Logo
Logo

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का



काठमाडौं । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् ।

युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५-० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए । शेर्पाले आज सेमिफाइनल खेल्नेछन् ।

यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गर्नुभएको छ । उनी सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी भएका छन् । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन् । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्