जिरो सम् गेम र डा. चौथाइवाले « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

जिरो सम् गेम र डा. चौथाइवाले


वसन्त लोहनी


प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर जनै पूर्णिमाको दिन काठमाडाँैमा आएका छन् । प्रधानमन्त्री देउवासँगको जनै पूर्णिमाको दिन भेटघाटको फोटो राखेर उनले ट्वीटमा भनेका छन्– ‘भारत र नेपालबीच विद्यमान सम्बन्ध अझ मजबुत पार्नको लागि छलफल सकारात्मक भएको छ ।’ उनले घोडेजात्राको दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर त्यस्तै फोटो राखेर त्यस्तै आशयको ट्वीट गरेका थिए । चारदिने बसाइमा नेपालको शीर्षनेताहरूसँग यस्तै छलफल गरेर नेपालको असन्तुलित राजनीतिलाई नजिकबाट ठम्याउने उनको प्रयास रहने बुझिएको छ ।

नेपालको सम्बन्ध दक्षिणी छिमेकीसँग मूलतः संस्कृतिक र धार्मिक कारणलेगर्दा जनस्तरमा भारत भन्ने देश नै नभएको बेलादेखि अत्यन्त सौहार्दपूर्ण रहदै आएको छ । सधै स्वतन्त्र रहेको नेपाल र २०० वर्ष ब्रिटिस इन्डियाले शासन गरेको कारणबाट निसृत प्रवाहले यो जनस्तरको प्रगाढ सम्वन्ध जसरी राज्यस्तरमा सिंचित हुनुपर्ने हो त्यो हुन सकेन ।

यसले गर्दा बल मिचाई गर्न पाउने ठूलो मुलुकको अघोषित अधिकार र सानो मुलुकले त्यसलाई झेल्नुपर्ने र जे जस्तो अवस्थामा पनि ठूलो मुलुकलाई रिझाउनुपर्ने नियतिको रुपमा नेपाल–भारत सम्बन्ध परिभाषित हँुदै आयो । त्यतिबेलाको विश्व शक्ति बनेको ब्रिटिसले अवलम्बन गरेको उपनिवेशवादी परराष्ट्र नीति स्वतन्त्र भारतले परिस्कृत स्वरूपमा अवलम्बन गर्दै आएको कारण नेपाल–भारत सम्वन्धले मजबुत बुनियादी कहिले पनि फेला पार्न सकेको छैन । यो धरातलीय यथार्थता हो ।

चेतनाको लहरले राष्ट्रियतामा भएको व्यापक वृद्धि र फैलिएको प्रविधिलेगर्दा अब अनकन्टार छैन आजको विश्व । प्रविधिले गाउँ बनेको विश्वमा अन्तर्राष्ट्रिय राजनीति र कूटनीति सरल रेखामा पनि हिँड्दैन । अहिले एक ध्रुवीय विश्व भए पनि बहुध्रुवीय क्षेत्रहरू बनेका छन् । हरेक क्षेत्रमा खेलाडीहरू थपिएका छन् । टाढा टाढाबाट खेल सञ्चालन गर्न सकिने भएको छ । यो परिवेशमा सधै भनिने थेगो सरहको ‘दुई देशबीच विद्यमान प्रागाढ सम्बन्धलाई यो भ्रमणले अरू मजबुत पारेको छ’ भन्ने कुटनीतक भाषाले सधै थेग्ने या पर्दाको काम गर्न सक्तैन ।

यस पृष्टभूमिबाट यथार्थलाई अबलोकन गर्दा डा. चौथाइवालेको काठमाण्डौ आगमन यस अघिको ओली सरकारलाई भारतीय संस्थापन पक्षले भरथेग गर्दा गर्दै र टेको लगाउदा पनि जसरी सत्ता परिवर्तन भएर अहिले देउवाको गठबन्धन सरकार बन्यो त्यसको स्थिति विश्लेषण गर्ने रहेको बुझिएको छ । स्मरण रहोस्, भारतले नेपालको संविधान २०७२ रोक्न हरसम्भब उपाय गर्यो ।

हालको परराष्ट्रमन्त्री र तत्कालीन परराष्ट्र सचिव एस जयशंकरलाई नेपाल पठाएर धम्कायो पनि । तर, त्यतिबेलाको नेपालको राजनीतिक ग्रह मिलनले गर्दा संविधान जारी भयो । त्यसपछि नेपाली जनताले भारतीय नाकबन्दी भोग्नु परेको थियो । जनताको भारत प्रतिको यो आक्रोशको बलमा ओली दोस्रोपटक प्रधानमन्त्री हुन सकेका थिए । आँखाको कसिंगर बनेका, अझ चुच्चे नक्सा जारी भएपछिका ओलीलाई, लामो खेल पछि आफ्नो चंगुलमा ल्याएको थियो भारतीय संस्थापनले ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, परराष्ट्र सचिव हर्ष बर्धन आए । त्यसपछि भारती खुफिया प्रमुख सामन्त गोयल लकडाउनको बेला गोप्यरूपमा कात्तिक ४ गते आएर ओलीसँग मध्यरात वालुवाटर डिल गरेका थिए । त्यस चरणको अन्तमा करिब दुई महिना पछि स्थिति विश्लेषण गर्न डा. विजय चौथाइवाले मंसिर २६, २०७७ मा नेपाल आएका थिए ।

यसै योजनाअन्तर्गत ओलीले दुईतिहाइको बहुमत भत्काउँदै गए । भारतीयलाई नागरिकता बाँडेर सत्ता लम्बाउने खेल सुरु भयो । यसको लागि अध्यादेशीय शासन लागू भयो । दुईपटक संसद् विघटन भयो । यो सब हुँदा नेपालमा जताततै भारतीय ‘इन्भिजिएबल ह्यान्ड’ अर्थात् अदृष्य हातहरू देखिन थाले । यसको विरोध भारतमा पनि प्रशस्त भयो ।

स्वार्थ परिपूर्तिको लागि गरिएको हस्तक्षेप यसरी सबैले दख्ने गरेर गर्नु भएन भन्ने आवाज भारतमा घन्कियो । सर्वोच्च एक्टिभ भयो । पाँच पूर्वप्रधानमन्त्रीहरू राष्ट्रिय मुद्दामा एक ठाउँमा उभिए । यसको असर धेरैै ठूलो भयो । एकविरुद्ध अर्कोलाई लगाएर सबैलाई खेलाएर नेपालमा माइक्रोम्यानेज गर्दै आएको भारतको लागि यो ठूलो धक्का भयो ।

एस जयशंकरले संविधान रोक्न नसकेको जस्तै असर भयो, भारतीय संस्थापनको गेमप्लानमा । बाबुरामजीले त्यसै मेसोमा भारतीय पत्रिका ‘हिन्दू’मा अर्को एकजनासँग मिलेर लेख लेखे– नेपालमा प्रजातन्त्र संकटमा भन्ने शीर्षकमा । डा. चौथाइवाले आक्रोशित भएर त्यसको जबाफ दिए ट्वीटबाट । त्यतिबेला मैले चौथाइवालेलाई ट्वीटबाट जबाफ दिएको थिए– ‘घाम जत्तिकै छर्लङ्ग छ भारतीय संस्थापनले नेपालको राजनीतिलाई माइक्रोम्यानेज गरिरहेको । यही कुरो बाबुरामजीले लेख्दा आक्रोशित हुनुपर्ने किन ? आफ्नो धारणा त लेख्न छुट त सबैलाई छ ।’

यहाँनिर मलाई अर्को अचम्म लागेको छ, ओलीजी, प्रधानमन्त्री हुँदा ‘स्क्रिप्ट’ अनुसार आफू गइरहेको हुँदा निकै हल्लाखल्ला साथ पररष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाइ दिल्ली पठाए, मोदीलाई भेट्न र चिठ्ठी दिन । बताइए अनुसार त्यो चिठ्ठी नेपाल भारत विचको सम्वन्धलाई अझ प्रगाढ र मजबुत बनाउनको लागि थियो । तर हाम्रो परराष्ट्रमन्त्रीले मोदीलाई भेट्नसम्म पाएनन् र अपमानित भएर फर्कनु परेको थियो । यो कस्तो ‘डिप्लोम्याटिक रेसिप्रोसिटी’ हो ।

अहिले भारतीय संस्थापन पार्टीको विभागीय प्रमुख भेट्न हामीकहाँ तछाडमछाड छ । सरकारसँगको सहकार्य हो भने त भारतीय परराष्ट्रमन्त्री आउनुपर्ने होइन र ? यिनले सरकारसँग होइन, नेपाली कांग्रेसको परराष्ट्र कमिटीको प्रमुखसँग भेट्नुपर्ने हो ।

कति खेलाउने प्रगाढ सम्बन्द मजबुत पर्नको लागि भनेर ? नेपाल कहिले कसैको अधिनमा नरहेको र दक्षिण एसियाको पुरानो मुलुक हो । यो योद्धहरूको मुलुक हो । यो मुलुकको ‘इनडोजेनियस स्ट्रेन्थ’ अर्थात् आन्तरिक तागत क्षिण पार्दै नेतृत्व तहलाई निरीह पारेर नथ्थी लगाएर हिँडाउँछु भन्ने दादागिरी मानसिकताले दीर्घकालीनरुपमा भारतको कहिले हित गर्दैन ।

भारतको स्वार्थको हिफाजद त्यतिबेला मात्र हुनसक्छ जतिवेला नेपालको राष्ट्रिय स्वार्थ मजबुत हुन्छ । जीरो सम गेमको अवधारणमा जसअन्तर्गत एउटाले जित्न अर्कोले हार्नै पर्दछ । फाइदा लिन शोषण गर्नै पर्ने वा अरुलाई दुःख दिनुपर्ने होइन । सबैको फाइदाको स्तर बढाउन सक्यो भने एकअर्काको हित स्वतः बढ्छ । डा. चौथेवाले वैज्ञानिक पनि हुन् । यो कुरो उनले झन राम्रोसँग बुझ्न सक्छन् । यति इन्चको होइन, फराकिलो छाती जहाँ आफू मात्र होइन अरु पनि अटाउन छाती लिएर सम्बन्धलाई हेरेमा मात्र सम्बन्ध प्रगाढ हुन्छ । न कि रिटोरिक्स ।

प्रतिक्रिया दिनुहोस्