Logo
Logo

भूकम्पबाट क्षति भएका गुम्बा पुनःनिर्माण गर्ने बाटो खुला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृतसँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनःनिर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुला भएको छ ।


प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले पारित गरेको कार्यविधिमा पुरातत्व महत्व रहेका सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनःनिर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार)को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ ।
भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनःनिर्माण गर्दा सम्बन्धित उपभोक्ता समिति मार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिअनुसार सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनःनिर्माण कार्य स्थानीय तहमार्फत गरिने जनाएको छ ।
पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनःनिर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ ।
सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको हकमा भने पुनःनिर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उलब्ध गराउने छ । बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समितिअन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनुपर्ने व्यवस्था रहेको छ ।
भूकम्बाट क्षति भएका गुम्बाहरुको संख्या १३२० छ, जसमध्ये पुनःनिर्माण गर्नुपर्ने गुम्बाको संख्या ८९५ र मर्मत सम्भार गर्नुपर्ने गुम्बाको संख्या ४०२ रहेको छ ।


चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत
यस्तै बैठकले स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ४ स्थित तिलडाँडास्थित तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ हैबुङमा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ तारामारङमा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ स्थित गुम्सालमा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्