Logo
Logo
साहित्य

कविता- खै, कहाँ छ त्यो इन्द्रेनी ?


वसन्त लोहनी



जहाँ फूल फूल्छ
मन कोमल हुन्छ
सृष्टिको सुन्दरताको
त्यही बास हुन्छ

चुरे भत्काएर न थाकेको मान्छे
नदीको थलो झिकेर नअघाएको तिर्खा
आकाशमा जोतिएको उब्जनी खान
पर्खिँदै आएको मेरो जीवन
बोलीले बाटेको डोरिमा
बाँधिएको छ
डोरी अझ कसिदै जाँदा पनि
न म निस्कन सक्छु
न यसरी कसिदै जान सक्छु

उन्मुक्तिको लागि जन्जिर तोड्न मसाल बोकेकाले
मेरो घरमा आगो लगाए
सलह बनेर खेत नाङ्गो पारे
सपनाको इन्द्रेनी देखाएर
लोभी वासना पुरा गर्न
लोभको बाहुपाश जकेडी रहेछन्
मलाई उन्मुक्ति चाहियो

मेरै लागि, मेरै निम्ति मेरो अभिव्यक्ति भनेर कस्दा
उनीहरूलाई सास फेर्ने फुर्सद छैन
मलाई सास फेर्न गाह्रो भो

काकाकुलले सोसेको मेरा नदीहरू
पाषाण हृदयबाट फुलेका क्याक्टसका फूलहरू
मरुभूमि हुँदै गएका मेरा पाखाहरू
काम नलाग्ने भनेर छोडिएका बालुवाका धुलोहरू
उडेर मैलो बनेको आकासमा
खै कहाँ छ सपनाको इन्द्रेनी
तातो हावाले मात्र होइन
तातो बालुवाले पोलिरहेको छ मेरो वदन
देखाएको सपनाको इन्द्रेनीले
मेरो दुखसुखको बिपना चकनाचुर पार्यो
खै, कहाँ छ त्यो इन्द्रेनी ?

प्रतिक्रिया दिनुहोस्