैन । यस्ता सामग्रीबाट निस्कने विकिरण छेक्न चस्मा प्रयोग गर्नु राम्रो हुन्छ ।

– सूर्यको अल्ट्रा भायलेट किरणले आँखा वरिपरिको संवेदनशील छालालाई असर गर्छ । त्यसैले बाहिर निस्कदा ‘सन ग्लासेस’ लगाउनुपर्छ । यसले आँखाको बाहिर र भित्री भागको सुरक्षा गर्छ ।

– सनस्क्रिन लगाउँदा आँखाको वरिपरि पनि राम्रोसँग लगाउनुपर्छ । यसले आँखाको सुरक्षा गर्छ ।

– सुत्नुभन्दा अगाडि गुणस्तरीय आइक्रिम लगाउनुपर्छ । यसले आँखा वरिपरिको छालामा समस्या आउन दिँदैन ।

– प्रशस्त मात्रामा पानी पिउनुपर्छ । स्वस्थ रहनुपर्छ ।

– सन्तुलित आहार र पोषणयुक्त खाना खानुपर्छ । आवश्यक मात्रामा निद्रा पुर्याउँनुपर्छ ।

– आँखाको वरिपरि मालिस गरेर आँखालाई आराम प्रदान गर्नुपर्छ । मालिसले आँखा वरिपरि रक्तसञ्चार तीव्र बनाइ विकार तत्व बाहिर निकाल्छ । मालिसले आँखाको थकान हटाई स्वस्थ बनाउन मद्दत गर्छ ।

कसरी गर्ने आँखाको मालिस ?
– माझी र चोरी औँलालाई ‘आँखी भौँ’देखि तल आँखा वरिपरि उल्टो र सुल्टो गरि हल्का प्रेसरमा पाँच–पाँच पटक घुमाउने ।

– आँखाको तल्लो र माथिल्लो भागमा हल्का हल्का प्रेस गरी घुमाउने ।

– आँखाको मुनिपट्टिको भागमा भित्रबाट बाहिरतिर ‘टेम्पल प्वाइन्ट’सम्म हल्का रुपमा दबाउँदै स्लाइड गर्ने ।

– ‘आँखी भौं’लाई माथितिर उठाउन माथितिर दबाएर स्लाइड गर्ने ।

– पूरा हत्केलाले आँखालाई पाँच पटकसम्म छोप्दै हात हटाउँदै गर्ने ।

– आँखाको वरिपरि मालिस गर्दा हात एकदम हल्का चलाउनुपर्छ । यो भागमा छाला संवेदनशील हुने भएकाले धेरै दबाव दिनु हुँदैन ।

आँखाको स्याहारका लागि घरेलु सामग्री र उपाय

ग्रीन टी ब्याग : ग्रीन टी ब्यागलाई पानीमा भिजाएर १० मिनेट फ्रिजमा राख्ने । चिसो भएपछि आँखामा १५ मिनेटसम्म राख्ने । यसले आँखालाई शीतलता प्रदान गर्छ । साथै, रक्त सञ्चार वृद्धि गराइ पफिनेस र डार्क सर्कल हटाउन मद्दत गर्छ । यसले सुनिएको आँखासमेत निको हुन्छ । प्रशस्त मात्रामा ‘एन्टिअक्सिडेन्ट’युक्त ग्रीन टी पिउनु पनि आँखाका लागि राम्रो मानिन्छ ।

गुलाब जल : कपासको टुक्रालाई गुलाबजलमा डुबाएर आँखामा १० मिनेटसम्म राख्ने । यसले आँखालाई फ्रेस बनाउनुका साथै थकान मेट्छ । फुलिने वा सुनिने समस्या पनि कम हुन्छ ।

घिउकुमारी : घिउकुमारीको जेल निकालेर आँखाको वरिपरि लगाई हल्का मालिस गर्दा आँखालाई भिटामिन मिल्नुको साथै हाइड्रेट गराउँछ ।

बदामको तेल : बदामको तेलमा भिटामिन–ई क्याप्सुल मिसाएर मालिस गर्नाले आँखा वरिपरि मोइस्चर पुग्छ । यसले वरिपरिको चाउरीपन कम हुनुका साथै डार्क सर्कल पनि हट्छ ।

दुध : काँचो दुधमा कपास डुबाएर १० मिनेट आँखामा राख्ने । यसमा पाइने ‘भिस–ए र मिनरल्स जिन्क’ले आँखाको भित्री र बाहिरी भागलाई स्वस्थ बनाउँछ ।

दुध र कफी : कफीलाई धुलो बनाइ दुधमा मिसाएर लेप तयार गरी आँखामा लगाउँदा डार्क सर्कल हट्छ । यस्तो लेपले पफिनेस कम गर्नुका साथै आँखाको थकान हटाउँछ ।

आलु : आलु पिसेर आँखाको वरिपरि लगाउँदा डार्क सर्कल, पफिनेस हट्छ ।

आँखा प्रकृतिको अनुपम उपहार हो । आँखा बिनाको संसार पक्कै सहज छैन । त्यसैले आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्ने हुन्छ । आँखालाई सुन्दरताको प्रतिक पनि मानिन्छ । सुन्दर आँखा सबैको चाहना हो । त्यसैले स्वस्थ र सुन्दर आँखाका लागि उल्लेखित कुराहरुमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्