नयाँ पार्टी गठन नै हाम्रो अन्तिम विकल्प « Drishti News – Nepalese News Portal
Logo

नयाँ पार्टी गठन नै हाम्रो अन्तिम विकल्प


रचना खडका, केन्द्रीय सदस्य, नेकपा एमाले


काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुग्दा दुवै समूह आ–आफ्नै गतिविधिमा केन्द्रित छन् । यसले पार्टी एकताको माहोल झनै बिग्रदै गएको छ । एमाले विवाद समाधान सम्बन्धमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले के सोचिरहेको होला ? तेस्रो तहका नेतृत्वले के सोचिरहेका होलान् ? यसै विषयमा नेपाल समूहका युवा नेता रचना खड्कासँग ‘एमाले एकताको विन्दु’ पेरिफेरिमा दृष्टिन्यूजका सन्तोष साहले गरेको कुराकानी प्रस्तुत छः

-पार्टीलाई एकतावद्ध गर्ने प्रयास धेरै भयो तर किन सफल हुन सकेन ?

अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रूपमा प्रस्तुत हुन नसक्दा एकताका प्रयासहरू सफल हुन नसकेका हुन् । उहाँले नचाहेसम्म पार्टी एकतावद्ध हुन सक्दैन । पार्टी एकताका लागि उहाँको भूमिका नै बाधक भएको छ । अध्यक्षको रूपमा एकताका लागि पहल गर्न छोडेर पार्टी विभाजनतर्फ उहाँबाट गतिविधि हुँदै आएको छ । आजसम्म पार्टी एकतावद्ध हुन नसक्नुको मुख्य कारण यो नै हो ।

-तपाईंहरू नयाँ पार्टी गठन गर्ने तयारी हो ?

अन्तिम अवस्थासम्म पार्टी एकतावद्ध होस् भन्ने नै हाम्रो चाहना हो । हाम्रो स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको निष्कर्ष यही हो । अन्तिम अवस्थासम्म पार्टी एकताका लागि पहल जारी राख्दै पार्टीलाई विभाजनबाट जोगाउने हाम्रोे इच्छा र चाहना हो ।

पार्टी विभाजन त बाध्यात्मक अवस्थामा हुन्छ । एमालेभित्र छिर्नै नदिएर ढोका नै बन्द गरिदिए कुनै न कुनै विकल्प खोज्नै पर्छ । नयाँ दल गठन त्यतिबेलाको विकल्प हो । अझै पनि आन्तरिक एकताको सम्भावना मरिसकेको छ भन्ने हामी ठान्दैनौं । तर, अध्यक्ष जति जिम्मेवार हुनुपर्ने हो त्यति हुनुहुन्न ।

हाम्रो ठाउँबाट हेर्ने हो भने अध्यक्ष नै पार्टीलाई एकतावद्ध गर्न चाहनुहुन्न । उहाँहरूले एक्लौटी रूपमा विधान संशोधनका लागि विधान अधिवेशनको काम अगाडि बढाउनु भएको छ । त्यसबाट के पुष्टि हुन्छ भने, उहाँले पार्टी एकता चाहनुभएको छैन ।

हामीले एकताको पहल गरिरहेका बेला विधान संशोधनको प्रक्रिय अघि बढाएर पार्टी अध्यक्ष समूहले पार्टीलाई एकतावद्ध बनाउने प्रक्रिया र प्रयासको ढोका बन्द गरेको छ । यस्तो अवस्थामा हामीले हेरेर बस्ने कुरा हुँदैन । नयाँ पार्टी गठन भयो भने त्यसको मुख्य कारण अध्यक्ष नै हुनेछन् । उहाँकै कारण एमाले विभाजन हुनेछ ।

-नयाँ पार्टी गठन नै अन्तिम विकल्प हो ?

हामीलाई पाखा लगाएर पार्टीलाई एकतावद्ध गर्ने प्रक्रिया र प्रयासको ढोका नै बन्द गरिन्छ भने हामीसँग नयाँ पार्टी गठन बाहेक अरु विकल्प हुँदैन । पार्टी अध्यक्षले पार्टीमा हाम्रो लागि ढोका बन्द गरिदिनु भएको छ । आफ्नो बिर्ता झै पार्टी चलाउनु भएको छ ।

विधान संशोधन जस्तो अधिक महत्वपूर्ण विषय एक्लौटी रूपमा अघि बढाउनु भएको छ । यस्तो अवस्थामा हामीले हेरेर बस्ने अवस्था हुँदैन । उहाँले जे कदम चाल्नु भएको छ ति सबै खारेज गरेर पार्टी एकताका लागि नयाँ विन्दुमा आउनुपर्ने हुन्छ । तब मात्र एकताका लागि नयाँ पहल हुनसक्छ । नत्र हामीले नयाँ पार्टी गठन गर्नुको विकल्प हुँदैन । हामी सोही अवस्थामा पुगेका छौं ।

-१० बुँदे प्रस्तावमा एकताको आधार थिएन ?

१० बुँदे प्रस्ताव पार्टीलाई एकतावद्ध बनाउने आधारविन्दु पक्कै हो । तर, एकताको सम्पूर्ण पक्ष यसैमा छ भन्ने होइन । हामीले बैठकमै छलफल गरेर १० बुँदे प्रस्तावलाई एकताको आधार भनेका हाैं । सोहीअनुसार पार्टी एकता गर्ने निष्कर्ष निकाल्यौं । हामीले निर्णय गरेको दुई दिन बित्न नपाउँदै ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेर १० बुँदे प्रस्ताव लत्याउने काम भयो । १० बुँदे सहमति विपरित उहाँहरूले गतिविधि गरेपछि त्यसको अस्तित्व समाप्त भयो ।

-त्यसो भए, अब पार्टीलाई एकतावद्ध बनाउने विन्दु के हो ?

१० बुँदे प्रस्तावलाई प्रस्थानविन्दु मान्दै २ जेठ २०७५ मा जाने हो भने सम्भव छ । त्यस्तो अवस्थामा दुवै पक्षले बनाएका कमिटीहरू खारेज हुनुपर्छ । १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विशेष समझदारी बन्नुपर्छ ।

दुई नेताबीच विशेष समझदारी नभई कार्यान्वयन हुन सक्दैन । हामी एकताको पक्षमा छौं । तर, जे गरे पनि, जसो गरेपनि सर्लकै फर्कने पक्षमा छैनौं । सम्मानजनक एकता हुनुपर्छ ।

सम्मानजनक एकता भनेको हामीसँग जोडिएका देशभरका नेता कार्यकर्ताको राजनीतिक जीवन सुरक्षाको सवाल हो । यस बीचमा ठूला राजनीतिक घटनाहरू भएका छन् । मुद्धामामिला भएका छन् । त्यसको समीक्षा हुन आवश्यक छ ।

पार्टी सदस्य नविकरण, संगठन समायोजन लगायतका विषय सहमतिका आधारमा हुनुपर्छ । महाधिवेशन गर्ने बेला भएको छ । महाधिवेशसनसम्म पुग्न एकपक्षले अर्को पक्षलाई विश्वास गर्ने वातावरण बन्नुपर्ने हुन्छ । त्यो वातावरण बनाउनु पर्छ । त्यसकारण दुई नेताको संयुक्त हस्ताक्षरबाट प्रमाणित हुनेगरी सहमति गरेर अगाडि बढ्न सकिन्छ ।

यसको अर्थ यो होइन कि हामीले अध्यक्ष खोजेका छौं । यसको अर्थ विश्वासको वातावरण बन्नुपर्छ भन्ने हो । विश्वासको वातावरण बने पार्टी एकता हुन्छ ।

-विधानको कुन व्यवस्था टेकेर दुई नेताको हस्ताक्षर खोज्ने ?

सहमतिको आधारमा हुने कुरा हो । विधि विधान त हामीले बनाउने हो । हामी एक भए त्यो असम्भव कुरा होइन । विश्वासको संकट भएको बेला दुवै नेताको संयुक्त हस्ताक्षर जरुरी हुन्छ । हामीले दुई अध्यक्ष भनेका छैनौं । एकअर्कामा विश्वासको वातावरण बनाउनु संयुक्त हस्ताक्षरको प्रस्ताव गरिएको हो ।

हामीले सबैकुरा भोगेर आएका छौं । धोका, अन्याय, अत्याचार, एकलौटी, पेलान सबै भोगेका छौं । उहाँहरू प्रति सबै विश्वास टुटेको छ । त्यसैले संयुक्त हस्ताक्षर एकताका लागि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्