Logo
Logo

कांग्रेसमा भावी सभापतिका लागि दौडधुप सुरु, कसले बाजी मार्ला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत निर्वाचनको परिणामपछि थलिएको कांग्रेस आन्तरिक कलहका कारण थप सिथिल बन्दै गएको छ । आसन्न महाधिवेशनबाट पार्टी कब्जा गर्ने ताकमा रहेका नेताहरूका गुटगत चलखेल तथा एक अर्कालाई सिध्याउन भइरहेका हानथापले कांग्रेस पार्टी संकटमा पर्दै गएको छ । प्रजातन्त्रका लागि लामो संघर्ष गरेको पार्टी भए पनि कांग्रेसभित्र भने यतिबेला गैरप्रजातान्त्रिक गतिविधि र छलछाम बढ्दो छ । गुटगत र व्यक्तिगत स्वार्थलाई सधैँ गौण मान्ने सानो संख्यामा रहेका केही कार्यकर्ता कांग्रेसभित्रको कलहका कारण चिन्तामा छन् । कलह बढ्दै जाँदा राणा शासन ढाल्नदेखि गणतन्त्र प्राप्तिसम्मको समयमा संघर्षपूर्ण बिरासत बोकेको कांग्रेस जरैदेखि ढल्ने अवस्थामा पुगेपछि निष्ठावान कार्यकर्ताको चिन्ता बढेको हो ।

कोइराला परिवारले जस्तै पौडेलले पनि आफ्ना पक्षधरको भेला गर्न थालेका छन् । खुलेरै पौडेलको पक्षमा लाग्ने धेरै नेता नभए पनि उनले त्यस्तो भेलामा कोइराला परिवारनिकट र सिटौलानिकटलाई बोलाउने गरेका छन् । केहीअघि पौडेलले बोलाएको एक भेलामा पुगेर कोइराला परिवारको तर्फबाट सुजाताले देउवाको विकल्प खोज्न सबै मिल्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् । त्यसबाट पौडेल उत्साही भएका थिए । तर, लगत्तै तीन कोइरालाको अर्को भेला भएपछि पौडेल खस्रिक्क परे । कोइराला परिवारको यो तयारीपछि कुम्भकर्ण झैँ सधैँ निदाउन रमाउने देउवामा अनौठो जोश देखिएको छ । उनी पनि सबै शक्ति खर्चेर आफ्नो गुट पुनर्ताजगी गर्न दौडिएका छन् । देउवा भने सिटौला पक्षलाई तान्न खोजिरहेका छन् ।

मूलतः यतिबेला कांग्रेसभित्र आसन्न महाधिवेशनलाई केन्द्रमा राखेर नेताहरूबीच संघर्ष देखिन्छ । गत असार ५ देखि ७ सम्म हेटौंडामा सम्पन्न ७७ जिल्लाका सभापतिहरूको भेला तथा गत मंसिर २९ देखि पुस ३ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकका केही निर्णयले कांग्रेसभित्र नयाँ बहस सिर्जना गरेको थियो । ती दुवै महत्वपूर्ण भेलाका निर्णयले आसन्न महाधिवेशनलाई स्पष्ट प्रभाव पार्ने देखिन्थ्यो । सभापतिहरूको भेलाले केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्न आसन्न महासमिति बैठकलाई सुझाब दिएको थियो । जिल्लामा क्रियाशील नहुने, संगठन निर्माणमा नेतृत्व नगर्ने, जिल्लाका कार्यकर्तालाई रैतीसमान व्यवहार गर्ने, तर पार्टीका शीर्ष नेताहरूको चाकडी गरेर पैसाको खोलो बगाएर सधैँ केन्द्रीय समितिमा निर्वाचित वा मनोनित हुने नेताहरूलाई ठेगान लगाउन जिल्ला सभापतिको भेलाले त्यस्तो उपाय अपनाएको थियो । सोही सुझाब ग्रहण गर्दै महासमिति बैठकले त्यसैअनुसार विधान संशोधन गर्ने निर्णय गरेको थियो । त्यस्तो निर्णय पारित हुन नदिन शीर्ष नेतालाई परिक्रमा गरिरहने गणेश प्रवृत्ति भएका कयौँ नेताले निकै जोडबल गरेका थिए । स्वयम् पार्टी सभापति शेरबहादुर देउवासमेतले प्रयास गरेका थिए । तर, महासमिति बैठकका प्रतिनिधिहरूले विद्रोह गर्न सक्ने सम्भावना देखेपछि देउवाले त्यसैअनुसार विधान संशोधन गराउन आफू तयार रहेको भन्दै प्रस्ताव पारित गराए ।

महासमितिमा आफू दबाबमा परे पनि केन्द्रीय समिति बैठकमा सुविधाजनक बहुमत रहेकाले आफ्नो चाहनाअनुसार विधान संशोधन गराउन सक्ने देउवाले ठानेका थिए । नभन्दै त्यसै भयो । महासमितिको सो प्रतिबद्धताबाट पछि हट्दै देउवाले आफूनिकटका केही नेतालाई सजिलो बनाउन गैरप्रजातान्त्रिक निर्णय गराए । देउवाको सो कदमपछि पार्टीभित्र रामचन्द्र पौडेलको नेतृत्व रुचाउनेहरू, शशांक, शेखर र सुुजाता कोइरालालाई कांग्रेस जिम्मा लगाउन चाहनेहरू तथा कृष्णप्रसाद सिटौला र गगन थापाको नेतृत्वबाट आशा गरिरहेकाहरूले देउवामाथि दबाब बढाउन थालेका छन् । त्यसैक्रममा चैतको अन्तिम बिहीबार र शुक्रबार गण्डकी प्रदेशको पोखरामा भएको जिल्ला कोषाध्यक्षहरूको तेस्रो सम्मेलनमा पनि केन्द्रीय समितिमा रहनेहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्ने प्रस्ताव लैजाने प्रयास भएको थियो । त्यहाँ देउवा पक्षले निकै जोडबल गरी त्यस्तो प्रस्ताव आउनै दिएन । त्यहाँ दुई पक्षबीच घमासान हुने अवस्था सिर्जना भएको थियो ।

एकअर्कालाई सिध्याउन जिल्ला दौडाहा

पछिल्ला घटनाक्रममाले नेताहरू एकअर्कालाई सिध्याउन कम्मर कसेर लागेको स्पष्ट भएको छ । यो घमासानको मुख्यकारण आसन्न महाधिवेशन नै हो । ‘पछिल्ला केही महिनायताका गतिविधि हेर्दा कांग्रेस कार्यकर्तालाई ‘म कांग्रेस हुँ’ भन्न पनि लाज लाग्ने अवस्था बनिसकेको छ,’ कांग्रेसका युवानेता रामहरि खतिवडाले दृष्टिसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलको रचनात्मक भूमिकासमेत निभाउन नसकेको बताए । खवितडाले भने, ‘बिपीको राजनीतिक विचार, किशुनजीको सादगी, गणेशमानको आदर्श र दृढताको इतिहास बोकेको पार्टी अहिले गुटैगुट, स्वार्थ नै स्वार्थमा चुर्लुम्म डुबेको छ ।’

१३औँ महाधिवेशनको टुंग्गो नलाग्दै नेताहरू दौडाहामा छन् । जिल्ला जिल्ला पुगेर नेताहरूले एकअर्कालाई गाली गरिरहेका छन् । धारे हात लगाउँदै अर्को पक्षको नेतालाई गाली गर्नेहरूको लर्को कांग्रेसमा अहिले देखिन्छ । यो देखेर जिल्ला जिल्लाका कांग्रेस कार्यकर्ता पनि बिलखबन्दमा परेका छन् । ‘महाधिवेशनको टुंगो नलाग्दै हाम्रो पार्टीमा महाधिवेशन लागेको जस्तो छ । अघिपछि पाइला नटेक्ने नेताहरू अहिले जिल्ला आउन बहाना खोजिरहेका छन्,’ मकवानपुर कांग्रेसका एक नेताले भने, ‘एउटा गुटको नेता आएर फर्किन नपाउँदै अर्को गुटको नेता आइसकेको हुन्छ । पहिलेको जस्तै उसले पनि आफ्नो गुटको प्रचार गर्छ । कांग्रेसको चिन्ता होइन, गुटको चिन्ता बोकेर ऊ आएको स्पष्टै बुझिन्छ ।’

यो खेलमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, गगन थापा, बालकृष्ण खाँड सबै लागेका छन् । यी नेताले पछिल्लो समय गरेको जिल्ला दौड हेर्दा कांग्रेसको महाधिवेशन दैलोमै आइसकेको आभास हुन्छ । तर, महाधिवेशनको अहिलेसम्म टुंगो छैन ।

महाधिवेशन सार्ने देउवाको दाउ

सामान्य अवस्थामा कांग्रेसको विधानले चार वर्षको एक कार्यकाल मान्दछ । महाधिवेशन गर्न नसकिने विशेष परिस्थिति आए पार्टी सभापतिले केन्द्रीय कार्य समितिको म्याद एक वर्ष थप गर्न पाउने व्यवस्था कांग्रेसको विधानले गरेको छ । कांग्रेसले गत २०७२ साल फागुन २० देखि २३ सम्म काठमाडौंमा १३औँ महाधिवेशन गरेको थियो । नियमित समयमै गर्ने हो भने १४औँ महाधिवेशन आगामी फागुन महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । तर, विधानले दिएको विशेष परिस्थितिको बहाना बनाएर देउवा महाधिवेशन एक वर्ष पर सार्ने दाउमा छन् । उनले आफूनिकट नेताहरूसँग आफ्नो चाहना बताइसकेका छन् । तर, पौडेल र सिटौला पक्ष भने आगामी फागुनभित्रै महाधिवेशन हुनुपर्ने अडानमा छन् । देउवाको मनसाय बुझेका पौडेलले गत माघ २३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा २०७६ सालको फागुन ६ गते १४औँ महाधिवेशन उद्घाटन गर्नुपर्नेसहितका धारणा राखेर कार्ययोजना पेश गरेका थिए । उनले महासमिति बैठकअघि बसेको केन्द्रीय समिति बैठकमा समेत सो प्रस्ताव राखेर महासमितिबाट पारित गराउने तयारी गरेका थिए । तर, देउवाले अरुचि देखाएपछि पौडेलको चाहना तत्काल पूरा भएन । अहिले पौडेले जसरी पनि नियमित अवधिममै महाधिवेशन गराउन जोड लगाइरहेका छन् । यसमा उनलाई कोइराला परिवार र सिटौला समूहको पनि साथ छ ।

कोइराला परिवारको आफ्नै दाउ

महाधिवेशन लक्षित गरी भइरहेका जिल्ला दौडाहाका दृष्य निकै रोचक देखिएका छन् । १४औँ महाधिवेशनमा पनि सभापतिका लागि पुनः देउवाले उम्मेदवारी दिने निश्चित भइसकेकाले उनलाई हराउन अर्को पक्ष बलियो बन्ने दाउमा छ । तर, देउवाको विरुद्धमा उत्रने उम्मेदवारको टुंगो लगाउन सक्ने अवस्थामा अर्को पक्ष देखिँदैन । देउवाविरुद्ध १३औँ महाधिवेशनमा जस्तै पौडेल र सिटौला भिडे देउवा सहजै दोस्रोपटक सभापति बन्ने धेरैको अनुमान छ । तर, त्यस्तो अवस्था आउन नदिन कांग्रेसभित्र अर्को समूह चलखेल गरिरहेको बताइन्छ । आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार पुनः कोइराला परिवारबाट बनाउने चलखेल चलिरहेको छ । बिपी, गिरिजाको पहिलो पुस्ता, सुशीलको दोस्रो पुस्ताको नेतृत्व हेरिसकेका कांग्रेस कार्यकर्ताले तेस्रो पुस्ताका शशांक, शेखर वा सुजाताको नेतृत्व सहजै स्वीकार्ने अवस्था भने देखिँदैन । तर पनि कांग्रेस नेतृत्व अरुको हातमा जान नदिन पछिल्ला दिन शशांक, शेखर र सुजाताबीच बाक्लो भेटघाट र छलफल हुन थालेको छ ।

रामचन्द्र पौडेललाई पन्छाएर बिपी कोइरालाको ‘लिगेसी’सहित सभापतिको उम्मेवारी दिने दाउमा शशांक छन् । तर, उनलाई उनकै परिवारभित्रका शेखरको कडा चुनौति छ । तै पनि पछिल्ला दिन बाक्लै भेटघाट गरेर शशांकले शेखर र सुजातालाई थामथुम पार्ने तथा आफूलाई समर्थन गरी बलियो क्याम्प खडा गराउन कसरत गरिरहेका छन् । शारीरिक अस्वस्थताका कारण सुजाता पछिल्लो समय राजनीतिमा खासै सक्रिय छैनन् । त्यसैले यसपटक उनले सहजै शशांकलाई ग्रिन सिग्नल दिएकी छिन् । शेखर भने बाध्यताको शिकार बन्ने खतरा छ ।

कोइराला परिवारको सक्रियतापछि पौडेल सशंकित छन् । दोस्रोपटक सभापतिको उम्मेदवार बन्ने चाहिरहेका पौडेल कोइराला परिवार र सिटौलासमेतको समर्थन चाहन्छन् । त्यो अवस्था ल्याउन भने उनले निकै धेरै पापड बेल्नुपर्ने देखिन्छ । कोइराला परिवारले जस्तै पौडेलले पनि आफ्ना पक्षधरको भेला गर्न थालेका छन् । खुलेरै पौडेलको पक्षमा लाग्ने धेरै नेता नभए पनि उनले त्यस्तो भेलामा कोइराला परिवारनिकट र सिटौलानिकटलाई बोलाउने गरेका छन् । केहीअघि पौडेलले बोलाएको एक भेलामा पुगेर कोइराला परिवारको तर्फबाट सुजाताले देउवाको विकल्प खोज्न सबै मिल्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् । त्यसबाट पौडेल उत्साही भएका थिए । तर, लगत्तै तीन कोइरालाको अर्को भेला भएपछि पौडेल खस्रिक्क परे । कोइराला परिवारको यो तयारीपछि कुम्भकर्ण झैँ सधैँ निदाउन रमाउने देउवामा अनौठो जोश देखिएको छ । उनी पनि सबै शक्ति खर्चेर आफ्नो गुट पुनर्ताजगी गर्न दौडिएका छन् । देउवा भने सिटौला पक्षलाई तान्न खोजिरहेका छन् । सिटौला पक्षलाई आफूतिर मिलाउन सक्दा सहजै निर्वाचनमा आफू हावी हुने उनको बुझाइ छ । त्यसो हुन नसके अघिल्लो महाधिवेशनमा जस्तै तीन उम्मेदवारबीच भिडन्तको अवस्था ल्याउनुपर्ने उनले आफूनिकटलाई बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्