Logo
Logo
साहित्य

व्यङ्ग्यमा पनि शालिनताः सूनको टप



आफ्नै आँखा अगाडि
मृत्युले ताण्डव मच्चाइरहँदा
सवलाङ्ग हुँदाहुँदै पनि
घिर्सान सकेका थिएनन् आफ्नै शरीरहरु ।

‘मेरो बैंसको क्यालेण्डर’ कवितासङ्ग्रहका चर्चित कवि सुमन घिमिरेको नयाँ कविता सङ्ग्रह ‘सुनको टप’ भर्खरै प्रकाशित भएको छ । एक दशकको अन्तरालमा आएको यो कृतिको बीचमा मौनता उपन्यास प्रकाशनमा ल्याएर उनी आख्यान विधामा पनि दर्ज भएका छन् । धेरै लेखेरमात्र चर्चित होइन्छ भन्ने भ्रमबाट टाढा रहेर सिर्जना गर्ने घिमिरे सचेत भएर सिर्जना गर्न रुचाउँछन् ।

त्यसो त उनी आफ्नो पर्यटन व्यवसायबाट निक्लेको समयलाई सिर्जनामा लगाइरहेका छन् । तीन दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेका उनका पुस्तक किन थोरै भए ? भन्ने प्रश्नको जवाफ, उनका सिर्जनाले दिएका छन् । र, आख्यानको क्षेत्रमा पनि एउटै उपन्यासले उनलाई आख्यानशिल्पीको रुपमा परिचित बनाएको छ । कवितामा उनी वढी सरलता र सुबोध्य कविता लेख्न रुचाउँछन् । त्यसैले उनी जनमनमा बस्न सफल कविका रुपमा परिचित छन् । हामीले उनका नियात्रा र कथाहरु पनि पढेकाछौं, अब छिट्टै सङ्ग्रहको रुपमा पनि आउँने नै छ ।

देश, काल, परिस्थितिसँग उनी पनि परिचित नै छन् । त्यसैले उनका कविताका विषय पनि यी नै हुन् । सरल र सभ्य कवितामार्फत शासक वर्गलाई सावधान गरिरहेको छन् । सिमानामा भैरहेका अतिक्रमणले उनको मन दुुखेकोछ । शासक वर्गलाई किन दुख्न नसकेको हो ? उनी चकित छन् ! ती आवाजलाई उनले कवितामार्फत उठाएका छन् । उनी उनका कविता जस्तै सरल छन् । र त, कविता पनि त्यस्तै लेखेका छन् ।

कवितामार्फत उनी कसैको मन दुखाउन चाहँदैनन् । तर स्वाभिमान बन्दकी राखेर गरिएका कार्यप्रति चनाखो छन् । ती आवाजलाई कविताका माध्यमबाट सबैलाई सचेत गर्न खोजिरहेका छन् । एउटा सच्चा नागरिकको भूमिकामा सशक्त कविताका आवाज थपिरहेका छन्, सुमनले ।
सर्जकले सिर्जनामात्र गरेर हुँदैन । ऊ आफै पनि सच्चिनु जरुरी देखिन्छ । जसरी सूर्यको किरणले आफू दुषित नभैकनै संसारका सबै दुषितलाई नष्ट गर्दछ । हो, एउटा सर्जकको काम पनि त्यस्तै हुनु पर्दछ ।

सुमन घिमिरेका कविता पनि त्यस्तै सूर्यका किरणका रुपमा रहेका छन् । चाहे त्यो ‘मेरो बैंसको क्यालेण्डर’ का कविता हुन् या ‘सुनको टप’ । यस्तै सचेत भएर लेखेका कविताले नै घिमिरेलाई कविताको भिडमा पनि अलग्गै चिनिने पहिचान बनाएको छ । एकचालिस ओटा कविताहरुको सङ्ग्रह ‘सुनको टप’भित्रको अन्तिम कविता हो ‘सुनको टप’ शीर्षकको कविता । यही कविताबाट किताबको शीर्षक जुरेको छ । राष्ट्र र राष्ट्रियताको बुलन्द आवाजले भरिएको यो कविता पढिरहँदा हाम्रो वर्तमान समाज पढिरहेझैँ लाग्छ । राष्ट्रियता बेस्सरी दुःखिरहन्छ ।

हरेक शासकले नवुझेका सिमानामा बसोबास गर्ने नागरिकको पीडाले दुःखेका घाउ कवितामार्फत प्रस्तुत भएका छन् । नेपाल आमाको कानमा सुनको टप लगाइदिन रहरले एउटा कविता सङ्ग्रह जन्मेको छ, वर्तमान समयको अत्यन्त बलशाली यी कविताले युगौंयुगसम्म पनि वर्तमान समयका आवाजहरुलाई बुलन्दरुपमा उठाउने काम गरेको देखिन्छ, सुनको टपमा ।

आमाको अहिलेको फोटोमा
देखिएजस्तै कान
आमाले हातले छाम्दा पनि भेटिने होस्
मलाई यसपालि
एउटै भए पनि
आमाको कानमा
सूनको टप लगाइदिने मन छ ।

यो कविताको सन्दर्भ र यसमा प्रस्तुत भएको इच्छा कविकोमात्र नभएर हामी सबैको हो । यसमा पश्चिमको सीमाको केही भाग (नक्सामा चुच्चो देखिएको) पहिले हाम्रै थियो, पछि नक्साबाट कसले हटायो, अहिले पुनः थपियो । नेपाल आमासँग गरिएका यस्ता घृणित खेल खेल्ने हाम्रा राजनीतिज्ञहरुलाई शालिन र सभ्य भाषामा सम्झाउँन खोजेका छन्, कविले कवितामार्फत ।

देश र स्वाभिमान सधै उच्च राखेर लेखिएको सुनको टपभित्रका कविताहरुले मौनतामा रहेर पनि क्रान्ति गर्न सकिन्छ है भन्ने मूल कुराको उठान गरेको छ । सिमानामा बस्नेहरुलाईमात्र देश नदुखोस्, सिंहदरवारमा बस्नेहरुलाई पनि देश दुखोस् भन्ने आवाज सुनको टपमार्फत सिंहदरवारमा बस्नेहरुसम्म पुगोस भन्ने चाहन्छन् ।

मान्छेमा सम्बन्धहरु राम्रो हुन्जेल सबै अधिकार चल्ने तर, सम्बन्ध बिग्रिएपछि सबै भताभुङ्ग हुने सामान्य मानवोेचित अधिकार पनि नरहने कुराको मिठो व्यंङ्ग्यात्मक कविता सूनको टपभित्र पढ्न सकिन्छ । आफ्नो स्वार्थमा गरिने नेपाली राजनीतिले हामीलाई सकसमा पारेका धेरै उदाहरणहरु छन् । कहिले नाकाबन्दी गराएर, कहिले नेपालबन्द गराएर, कहिले के कहिले के ? यसको प्रत्यक्ष असरले थला परेका कर्मठ पाखुरीले विदेशी भूमिमा सिन्चेका पसिनाको मूल्यको के अर्थ ? एउटा बाउ छोराछोरीको भविश्यका खातिर ५०–६० डिग्रीकोे रापमा सेकिई रहेको छ, ऊ त्यहीबाट नेपालको हालखवर बुझ्छ निरास बन्छ ? यसको जिम्मेबारी कसले लिने हो ? सुनको टपमार्फत उठेका यी बुलन्द आवाजहरुको सम्बोधन कसले गर्ने हो ? यस्तै अर्को गम्भिर प्रश्न कवितामार्फत उठेका छन् ।

मान्छे
घरी कुकुर भइदिन्छ
घरी गधा भइदिन्छ
तर कुकुर कदापि मान्छे हुँदैन ।

समयले मान्छेलाई दिएका क्रुर यातनालगायत, सीमान्तकृति मान्छेका आवाज सुनको टपमार्फत उठेका छन् । राजनीतिज्ञको अर्कमन्यताले निम्ताएको दुःखद परिवेशसँगै प्रकृतिमा रम्ने सबै प्राणीको अधिकार हुन्छ । त्यसकारण सबैलाई उत्तिकै माया र सद्भाव दिन सक्नुपर्छ भन्ने सन्देश सुनको टपमार्फत व्यक्त भएका छन् ।

भर्चुअल संसारमा चलेको वर्तमान युग तथा कोरोना कहरले ध्वस्त बनाएको हाम्रो दैनिकी छिट्टै अन्त त होला तर, राजनीतिको कहरको चपेटाबाट हामीले कहिले मुक्ति पाइएला ? ढुक्कसँग हामी आफ्नो सिमानामा घुम्ने दिन कहिले आउँला ? आफ्नो छोराछोरीको भविष्यको खातिर विदेश गएको बाबुको शव बन्द बाकसमा बन्द भएर आउने श्रृङ्खला कहिले रोकिने हो ? यी र यस्ता धेरै प्रश्नहरुको उत्तर सिंहदरवारसँग माग्ने क्षमता बनाएको सुनको टपभित्रका कविताहरु पठनीय र मननीय छन् । यस पुस्तकलाई गोरखा पब्लिकेशन्स प्रालि प्रकाशनमा ल्याएको हो ।

एउटा चराले
सोधेछ बन्दकर्तालाई–
‘बन्द रहेछ आज,
म उड्न पाउँछु कि पाउँदिन ?’

प्रतिक्रिया दिनुहोस्