Logo
Logo

काँग्रेस विघटनको बाटोमा


माथवरसिंह बस्नेत


आफ्नै विधान तथा देशको संविधान, ऐन र नियमका कारण नेपाली काँग्रेस अहिले वैधानिकता जोगाउने जीवन–मरणको संकटमा चुर्लुम्म डुब्न पुगेको तथ्य जगजाहेर छ । त्यसका नेताहरु, उनीहरु आफैंले उत्पन्न गरेका संकटमा परेर आफ्नो प्रिय संस्थाले अकाल मृत्यु वरण गरेको हेर्न अभिशप्त छन् । कस्तो अचम्म ! काँग्रेसी सबै ‘राम राम’ भन्न तत्पर छन् । तर, काँध थाप्न कोही तयार छैनन् ।

असक्षम, अकर्मण्य तथा इच्छाशक्ति नामको कुनै तत्व नभएको नेतृत्वपंक्तिको हालिमुहालीले अतीतमा पनि यस्तै संकट झेल्नु परेको थियो । तापनि, यस पटकजस्तो अस्तित्वकै संकट, यसअघि कहिलै उत्पन्न भएको थिएन । काँग्रेस अहिले जति निरीह र असहाय देखिएको छ, त्यत्ति निरुपाय र कर्तव्यविमुख कहिलै थिएन ।

प्रतिवन्धित अवस्थामा समेत उसले पुरानै अस्तित्वलाई पहिचान तुल्याएर आफ्नो वैधताको निरन्तरतालाई हरहालतमा जोगाएको थियो । उसको त्यस्तो अस्तित्वको संघर्षलाई प्रजातान्त्रिक विश्वले समर्थन मात्र जनाएका थिएनन्, सम्मानपूर्ण मान्यता पनि प्रदान गरेका थिए । अहिले त्यही काँग्रेस, यद्यपि पाँच दलको गठवन्धन सरकारको नेतृत्व सम्हालिरहेको छ ।

तर, एउटा राजनीतिक दलका रुपमा अस्तित्व जोगाउन पनि नसक्ने दारुण अवस्थामा पुगिसकेको छ । परिस्थिति कति गम्भीर बनिसकेको छ भने उसले आफ्नो वैधता जोगाउन सर्वोच्च अदालत र निर्वाचन आयोगको टेको लिनुपर्ने भइसकको छ । नत्रभने उसलाई नेपालको संविधान, ऐन र नियमले नचिन्ने भइसकेको छ ।

सबैलाई थाहा छ, काँग्रेसको आफ्नै विधान छ, केन्द्रीय समिति छ, विभागहरु छन्, केन्द्रदेखि गाउँ तथा नगरका वडासम्म फैलिएका शाखा सञ्जाल छन्, भातृसंस्थाहरुको लर्को पनि ठूलै छ । तैपनि काँग्रेस, सबैले चुकचुकाएर कठैवरा ! भन्ने निर्लज्ज तथा प्राणहीन अवस्थामा पुगेको छ ।

विडम्वना ! आधुनिक नेपालको पथप्रदर्शक प्रजातान्त्रिक शक्तिको गौरवशाली इतिहास बोकेको त्यो विशाल पार्टी, नेताहरुका लुछाचुँडीका अतिरिक्त इच्छाशक्तिको अभावका कारण सबैथोक हुँदाहुँदै पनि अस्तित्वको प्राण–पखेरु उड्ने अवस्थामा पुगिसकेको छ ।

विडम्वना ! आधुनिक नेपालको पथप्रदर्शक प्रजातान्त्रिक शक्तिको गौरवशाली इतिहास बोकेको त्यो विशाल पार्टी काँग्रेस नेताहरुका लुछाचुँडीका अतिरिक्त इच्छाशक्तिको अभावका कारण सबैथोक हुँदाहुँदै पनि अस्तित्वको प्राण–पखेरु उड्ने अवस्थामा पुगिसकेको छ ।

आर्यघाटको घाटे वैद्यको अस्पतालमा लम्पसार हुनपुगिसकेपछि केन्द्रीय समितिले फेरि भदौ १८ गतेबाट गाउँ तथा नगरस्तरको अधिवेशन प्रारम्भ हुने निर्णय गरेर वैधता जोगाउने चोरबाटो रोज्न पुगेको छ । त्यो भनेको रोगीको छातिमा पम्पिङ गरेर प्राण जोगाउने अन्तिम प्रयास हो ।

भदौ २३ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने वाध्यकारी संवैधानिक सीमालाई १८ गते गाउँस्तरको अधिवेसन थालेर प्रक्रिया प्रारम्भ भएको भ्रम छर्ने जुन प्रयास भएको छ, भोलि त्यसलाई अदालतले अस्वीकार गर्यो भने काँग्रेसको भविष्य के हुन्छ ? त्यो अन्योल र अनिश्चयलाई त्यो निर्णयले चिर्न सकेको छैन ।

एक वर्ष अगाडि नै सम्पन्न भइसक्नुपर्ने १४औं अधिवेशनको म्याद, अनेकपटक सार्दै अहिले मंसिर ९ गते पुर्याएको घटनालाई एकथरिले पार्टीको अकालमृत्युमा मलामी जान र दाहसंस्कारका निम्ति गरेको तयारी भन्ने टीप्पणी गरेका छन् ।

सबैभन्दा आश्चर्यको विषय हो, क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको आरोप–प्रत्यारोपको छानविन गरेर समस्या समाधान गर्न नसकेकाले पार्टीको संवैधानिकता र अस्तित्व दुवै गुम्ने अवस्था उत्पन्नहुँदा पनि कोही त्यसको जिम्मेदारी बोक्न तयार भएको नदेखिनु । एक अर्कामाथि आरोप लगाउन सबै हानथाप गर्ने तर आफ्नो भागको जिम्मेदारी बोक्न कोही तयार नहुने विचित्रको अवस्थाबाट काँग्रेस गुज्रिन पुग्नु आफैंमा लाजमर्दो अवस्था हो । तर त्यही लाज र शरम, हिजोआज काँग्रेसबाट नदारत हुन पुगेको छ । “एक लज्जा परित्याज्यम् ….सुखी भवेत्” भन्ने शास्त्रको श्लोक, वर्तमान काँग्रेसको नाङ्गो यथार्थ बन्नपुगेको छ ।

नपुगोस् पनि किन ? प्रजातन्त्र भनेकै पद्धति हो । त्यो पद्धतिअनुसार चल्छ, प्रक्रियाबाट चल्नुपर्छ । त्यसको निष्कर्ष हो– सबै प्रकारका मतभेदको अन्त्य बहुमतको निर्णयबाट हुनु । त्यसैले प्रजातन्त्रमा त्यो पद्धतिलाई समस्या समाधानको रामवाण मानिएको हो । जतिसुकै गम्भीर समस्या किन नहोस्, त्यसको समाधान वार्ता र सहमतिबाट खोज्ने, तर सहमति जुट्न सकेन भने मतदानका माध्यमबाट निर्णयमा पुग्ने पद्धति नै प्रजातन्त्र हो ।

छलफलबाट सहमति भएन भने निर्णयमा पुग्ने अन्तिम र अमोघ अस्त्र नै बहुमत हो । जब सहमतिको खोजका लागि हुने वार्ता निष्कर्षमा पुग्न सक्दैन तब त्यो विषय निर्णायक निकायका पदाधिकारीसमक्ष बहुमतबाट निर्णयमा पुग्न मतदानका लागि प्रस्तुत गर्नुको विकल्प हुँदैन ।

त्यसपछि बहुमतबाट जुन निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गर्न जुट्नु प्रजातान्त्रिक पद्धतिको अनुलंघनीय नियम हो । त्यही प्रजातान्त्रिक मूल्य र मान्यताको कसी हो । काँग्रेसले त्यही बाटो अवलम्वन गर्न इन्कार गरेर सहमति र सहकार्यको ‘भेडिया धसान’ नछाडेकाले अहिलेको स्थिति उत्पन्न भएको हो ।

क्रियाशील सदस्यताको जुन महाभारत काँग्रेसमा अहिले पनि चलिरहेछ र चक्काजाममा पुगेर सम्पूर्ण प्रक्रिया ठप्प हुन पुगेको छ, त्यसको कारण नै सहमतिको त्यही अडान हो । त्यसमा संस्थापन पक्ष मात्र दोषी छैन, प्रतिपक्षका गुट–उपगुट पनि उत्तिकै दोषी छन् । दुवै पक्षमा शकुनीको मात्र सक्रियता रहनु तर कृष्ण कतै देखा नपर्नु समग्र बिबादको दुःखद् एवं दारुण पक्ष हो ।

काँग्रेसका नीति र कार्यक्रममाथि कसैको कुनै मतभेद छैन । पार्टीलाई सबल र सफल तुल्याउन कटिवद्ध, सिद्धान्तनिष्ठ तथा समर्पित क्रियाशील सदस्य बढाउने चिन्ता र चासोले चलेको इमान्दार होड पनि पटक्कै होइन । अहिलेको अभियान त त्यस्ता कार्यकर्तालाई विस्थापित गरेर आफ्ना लठैतहरुका माध्यमबाट पार्टी कब्जा गर्ने ग्य्राण्डडिजाइन कार्यान्वयनको कसरत मात्र हो ।

त्यसैले क्रियाशील सदस्य बिबादमा दुवैथरि आफ्नो पक्षलाई जिताउन प्राणप्रणले लागेका हुन् । दुवै पक्ष, अझै टसमस हुन तयार छैनन् । जसरी भए पनि बहुमत जुटाएर पार्टी कब्जा गर्न सबै जिल्लामा क्रियाशील सदस्यको संख्या, योजनावद्ध तरीकाले बढाइएको हो । जुन बेला क्रियाशील सदस्यको संख्या बढाउने निर्णय भयो, त्यस बेला कसैले मतभेद जनाएनन्, बिबाद पनि उठाएनन् ।

अर्को पार्टी छाडेर आएका नवागन्तुकलाई समायोजनका नाममा साथमा लिएर पुरानालाई विस्थापित गर्ने र नेतृत्वमा आफू स्थापित हुने दुवै पक्षका नेताको अभिष्ट र रणनीति हो । ती दुवै कामका लागि पद, पैसा र गुण्डाको खाँचो पर्ने भएकाले आजको महाभारतको ‘विभत्स पर्व’ शुरु भएको थियो । त्यो कौरव पक्षबाट मात्र भएको होइन, कथित् पाण्डव पक्षबाट पनि भएको छ ।

विधि र प्रक्रियाको माखोल उडाएर दुवै पक्षले काँग्रेसलाई निर्वस्त्र पार्ने काम गरिसकेका छन् । त्यो प्रक्रियाको बाँकी काम तब सम्पन्न हुनेछ, जब उसले जुन अदालत र निर्वाचन आयोगलाई बैशाखी तुल्याएर अधिवेशन छल्ने उपाय अपनाएको हो, त्यसको पोल तिनैले खोलिदिने छन् । त्याग गर्ने, जिम्मेदारीबोध गर्ने र सबैलाई समेट्ने उदात्तता कसैले नदेखाउँदाको मूल्य कति महँगो पर्नेछ, त्यो देख्ने र टाउको समातेर पछुताउने दिन अब धेरै टाढा छैन ।

राजनीतिक निर्णयको मामला अदालत पुगेपछि जुन दुर्गति ओलीले झेल्नुपर्याे, काँग्रेस, त्यसबाट पाठ सिक्न छाडेर ओलीकै पथगामी हुनपुग्यो । दोहोर्याइरहन आवश्यक छैन, त्यसपछि जे हुने हो, त्यो भनेको ओलीले जस्तै अदालत र आयोग दुवैलाई सराप्ने पालो अब काँग्रेसको आउँदैछ । राजनीतिको तालसाँचो अदालतलाई बुझाएपछि हुने त्यही हो ।

प्रतिक्रिया दिनुहोस्