Logo
Logo

महिलाले दागबत्ती दिएर गरे अन्तिम दाहसंस्कार


हिक्मत बम


धनगढी । महिलाले अन्तिम संस्कार गर्न नहुने भन्ने पुरानो मान्यता छ । तर, कैलालीमा महिलाको एक समूहले आफैले शव बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार गरेका छन् ।

उनीहरुले हालसम्म ११ शव आफैले काँधमा बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार गरिसकेका छन् । धनगढीस्थित दृष्टी फाउण्डेसनका महिलाले पुरानो परम्परा तोड्दै बेबारिसे मृतक महिलालाई दागबत्ती दिदै आएका छन् ।

तीन वर्ष अघि डडेल्धुराबाट दुई बच्चासहित उद्धार गरेर दृष्टी फाउण्डेसमा सहारा दिदै आएकी ३६ वर्षीय महिलाको बिहीबार मृत्यु भएपछि दृष्टी फाउण्डेसनका महिलाले उनको अन्तिम संस्कार गरेका हुन् ।

उनको ७ र ५ वर्षका दुई बच्चा रहेको दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताए । उनले भने, ‘तीन वर्ष अघि डडेल्धुराबाट उद्धार गरेर दृष्टी फाउण्डेसनमा सहारा दिएका थियौं । केही दिनदेखि बिरामी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा राखेका थियौं। विहीबार उनको मृत्यु भयो शुक्रबार हामीहरुले अन्तिम संस्कार ग¥यौं ।’

उनले सडकमा अलपत्र महिलालाई उद्धार गरेर हामीले धनगढीस्थित दृष्टी फाउण्डेसनमा राख्ने गरेको बताउँदै मृत्यु भएपछि फाउण्डेसनका महिलाले नै सुरुदेखि अन्तिम संस्कारसमेत गर्ने गरेको बताए ।

दृष्टी फाउण्डेसनकी चन्द्र तिरुवाले पुरानो रुढीबादी परम्परा तोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन अभियान थालिएको बताए । उनले हालसम्म ११ जना असाहाय महिलाको शव आफैले दाहसंस्कार गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्