Logo
Logo

टिंकर सडक बनाउँदै सेना



दार्चुला । दार्चुला–टिंकर सडकको माथिल्लो खण्डमा नेपाली सेनाले आउने साताबाट ट्य्राक खन्ने भएको छ । गत वर्ष सरकारले कोठेधारदेखि टिंकर भन्ज्याङसम्मको सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डको व्यास–३ तोसरपानी क्षेत्रमा खोलिएको ट्य्राक । यहाँबाट ४ किलोमिटर पर पर्ने कोठेधारबाट सेनाले अर्को सातादेखि ट्य्राकखोल्दै छ । तस्बिरः कान्तिपुरबाट

व्यास गाउँपालिका–२ स्थित कोठेधार र दुम्लिङबाट काम सुरु गर्न लागेको सेनाले जनाएको छ । सर्भेको काम सेनाले गत वर्ष नै सकेको हो । ‘कोठेधारदेखि माथिल्लो क्षेत्रमा सर्भे गर्दा ७४ किलोमिटर सेनाले निर्माण गर्नुपर्ने देखिएको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, ‘डीपीआर रिपोर्ट आइसकेको छ, अब निर्माण थाल्छौं ।’

दुईवटा साना मेसिन सुन्सेरा र दुम्लिङमा पुगिसकेकाले कामदार परिचालन गरेर तत्काल निर्माण अगाडि बढाइने उनले बताए । निर्माणस्थलमा मेसिनलगायतका उपकरण जडान गर्न सेनाको दक्ष जनशक्ति काठमाडौंबाट दार्चुला हिँड्ने तयारीमा छ । सुन्सेरामा रहेको मेसिन कोठेधार र दुम्लिङको मेसिन तल्लो दुम्लिङमा मान्छेबाट बोकाउनुपर्ने भएकाले ३र४ दिन लाग्ने देखिन्छ । कात्तिकमा हेलिकप्टरमार्फत ठूला उपकरण ढुवानी गर्ने सेनाको तयारी छ ।

सेनाले टिंकर सडकको माथिल्लो खण्ड निर्माणका लागि यसअघि नै व्यास–४ सुन्सेरा र वडा–२ को दुम्लिङमा बेसक्याम्प राखिसकेको छ । निर्माणस्थलसम्म सडकको पहुँच नहुँदा उपकरण ढुवानीमै बढी खर्च आउने देखिन्छ । अहिले टिंकर सडकमा व्यास–४ सुन्सेरासम्म मात्र गाडी चल्छ । वर्षातको समयमा त्यही बाटो पनि बन्द छ । धारीभन्दा माथिल्लो क्षेत्रमा पहिरो र सडक भासिँदा यातायात अवरुद्ध छ ।

त्यस्तै, महाकाली लोकमार्ग अन्तर्गत दार्चुला–टिंकर सडक खण्ड र तल्लो खण्डको विभिन्न ठाउँमा बहुवर्षीय ठेक्का सञ्चालनको काम भइरहेको दार्चुला–टिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । गत वर्ष सेनाले घाटीबगर क्षेत्रमा साढे ५ सय मिटर पैदलमार्ग बनाएको थियो । सेनाले निर्माण गरेकोभन्दा यता बाटो बन्द भएपछि व्यास जाने मार्ग पूर्ण रूपमा ठप्प छ । नेपालबाट बाटो बन्द भएपछि व्यास–१ छाङरु र टिंकरका बासिन्दा भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्