वाह ! ‘सिम्फोनी’ « Drishti News – Nepalese News Portal
Logo
साहित्य

वाह ! ‘सिम्फोनी’


फिपराज बेघा


पहाडकी रानी इलामका ‘आम्भु’ विमल वैद्यले २०७५ साल भदौं १९ गते सप्रेम दिनुभयो, मुकाम बसाईको क्रममा सुरुप्प पिउँदै गर्दा ‘अक्षर सिम्फोनी’ ग्रहण गरे । गन्यमान्यवरसँग झुरुप्पै बस्या थिम् । पूर्वको साहित्यको विषयमा कुरा नहुने कुरै भएन । कान थापेर सुनेँ । बैरागी काइलालगायत शीर्ष साहित्यकारको कुरा उप्किएको थियो । ‘आम्भु’ विमलले लेख्नुभएको रचनागर्भको कुरा चाख माने । उहाँको कविता सुनेँ । ओहो क्या ! घतलाग्दो । जीवन भोगाईलाई यथार्थ रुपमा लेख्ने गरेको पृष्ठभूमिसहित वाचन गरे । अलिकबेरसम्म गफिएर आ–आफ्नो रस्ती–वस्तीतर्फ लखरलखर हिड्यौँ ।

पचासको दशकको बेला पत्रकारितामा क्रियाशील थिए । यस मानेमा पनि उनी मेरो अग्रज हो । अहिले साहित्यमा लगाव छ, उनको । २०६० सालमा ‘आकाश छुन खोज्ने मनहरु’ र २०७२ सालमा ‘समय र सपनाहरु’ कृति प्रकाशित छन् । पछिल्लो कृति २०७५ साउनमा ‘अक्षरको सिम्फोनी’ प्रकाशित भयो ।

मञ्जरी पब्लिकेशनद्धारा प्रकाशित कृतिको आवरण फिक्का तर कलात्मक छ । १०८ पृष्ठमा सिम्फोनीको खास गुदी पढ्न पाइन्छ । ती ४३ शीर्षकमा सजिएका छन् ।

फेरिएको इतिहास लेख्ने हातहरु
उही इतिहासको पुनरावृत्ति लेखिरहनेछन्
कहाँ भयो परिवर्तन ?
कसरी आयो क्रान्तिको आवेग
आज खोजिरहेछन्, असारहरु
मान्छेहरुका अनुहारहरुमा

समानताको सपनाहरु बोकेर क्रान्तिमा होमिएका एउटा योद्धालाई घेरामा राखेर कवि वैद्यले ‘क्रान्तिको परिभाषा’मा भावनाहरु पोखेका छन् । कृतिको शिरानमा पढ्न पाइने कवितामा एउटा योद्धा जो, शोषणको जरा उखालेर अन्यायको विउ मास्ने कुरा गथ्र्यो । आज साउदी अरबमा रंग पोतिरहेको कारुणिक वृतान्तलाई उजागर गरिएको छ । जुन युवाको मनोभावना पनि हो । ‘छुटिरहने साथहरु’मा कसैसँग छुटिएपछिको परिकल्पना उतारेको भेटिन्छ । साथ छुटेदेखि नयाँ साथ पाए बीचको दरारलाई क्षण मानेर कविले ३ पेजमा खर्चिएका छन् ।

साथ भनेको आखिर
पाइला मिलुन्जेलको लागि रहेछ
सँगै हिँडुञ्जेलका लागिरहेछ
जुन दिनदेखि टाढियौं तिमी
मैले पनि त्यहिँ दिनदेखि
नयाँ साथ पाएको छु
तिमीभन्दा अलिक फरकमात्र न हो ।

नयाँ साथ पाएपछि जिन्दगीको मोड नयाँ कथातिर दौडिन्छ । आर्जित खुसीहरुले मायाको आधार शिविरमा सुस्ताउँछ । त्यसपछि सप्रेमको हावाहुरी चलिरहेको बखत खुसीहरुले भतभती पोल्छ । यतिसम्म कि दुख्ने क्षणहरु दुख्न छोड्छन् । त्यो खुसी र त्यो रोदनको पलहरु कविले ‘अर्को नयाँ कथा’ र ‘घाइते मुस्कान’मा क्रमशः कविता क्रममा पस्केका छन् ।

‘बुढो चियाबारी र सत्ता’, ‘रङ्गीन साँझ’, ‘म ढुङ्गा’, ‘घामको उपद्रो’, ‘शीतको प्रेमिल पीडा’, ‘साँझको विरासत’ शीर्षकको कविता प्राकृतिक छन् । वरपरको वातावरणलाई मेहे मानेर भावनालाई कुदाएर कवितामा अड्काइएको छ । ‘निर्वाचन’, ‘क्रान्तिको परिभाषा’, ‘चुनावपछिको मेरो नगर’, ‘झण्डा’, र ‘मौन समय’ शीर्षकका कविताहरु नीति बदल्नेसँग सम्बन्धित छन् ।

‘प्रेमको सिम्फोनी धुन’, ‘म र तिमी’, ‘हाम्रो सपना’, ‘मन चोर्ने मान्छे’, ‘प्रेमको लय’, ‘उनी बेनी नझरेपछि’ जस्ता कविता प्रेमिल छन् । ४३ वटा कविताको शीर्षकलाई मेल खाने हरफहरु छन् । देखेको, जानेकै भोगेकै दृश्यहरुलाई सरल ढंगले कवितामा खिपेका छन् । जसले कृतिलाई ओजनदार बनाएको छ । कृतिलाई सम्झिरहने भर्याङ बनाउनेछ । साहित्यको भण्डारलाई कृतिले मलजल गर्ने नै छ । श्यामलको शब्द पैँचो माग्छु, ‘अक्षर सिम्फोनी’ क्या वात् !’

फुर्सदमा होस्
अथवा व्यस्ततामा
सम्झिँदा मात्र होइन
विर्सिएको बेलामा पनि
सम्झिरहेको हुन्छु तिमीलाई नै
के तिमी पनि
यसरी नै सम्झिरहेका हुन्छ्यौं, मलाई ?
(‘सम्झना’ पृष्ठ ११६–११८)

कृतिः ‘अक्षर सिम्फोनी’
प्रकाशकः मञ्जरी पब्लिकेशन
आवरणः टाइम्स क्रियशन
संग्रहः कविता
सर्जक : विमल वैद्य
मूल्यः रु.२००

[email protected]

प्रतिक्रिया दिनुहोस्