Logo
Logo

नयाँ वर्षका नयाँ कार्यभार


- दृष्टि न्युज/संवाददाता


समयको प्रवाहसँगै विक्रम संवत् २०७५ हाम्रोबीचबाट बिदा भएको छ । देशविदेशमा रहेका समस्त नेपालीले नयाँ वर्ष २०७६ लाई मनदेखि स्वागत गरेका छन् । हुनतः संवत्सर परिवर्तन एउटा निरन्तर प्रक्रिया हो । समयको एउटा चक्र । यससँग हाम्रा जीवनशैली, हाम्रा सांस्कृति पक्ष र परम्परा जोडिएका हुन्छन् । त्यसैले हामी हरेक वर्षको शुभारम्भलाई त्यस वर्षको भव्यतासँग जोडेर हेर्छौं र त्यसैअनुसार स्वागत गर्छौं । तर, हामी यतिबेला समयको त्यस्तो युगिन कालखण्डमा छौँ, जहाँ हामीलाई संवत्सर परिवर्तनको आयामलाई जीवनशैली, सांस्कृति र परम्परागत पक्षसँग मात्र जोड्ने छुट छैन । हामी साँच्चिकै युगिन समयमा छौँ । शान्त, समृद्ध र सुखीहालीसहितको आधुनिक नेपाल निर्माणको यो कालखण्डमा बितेको वर्ष र हालैमा हामीले स्वागत गरेको वर्षका अनेक महत्ता छन्, रहनेछन् ।

वर्ष २०७५ ले हामीलाई नयाँ संविधानअनुसार निर्वाचित दुईतिहाइ बहुमतयुक्त सरकार दियो । लाखौँ लाख संख्यामा रहेका मेहनतकश जनताले देखेका सपना पूरा गर्ने संकल्पसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही अवधिमा सत्तारोहण ग¥यो । जनमतको वैधानिक प्रयोग (मतदान)बाट संघीय मुलुकको झन्डै दुईतिहाइ सरकारको नेतृत्व गर्ने संसारकै दुर्लभ घटना बितेको वर्ष नेपालमा भयो । जनताले राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने पार्टीलाई रोजे । संसारका कुनै पनि शक्तिका अगाडि कहिल्यै नझुकेको नेपाली शिर झन ठाडो बनाउने राजनेता केपी शर्मा ओलीलाई सार्वभौमसत्ता सम्पन्न जनताले सत्ताको नेतृत्व सुम्पिए । जनताले छिटो छिटो सरकार परिवर्तनको अभ्यासलाई कम्तीमा पाँच वर्षका निम्ती बिर्साइदिए । साथै, यो राजनीतिक व्यवस्थामा स्थिर सरकार सम्भव हुँदैन भन्नेहरूलाई बितेको वर्षले आफ्नो धारणा बदल्न बाध्य बनाइदियो ।

बितेको वर्षले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यासमा प्रवेश गरायो । लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त उपलब्धिलाई व्यवहारतः कार्यान्वयनको जिम्मेवारीसहित ओली सरकार सक्रिय देखियो । मूलतः समयसीमाभित्रै संविधानबमोजिमका ऐन–कानुन निर्माणको प्रथम जिम्मेवारी ओली सरकारले समयमै सहजताका साथ पूरा ग¥यो । त्यति मात्र होइन, सरकारले केही यस्ता कामको थालनी ग¥यो, जसले श्रमजीवी जनतामा आशाको नयाँ सञ्चार गरायो । पहिलो संघीय बजेट विनियोजन, कानुनहरूको निर्माण, दुवै छिमेकी मुलुकहरूसँगका ऐतिहासिक सन्धि र सहमति, आर्थिक जोखिममा रहेका लाखौँ लाख मजदूरलाई लक्षित गरी योगदानमा आधारित पेन्शनको व्यवस्था, कर्मचारी समायोजन र ऐतिहासिक रूपमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन बितेको वर्षका सबैभन्दा दूरगामी महत्वका उपलब्धि रहे । ध्वस्त अर्थतन्त्रमा व्यापक सुधार, भ्रष्टाचार र बेथितिमा निगरानी, शान्ति सुरक्षाको प्रत्याभूति, संघीयताको मर्मअनुसार अधिकारहरू स्थानीय तह र प्रदेशमा प्रत्यायोजन, ठूला, मझौला र साना आयोजनाहरूको अध्ययन, निर्माणाधीन परियोजनाहरूमा तीव्रतालगायतका कयौँ उपलब्धि यसबीच प्राप्त भएका छन् ।

बितेको वर्षले नयाँ वर्षलाई थप उपलब्धिमूलक बनाउन पक्कै मद्धत गरेको छ । राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिसँग जोड्न तत्पर ओली सरकारले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानलाई पूरा गराउन नयाँ वर्ष पक्कै ऐतिहासिक महत्वको हुनेछ । सरकार सञ्चालनको पहिलो वर्षलाई आधार वर्ष मानेका प्रधानमन्त्रीका मनमा रहेका कयौँ योजना नेपालीले यस वर्षको नीति तथा कार्यक्रममा देख्न पाउनेछन् । बजेटमार्फत् ती कार्ययोजना कार्यान्वयनमा जानेछन् । र, तीन करोड नेपाली पक्कै लाभान्वित हुनेछन् । ‘अतिकम विकसित मुलुक’को सूचीबाट ‘विकासशील मुलुक’को सूचीमा नेपाललाई पु¥याउने प्रधानमन्त्रीको संकल्प पूरा गर्न २०७६ साल पक्कै सहायक बन्ने छ । यो संकल्प पूरा हुँदा त्यसको लाभ सारा नेपालीले प्राप्त गर्नेछन् । त्यसैले प्रधानमन्त्री ओलीको समृद्ध मुलुक निर्माण गर्ने यो महाअभियानमा तपाईं हामी सबैको हातेमालो जरुरी छ । नयाँ वर्ष २०७६ समस्त नेपालीका लागि सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्ष बन्न सकोस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्