Logo
Logo

स्वास्थ्यकर्मी अस्मिताको न्याय माग्दै नगरपालिका घेराउ


हिक्मत बम


धनगढी । अस्मिता धामीको हत्या भएको ६६ दिन पुग्दा पनि हत्यारा पत्ता नलागेको भन्दै आफन्तले परशुराम नगरपालिका घेराउ गरेका छन् ।

कोरोनाको खोप लिएर डडेलधुराको जोगबुडा अस्पताल हिँडेकी धामीको हत्या भएको लामो समय भइसक्दा पनि हत्यारा पत्ता लगाउन नसेकेको र स्थानीय सरकारले परिवारसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै आफन्तले नगरपालिका घेराउ गरेका हुन् ।

नगरपालिकाले पीडित परिवारलाई सात लाख ५० हजार र वडाबाट दुई लाख ५० हजार राहत दिने निर्णय गरेको भएपनि हालसम्म राहत नदिएको आरोप अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले लगाएको छ ।

अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भएपनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको समेत उनीहरूको गुनासो छ ।

गत असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको भएपनि ठोस् प्रमाण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु प्रहरीको कमजोरी भएको समेत समितिले निष्कर्ष निकालेको छ ।

यता, प्रहरीले भने थप प्रमाण जुटाउन भिसेरा रिपोर्ट कुरेको भएपनि हालसम्म रिपोर्ट प्राप्त नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्