Logo
Logo

सुन भनेर १९ लाखमा फलाम बेचियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ बैशाख ।
सस्तोमा सुन बेच्ने भनेर एक समूहले फलाम दिएर १९ लाख रुपैयाँ लुटेको छ । सो समूहका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
। पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका(६ बस्ने ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका(३ बस्नेहरु २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।
काठमाडौ जिल्लाका विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा दिई ठगि गरेको भन्ने गुनासो आएको तथा राजेश विकले सामाखुसी रानिवारीमा पुस १२ गते आधा किलो सुन सस्तो भन्दै १९ लाख रुपैयाँमा खरिद गरेकोमा फलाम परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई उक्त कार्यमा प्रयोग हुँदै आएको वा.२ ज १८४१ नम्बरको ट्याक्सी सहित उनीहरुलाई पक्राउ गरेको हो ।


उक्त ठगी गरेको रकम मध्ये पूर्णबहादुरले ९ लाख ५० हजार रुपैयाँ, चन्द्रबहादुरले ३ लाख ५० हजार रुपैया तथा प्रविन र सुवासले ३र३ लाख रुपैयाँ बाँडफाड गरी लिएको खुल्न आएको छ ।

प्रहरीका अनुसार तामाङ र श्रेष्ठत्रयले फलामको चारवटा टुक्रालाई सुन राख्ने थैलीमा राखेका थिए । त्यसलाई पहेँलो रुमालले पोको पारेका थिए । राजेशलाई भेट्दा उनीहरूलाई सुनको थैलीभित्र पोको पारिएको टुक्रा मात्रै देखाएर भने, ‘यो कालो सुन हो ।’ तर, पोको खोलेर देखाएनन् । सस्तोमा पाइने भएपछि राजेश लोभिए । उनले तत्काल १९ लाख रुपैयाँ बुझाएर थैली लिए ।

त्यसवेला उनलाई भनिएको थियो, ‘पोको घर पुगेपछि मात्रै खोल्नू ।’ राजेशले घर पुगेर मात्र पोको खोले । पोकोभित्र कालो फलामको टुक्रा भेटिएपछि राजेश रन्थनिए । विश्वास नलागेपछि उनले टुक्राको परीक्षण पनि गरे । सुन भनेर किनेको टुक्रा फलाम प्रमाणित भएपछि राजेशलाई बल्ल ठगिएको अनुभूति भयो । लगत्तै प्रहरीमा उजुरी गरे । सोही उजुरीपछि चार अभियुक्त पक्राउ परेका हुन् ।

सस्तोमा सुन बेच्ने भनेर ठगी गर्ने समूह नै सक्रिय रहेको प्रहरीले जनाएको छ । यस्तो समूहले सस्तोमा डलर साट्ने भनेर ठगी पनि गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्