Logo
Logo

हावाहुरी र चट्याङले एकको मृत्यु, करोडौँको क्षति


- दृष्टि न्युज/संवाददाता


गाईघाट, ४ वैशाख । गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ ।
रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङका कारण मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख(एसपी) चन्द्रदेव राईले बताए ।
मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिने पनि प्रहरी प्रमुख राईले बताए । हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।
हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–३ हँडियाका सुरेश चौधरीले बताएका छन् ।
यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताउनुभयो । हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए ।
कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए । हावाहुरीले गएराति उदयपुरको त्रियुगा नगरपालिका गाईघाटको बसपार्क मोतिगडा क्षेत्र खैजनपुर क्षेत्रमा खरका छाना भएका घरको छानो समेत उडाइदिएको छ भने कतिपय स्थानीयवासीको टिनको छानोसमेत उडाएर क्षति पु¥याएको प्रहरी तथा स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्