Logo
Logo

ओठलाई कसरी गुलाबी बनाउने ?


डा. रेखा थापा


अनुहारको सुन्दरतामा ओठको ठूलो महत्व हुन्छ । नरम, स्वस्थ र गुलाबी ओठले सुन्दरतामा निखार ल्याउँछ । ओठलाई सुन्दर बनाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । तर, ओठको स्वास्थमा ध्यान पुग्दैन । यस्तो अवस्थामा विभिन्न समस्याहरु आउन सक्छ । जस्तै, ओठ फुट्ने, छाला उक्किने, सुनिने, कालो हुने, मसिनो धब्बा आउने, समान रङ नहुने जस्ता धेरै समस्या हुन्छन् । यस्ता समस्याले सुन्दरतामा ह्रास आउँछ । त्यसैले ओठको सुन्दरतामा ध्यान दिनुपर्ने हुन्छ ।

के कारण ओठमा समस्या आउँछ ?

चिसो हावा, सूर्यको अल्ट्रा भायलेट किरण जस्ता वातावरणीय प्रभावहरुका कारण ओठमा समस्याहरु आउने गर्दछ । साथै, ओठ चाट्ने, टोक्ने, गुणस्तरहीन लिप कलरहरु प्रयोग गर्ने जस्ता कारण पनि ओठमा समस्या आउँछ । त्यतिमात्र होइन, थाइराइड, पेट तथा पाचनसम्बन्धी समस्या, भिटामिनको कमी र डिहाइड्रेसन आदिका कारण पनि ओठमा विभिन्न समस्या आउने गर्दछ ।

ओठको सुरक्षाका लागि के गर्ने के नगर्ने ?

-शरीरलाई सुख्खा हुन दिनु हुँदैन । जसका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– अत्याधिक मात्रामा चिया वा कफी पिउनु ओठका लागि हानिकारक हुन्छ । यसले ओठलाई कालो बनाउँछ ।

– धुम्रपान गर्नु हुँदैन । सिगरेटमा हुने निकोटिनले ओठको छालामा मेलानिनको मात्रा बढाउँदा कालो, सुख्खा र रुखो हुन्छ ।

– ओठ टोक्ने वा चाट्ने गर्नु हुँदैन । मुखमा हुने सलाइभाको इन्जाइमले ओठलाई सुख्खा बनाइ फुट्ने र पत्र उक्किने समस्या हुन्छ ।

– धेरै तातो वा धेरै चिसो खानेकुरा खानु हुँदैन । यसले ओठको छालालाई बिगार्न सक्छ ।

-धेरै गाढा कलर भएको लिपिस्टिक वा ग्लसमा ओठलाई हानी गर्ने केमिकल प्रयोग गरिएको हुन्छ । ओठको सुरक्षाका लागि यस्ता सामग्री प्रयोग नगर्दा राम्रो हुन्छ ।

-गुणस्तरहीन लिप कलरको प्रयोगबाट बच्नुपर्छ । प्याराविन, फर्मलडिहाइड, हानिकारक मेटल, लिड र अत्याधिक कलरहरुले ओठको संवेदनशील छालालाई ड्यामेज गर्छ । भेगन र केमिकल फ्रि लिप कलर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-लिपिस्टिक प्रयोग गर्दा क्रिमी र मोइस्चरयुक्त साथै एस.पी.एफ. भएको प्रयोग गर्नुपर्छ । यसले ओठलाई नरम बनाउनुका साथै छालाको सुरक्षा गर्छ ।

-सुत्नुभन्दा अगाडि गुणस्तरीय ‘लिप वाम’ लगाउनुपर्छ । लिप वामले ओठमा रक्तसञ्चार वृद्धि गर्नुका साथै नयाँ सेल निर्माणमा मद्दत गर्छ । यसले ओठलाई स्वस्थ, नरम र गुलाबी बनाउँछ ।

-फुटेको वा छाला उक्किएको भागको छाला जबरजस्ती तान्नु हुँदैन । जबरजस्ती तान्दा घाउ बन्न सक्छ । घाउ भएपछि झनै समस्या हुन्छ ।

स्वस्थ र गुलाबी ओठका लागि घरेलु उपायः

गोलभेडा र मह : गोलभेडाको रस र मह मिसाएर लेप बनाइ ओठमा लगाउनाले ओठको कालोपन कम हुन्छ । यसको प्रयोगले ओठलाई प्राकृतिक रुपमा गुलाबी र नरम बनाउँछ । गोलभेडा र महको मिश्रणमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले प्राकृतिक रुपमा ओठलाई गुलाबी बनाउनुका साथै हाइड्रेट गराई ओठलाई फुट्नबाट जोगाउँछ । फुटेको पनि निको हुन्छ ।

गुलाबको फूल : गुलाबको फूल पिसेर दुधमा मिसाई लेप बनाएर लगाउँदा ओठ नरम हुन्छ । यसले ओठबाट कालोपन हटाउँछ । गुलाबको फूलले ओठमा विस्तारै रब गर्दै मालिस गर्दा प्राकृतिक रुपमा ओठ गुलाबी बन्छ ।

चिनी : चिनीले ओठलाई प्राकृतिक रुपमा स्क्रबको काम गर्छ । चिनीलाई दुधमा मिसाई ओठमा विस्तारै रब गर्दा मृत कोषिका हटाउँदै नयाँ सेल निर्माण गर्न मद्दत गर्छ । ओठ नरम र स्वस्थ बन्छ ।

भिटामिन–ई क्याप्सुल : जैतुनको तेलमा भिटामिन–ई क्याप्सुल मिसाइ दैनिक मालिस गर्दा सुख्खापन हट्दै ओठ स्वस्थ हुन्छ ।

जीरा : ओठमा घाउ भए जीरा पिसेर गुलाब जलमा मिसाइ लेप बनाएर लगाउनुपर्छ । जीरामा घाउ निको पार्ने एन्टिअक्सिडेन्ट र एन्टिसेप्टिक प्रोपर्टीज हुने भएकाले यसको प्रयोगले ओठको घाउ हुन्छ ।

नीम : नीमको पात वा बोक्राको धुलोमा दही मिसाइ प्याक बनाएर लगाउँदा ओठको रङ समान हुन्छ । साथै, ओठ स्वस्थ हुन्छ । ओठमा प्याक लगाएर १० मिनेटपछि पखाल्नुपर्छ । यस्तो लेपमा हुने एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरिय तत्वले ओठलाई नरम बनाउँछ ।

बदामको तेल : धेरै सुख्खा र फुटेको ओठमा बदामको तेलले दैनिक मालिस गर्दा निको भई नरम हुन्छ । औलाले विस्तारै क्लकवाइज र एन्टि क्लकवाइज शैलिमा मालिस गर्नु उयुक्त हुन्छ ।

घ्यू : फुटेको र उक्किएको ओठको उपचारका लागि शुद्ध घ्यू राम्रो औषधि हो । घ्यूमा हुने भिटामिनहरुले फुटेको ओठ निको हुन्छ । ओठमा घ्यू लगाएर सुत्नाले ओठलाई मुलायम बनाउँछ ।

ओठका समस्याले स्वास्थ्यमा प्रत्यक्ष र ठूलै प्रभाव त नपार्ला तर सुन्दरतामा भने ठुलै बाधा पुर्याउँछ । त्यसैले सानो–सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ । सामान्य कुराहरुमा ध्यान दिए ओठलाई सुन्दर र आकर्षक बनाउन सकिन्छ ।

प्रस्तुत विधि र सुझावहरु व्यवहारमा प्रयोग गर्दा पक्कै पनि ओठलाई सुन्दर र स्वस्थ्य बनाउन सकिन्छ । यदि, प्रस्तुत विधिले ओठको समस्या समाधान नभए चिकित्सकसँग साल्लाह गरेर उपचार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्