Logo
Logo

फोरमको दोहोरो चरित्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर उपप्रधानमन्त्री छन् । सहरी विकास मन्त्री पनि उनकै पार्टीका इस्तियाक राई छन् । फोरम सरकारमा छ । तर उनको पार्टीका नेता भीम राई र संघीय समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले गएको चैत २९ मा नेपाली कांग्रेस निकट नेविसंघसहित ११ विद्यार्थी संगठनको कार्यक्रममा सरकारको चर्को आलोचना गरेका थिए । ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेका थिए । जुन गोष्ठीको आयोजकमा फोरम निकट विद्यार्थी संगठन पनि रहेको नेविसंघका पूर्वउपाध्यक्ष तथा कार्यक्रमका मुख्य आयोजक ऋषिकेशजंग शाहले बताएका छन् ।

सरकारमै बसेर सरकारको विरोध गर्ने कार्य फोरमले गरेको छ । फोरमका नेता भीम राई र विद्यार्थी नेता राईले उक्त कार्यक्रममा ओली सरकारको तिखो आलोचना गरेका थिए ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा सबै सत्ताबाहिरका पार्टी र विद्यार्थी संगठन थिए । तर सरकारमै सहभागी पार्टीबाट फोरम सहभागी थियो । राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए । कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन र पार्टीलाई पनि बोलाइएको थियो । सरकारले प्रतिबन्ध लगाएकाले खुला कार्यक्रममा आउन सुरक्षाका कारण नसकिने भन्दै सरकारविरुद्ध हुने जुनसुकै संघर्षका कार्यक्रममा साथ दिने सन्देश पठाएको शाहले जानकारी दिए ।

उक्त कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेल लगायतका नेता थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्