Logo
Logo

गोदावरी नगरपालिकाद्वारा श्रमिक परिचय पत्र वितरण


हिक्मत बम


धनगढी । जिल्लाको गोदावरी नगरपालिकाले मजदुरहरूलाई श्रमिक परिचय पत्र वितरण सुरु गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बिच नगरक्षेत्र भित्र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई परिचय पत्र वितरण गरिएको हो ।

नगरपालिकाका नगरप्रमुख हरीसिह साउँदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख र उपप्रमुख रत्ना कडायतले १० जना मजदुरलाई श्रमिक परिचय पत्र वितरण गरेका हुन् । श्रमिक परिचय पत्र वितरण गर्दै नगरप्रमुख साउँदले आफू मजदुरहरूको हक हितका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको बताए । उनले भने- असंगठित क्षेत्रमा कार्यरत मजदुरलाई परिचय पत्र वितरणले धेरै फाइदा पुग्नेछ ।

उनले अहिले निर्माण गरिएको विधानमा केही त्रुटि भएमा हामीले त्यसलाई संशोधन गर्छौ, श्रमिक परिचय पत्र वितरण समितिका संयोजक समेत रहेका नगरप्रमुख साउदले विधान कार्यविधि श्रमिकको हितमा हुने गरी बनाउन आवश्यक भएको बताए । उनले श्रमिकलाई परिचय पत्र वितरण गरेर श्रमिकको स्वास्थ्य बीमा लगायतका विषय यसमा समेटिने बताए । मजदुरबिना देशको विकास सम्भव नभएकाले मजदुरको हक हितका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको नगरप्रमुख साउँदले बताए ।

परिचय पत्र वितरण कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले श्रमिक परिचय पत्र वितरणले श्रमिक वर्गमा राम्रो सन्देश गएको बताए । उनले नगरपालिका भित्रका सबै श्रमिकको हातहातमा परिचय पत्र वितरण गर्न नगरपालिका लागिपर्ने बताए ।

नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष कृष्णराज जोशीले श्रमिकलाई व्यवस्थित रुपमा कार्यविधि बनाएर परिचय पत्र दिने गोदावरी नगरपालिका देशभरमै पहिलो भएको बताए । उनले ्राम्रो कामको सुरुवात भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहने बताए । उनले परिचय पत्र वितरणसँगै मजदुरहरूलाई श्रमिकका नियम कानुन र सुविधाका विषयमा जानकारी गराउन आवश्यक रहेको समेत बताए ।

यस्तै क्युपेक नेपालका दिपेन्द्र खत्रीले कार्यविधि अनुसार परिचय पत्र वितरण गरिएपनि त्यतिले मात्रै नपुग्ने बताए । उनले मजदुरलाई परिचयपत्रसंगै, दुर्घटना बीमा, स्वास्थ्य बीमा लगायतका सुविधा उपलब्ध गराउने गरी कोष स्थापना गर्न आवश्यक रहेको बताए ।

यस्तै काउन नेपालका धनराज जोशीले निकै लामो प्रयासपछि औपचारिक क्षेत्रमा काम गर्ने मजदुरले परिचय पत्र पाएकाले आफूहरू निकै उत्साहित भएको बताए । उनले आगामी दिनमा विधानमा आवश्यक संशोधन गरेर मजदुरलाई थप सुविधा दिनुपर्ने बताए । नगरपालिकाले २०७६ सालमा श्रमिक परिचय पत्र वितरण कार्यविधि तयार पारेको थियो । सोही कार्यविधि अनुसार नगरपालिकाले २०७७ फागुनदेखि श्रमिक मजदुरहरूको फारम भर्न सुरु गरेको थियो । तर, कोरोना महामारीका कारण सो काम रोकिएको थियो ।

नगरपालिकाले नगरक्षेत्र भित्र रहेका ट्रेड युनियनहरू क्यूपेक, काउन र अंकु नेपाल मार्फत फारम सङ्कलनको काम गरिरहेको छ । श्रमिक परिचय पत्र वितरण समितिका सदस्य सचिव शिवराज भाटले हाल नगरपालिकामा ५० वटा श्रमिक परिचय पत्र वितरणका लागि तयार भएको र जसमध्ये १० जनालाई उद्घाटन कार्यक्रम मार्फत वितरण गरिएको जानकारी दिए । उनले अन्य थप एक सय जना श्रमिकका फर्म पनि नगरपालिका कार्यलयमा जम्मा भइसकेको बताए ।

गोदावरी नगरपालिकाले परिचय पत्र वितरणका लागि नगर प्रमुखको संयोजकत्वमा नौं सदस्यीय समिति बनेको छ । समितिले कसलाई परिचय पत्र दिन भनेर निर्णय गर्छ । सोही अनुसार परिचय पत्र वितरण हुन्छ ।

संगठित क्षेत्रमा काम गर्ने मजदुरलाई काम गर्ने संस्थाको परिचय पत्रको आधारमा वडाको सिफारिस ल्याएमा परिचय पत्र दिने व्यवस्था रहेको र असंगठित क्षेत्रमा काम गर्नेको हकमा विभिन्न ट्रेड युनियन मार्फत भरेको फारमका आधारमा वडा कार्यालयले सिफारिस गरेमा परिचय पत्र दिने व्यवस्था रहेको बताइन्छ । श्रमिक परिचय पत्र लिनका लागि नगरपालिकाले २५ रुपैयाँ शुःल्क तोकेको छ । नगरपालिकाले वितरण गरेको श्रमिक परिचय पत्रमा श्रमिकको नाम ठेगानासंगै श्रमिकले गर्ने कामको प्रकिृतिसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्