Logo
Logo

विरोधीप्रति आक्रामक बन्दै तालिबान, घरघरमा पुगेर बदला



काठमाडौं । अफगानिस्तानलाई नियन्त्रणमा लिएलगत्तै गत मंगलबार पहिलो पटक राजधानी काबुलमा पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारी अधिकारी तथा यसअघिका आफ्ना विरोधीहरूसँग बदला नलिने बरु आममाफी दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले महिला अधिकार र प्रेस स्वतन्त्रताको पनि रक्षा गर्ने विश्वास दिलाएका थिए ।

तर त्यसको एक साता नपुग्दै तालिबानीहरू सरकारी अधिकारी तथा अमेरिकी सैनिक नेतृत्वको नेटो फोर्ससँग काम गरेका कामदारप्रति आक्रामक बन्न थालेका छन् । हतियारधारी तालिबानी लडाकु सरकारी अधिकारी तथा नेटो फोर्सलाई सहयोग गरेकाहरूको घरघरमा पुगेर आक्रमण गर्ने तथा उनीहरूका परिवारलाई धम्की दिन सुरु गरेका छन् ।

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको गोप्य कागजातमा तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको उल्लेख गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘जबसम्म उनीहरूले तालिबानसँग आत्मसमर्पण गर्दैनन्, उनीहरूका तर्फबाट परिवारका सदस्यलाई गिरफ्तार गर्ने, मुद्दा चलाउने, सोधपुछ गर्ने र सजाय दिइनेछ।’ तालिबानको कालो सूचीमा रहेकाहरूको जीवन खतरामा रहेको र त्यहाँ ठूलो संख्यामा नागरिकको हत्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

उनीहरूको भनाइ र गराइमा देखिएको भिन्नताले तालिबान नियन्त्रित अफागानिस्तानमा पुनः त्रासको वातावरण सिर्जना भएको छ । डरका कारण अफगान नागरिकबीच देश छोड्ने प्रतिस्पर्धा भइरहेका बेला तालिबानीहरूले आफ्नै प्रतिबद्धताविपरीतका गतिविधि गर्न थालेपछि त्यहाँ जटिलता थपिन सक्ने देखिएको छ । तालिबानको डरले अमेरिकी सेनाको विमानमार्फत देश छोड्ने प्रयास गर्दा केही व्यक्ति विमानबाट खसेर मृत्यु वरण गरेका छन् । देश छोड्न भागदौड गर्ने क्रममा भएको गोलीबारीमा परेर समेत दर्जन बढीले ज्यान गुमाएका छन् ।

अहिले पनि अफगानिस्तान छोड्न चाहने मानिसको संख्या निकै छ । काबुल विमानस्थल बाहिरको अवस्था अस्तव्यस्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले एकातर्फ तालिबान लडाकुले देश छोड्न खोज्ने अफगानीलाई रोकिरहेका छन् भने अर्कोतर्फ अफगानी नागरिकले विभिन्न सहरमा राष्ट्रिय झन्डासहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा तालिबान लडाकुले गोली चलाउँदा ठूलो मात्रामा हताहती भएको बताइएको छ ।, यो समाचार नागरिक दैनिबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्