Logo
Logo

सडकले नछोएको हुम्ला : यातायातको एकमात्र विकल्प हवाई उडान


- दृष्टि न्युज/संवाददाता


हुम्ला, ४ बैशाख । राष्ट्रिय सडक सञ्जालले हुम्लालाई अझ जोड्न सकेको छैन । हुम्लाका नागरिक प्रदेश राजधानी पुग्न प्रदेश नं ५ भएर जाने गरेका छन् । यातायातको एकमात्र विकल्प हवाई उडान रहेको छ । कर्णाली प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोट बीच प्रत्यक्ष सम्पर्क जोडिएको छैन ।
हुम्लाका बासिन्दाले आफ्नो प्रदेशको केन्द्र पुग्न नियमित प्रदेश नं ५ को नेपालगञ्ज भएर आवतजावत गर्ने गरेका छन् । हुम्लामा उडान भर्ने निजी हवाई कम्पनीले सुर्खेत—सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेशको केन्द्रसँग हुम्लाको सदरमुकाम प्रत्यक्ष सम्र्पक नजोडिएको हो ।
निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट मात्र यात्रु उडान गर्दै आएका छन् । केही समय पहिले सीता एयरले कर्णालीका हुम्ला, मुगु, डोल्पा, र जुम्लामा सुर्खेतदेखि नियमित यात्रु उडान गर्ने तालीका निकालेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको शुरुआत भएकोे घोषणा गरेका थिए । प्रदेशको केन्द्र सुर्खेतसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि बेवास्ता गरेको छ ।
संघ र प्रदेश दुवै सरकारले ध्यान नदिँदा प्रदेश नं ५ को नेपालगञ्ज हँुदै कर्णाली प्रदेश जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ । सुर्खेतबाट हुम्ला, मुगु डोल्पा, र जुम्ला उडान नभएपछि यात्रु नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्