Logo
Logo
महाकाली तुइँन प्रकरण

अझै भेटिएनन् धामी, अनुसन्धान समिति सदस्य भट्ट दिल्लीमा


हिक्मत बम



धनगढी । गत १५ साउनमा तुइँनबाट महाकाली नदी तर्ने क्रममा भारती एसएसबीले तार काटिदिएपछि नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका- २, मालगाउँका जयसिंह धामी अझै फेला परेका छैनन् ।

छानबिन समितिले पनि तोकिएको अवधिसम्म नतिजा दिन सकेन । साउन १७ गते पहिलो पटक १० दिनमा रिर्पोट सार्वजनिक गर्ने गरी घटनाको अनुसन्धानका लागि सरकारले गृह मन्त्रालयका सह-सचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन ग¥यो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

तर, दार्चुलाको तुइँन घटनाको प्रतिवेदन सार्वजनिक नहुँदै अनुसन्धान समिति सदस्य रहेकी दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भारतको दिल्ली पुग्नुभएको छ ।

तेस्रो पटक म्याद थप्दा पनि समितिले प्रतिवेदन दिन नसक्नु र अनुसन्धान नसकिँदै समिति सदस्य भारतको दिल्ली पुग्नुलाई रहस्यपूर्ण ढङ्गले हेरिएको छ । भारतले बेपत्ता धामीको खोजीका लागि ड्रोन उडाउन पनि अनुमति दिएको थिएन । जिल्ला प्रशासन कार्यालय दार्चुलाका एक कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली गएको पुष्टि जानकारी दिए ।

‘अनुसन्धान समिति काठमाडौँ फर्किएको केही दिनपछि उहाँ पनि काठमाडौँ जानुभएको हो, त्यसपछि उहँ त्यहीबाट दिल्ली जानुभयो’ उनले भने, ‘के कति कामले हो थाहा भएन तर उहाँ दिल्ली जानु भएको छ ।’

यता, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी भने सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली नगएको जिकिर गरे । ‘उहाँ घटनाको अनुसन्धान समिति सदस्य हुनुहुन्छ, घटनाको अनुसन्धानको लागि समिति खटिएको छ, उहाँ त्यही कामले काठमाडौँ जानुभएको हो’, जोशीले भने ।

समितिको सदस्य रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली गएको बारे आफूलाई जानकारी नभएको अनुसन्धान समिति संयोजक जनार्दन गौतमले बताए । धामी बेपत्ता भएको सात दिनपछि घटनाको छानबिन गर्न आएको समिति भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्कियो । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थलको निरीक्षण पनि ग¥यो ।

भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोलीले व्यास गाउँपालिका-२, मालगाउँ गएर पीडित परिवार र गाउँलेहरूसँग पनि छलफल ग¥यो । समितिको समयअवधी सकियो तर समितिले प्रतिवेदन बुझाउन सकेन । दोस्रो पटक २६ साउनमा अनुसन्धानका लागि सात दिन म्याद थप भयो । तर त्यो समयमा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले बुधबार तेस्रो पटक समिति म्याद थपेका छन् ।

गत १५ साउनमा सदरमुकाम खलङ्गा आउन तुइँन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्यास गाउँपालिका–२, मालगाउँका धामी महाकालीमा बेपत्ता भएका थिए ।

अझै भेटिएनन् धामी

नदी तर्नेक्रममा १५ साउनमा दार्चुलाको व्यास गाउँपालिका-२, मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइँन चुँडाइदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भए । उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोली खटिएका छन् ।

‘गाउँबाट दार्चुला सदरमुकाम जान हिँडेका धामी शुक्रबार विहान भारतको बाटो हुँदै तुइँन तर्दै थिए, प्रत्यक्षदर्शी जनक सिंह धामीले भन्नुभयो, ‘तुइँनबाट किन तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइँन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिए, भारतीय सुरक्षाकर्मीको ज्यादती निकै बढेको छ, हामी सास्ती भोग्दै छौँ ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बेपत्ता धामीको खोजी कार्य जारी रहेको बताए । ‘हामीले घटना भए लगत्तै उनको खोजी कार्य सुरु गरेका थियौँ, अहिलेसम्म भेटेका छैनौँ, खोजी कार्य जारी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्