क्रान्ति र प्रतिक्रान्तिको चपेटामा कम्युनिष्ट आन्दोलन « Drishti News – Nepalese News Portal
Logo
दृष्टिकोण

क्रान्ति र प्रतिक्रान्तिको चपेटामा कम्युनिष्ट आन्दोलन


मिलन लिम्बू


संविधान निर्माण क्रान्तिको एउटा चरण थियो । कम्युनिष्टकै नेतृत्वमा त्यो चरण पूरा भयो । संविधान निर्माणपछि राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरियो । तर, त्यसो भएन । कम्युनिष्टकै नेतृत्वमा प्रतिक्रान्ति भयो । आज, प्रतिक्रान्तिबाट उत्पन्न संकट कम्युनिष्टहरुले नै सामना गर्नुपरेको छ ।

पूँजीवाद हुँदै समाजवादसम्मको यात्राका लागि विकास र समृद्धिको नारा तय गरियो । तर, यात्राको प्रारम्भमै पुल काट्ने काम भयो । देश र जनतामाथि ठूलो धोका भयो । समाजवादी यात्रामा ठूलो धक्का लाग्यो । बहुसंख्यक श्रमजीवी वर्गको मुक्तिको सवाल संकटमा पर्यो ।

संविधान कार्यान्वयनको अभूतपूर्व अवसरसहित केपी शर्मा ओली प्रधानमन्त्री बने । ओली नेतृत्वको नेकपा सरकार नै समाजवादी यात्राको नेतृत्वकर्ताको रुपमा सबैले विश्वास गरे । तर, ओलीलाई नै त्यो यात्रा मन परेन । श्रमजीवी वर्गको मुक्ति उचित लागेन । त्यसैले प्रतिक्रान्ति रोजे । व्यवस्था मास्ने प्रतिक्रान्तिको नेतृत्व गरे । आज कम्युनिष्ट शक्ति छिन्नभिन्न भएको छ । आन्दोलन नै धर्मराएको छ ।

विकास र समृद्धिका लागि कम्युनिष्ट एकता जनताको चाहना हो । सोही चाहनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भए । एकताको जिम्मेवारीसहित जनताले दुईतिहाइको अभिमत जाहेर गरे । त्यो अभिमत फगत थिएन । सात दशक लामो कम्युनिष्ट योगदानको योगफल थियो । तर, अभिमत सदुपयोग भएन । अभिमतको आडमा कम्युनिष्ट शक्ति नै समाप्त पार्ने काम भयो ।

संविधान कार्यान्वयनको त्यो ऐतिहासिक अवसर सदुपयोग गर्ने समयमा देश ध्रुविकृत भयो । व्यवस्था मास्ने र व्यवस्थाको रक्षा गर्नेबीच घमासान संघर्ष भयो । त्यो संघर्षले ऐतिहासिक एकतापछि बनेको नेकपा जोगाउन सकेन । जनताको आशा र अपेक्षामा हिलो छ्याप्ने काम भयो । प्रतिक्रान्तिको बाटो समातेकाहरु सफल भए । तर, व्यवस्था मास्न दुई–दुई पटक गरिएको प्रयास असफल तुल्याइयो । जेनतेन आज व्यवस्था बचेको छ । जनतामा आशाका किरण सञ्चार भएको छ ।

प्रतिक्रान्ति रोक्ने क्रममा कम्युनिष्ट आन्दोलनले विभाजन जस्तो दुःखद संयोग सामना गर्नु परेकोे छ । वर्तमान व्यवस्थाका हिमायतीमध्येका एक नेकपा एमाले अस्तित्व बचाउने संकटमा पुग्यो । राजनीतिक जीवनको उत्तरार्धमा माधवकुमार नेपालहरु नयाँ पार्टी गठन जस्तो कठिन संघर्षमा जुट्नुपरेको छ ।

माधव नेपालहरु निरन्तर संघर्षको पर्याय बनेका छन् । जसको विगत र वर्तमान अग्रगमनकै पक्षमा छ । निरंकुश पञ्चायतविरुद्ध होस्, या निरंकुश राजतन्त्रविरुद्ध सधैँ संघर्षरत रहे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था रक्षाका लागि उनै माधवहरु नै लागेका छन् । उनीहरुको जीवन नै संघर्ष बनेको छ ।

एमाले समाप्त पार्ने प्रतिक्रान्ति धारको अन्तिम प्रयास थियो । तर, एमाले समाप्त भएन । अर्थात, एमालेभित्र प्रतिक्रान्तिविरुद्ध सुरुदेखि नै सशक्त विद्रोह भयो । सोही विद्रोहको संयुक्त नाम वा रुप ‘नेकपा एकीकृत समाजवादी’ भएको छ । जसले एमाले समाप्त पार्ने प्रयास असफल बनायो । एमालेको ढुकढुकी बचायो । एमालेका भावी नेतृत्वले सशक्त रुपमा हस्तक्षेप गरे । जसका लागि हजारौँ रामकुमारीहरु तयार भए । बाँकी आन्दोलन उनीहरुले सम्हाल्नेछन् ।

अभूतपूर्व कम्युनिष्ट शक्ति पुनः रक्षात्मक पंक्तिमा पुगेको छ । थप शक्तिशाली हुनेभन्दा पनि आन्दोलन बचाउनु अहिलेको महत्वपूर्ण काम भएको छ । त्यसैले समग्र कम्युनिष्ट आन्दोलन नै गम्भीर समीक्षाको विन्दुमा पुग्यो । सात दशक लामो आन्दोलनको बलमा स्थापित शक्ति तासको घरजस्तै ढल्ने परिस्थिति सामान्य होइन । हजारौँको त्याग र बलिदानबाट स्थापित कम्युनिष्ट मुल्यमान्यता बालुवाको पानी सरह बन्नु असामान्य परिस्थिति हो । लक्ष्यभेदको अन्तिम तयारीमा भएको यति ठूलो नोक्सानीले निर्मम समीक्षा आवश्यक ठान्छ ।

नेकपा खारेजी, दुईतिहाइ बहुमतको अवसान हुँदै एमाले विभाजनसम्म आइगुग्दा अनेक अनुत्तरित प्रश्न र आशंकाहरु उब्जेका छन् । कम्युनिष्टहरु कहिले मिल्न सक्दैनन् ? कम्युनिष्टहरु सत्ता सम्हाल्न सक्दैनन् ? कम्युनिष्टको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन ? जनताको मुक्ति सम्भव छैन ? जस्ता हजारौँ प्रश्न र आशंकाहरुले फेरि ठाउँ पाएका छन् । तर, कम्युनिष्ट किन यस्ता भए ? भन्ने महत्वपूर्ण प्रश्नको जवाफ खोज्ने प्रयत्न नै भएको छैन । विगतका असफलताहरुमा पनि यो प्रश्नप्रति गम्भीर समीक्षा हुन सकेन । अहिले पनि कम्युनिष्ट असफलताको चुरो खोज्न कसैलाई जाँगर चलेको छैन ।

कम्युनिष्ट असफलतामा सबैभन्दा ठूलो भूमिका ‘सैद्धान्तिक वैचारिक विचलन’को छ । सिद्धान्त र विचारमा प्रतिवद्ध भएको भए यो परिस्थिति सामना गर्नुपर्ने थिएन । लामो समयको संघर्षपछि प्राप्त शक्ति र अवसरलाई दुरुपयोग गर्ने कम्युनिष्ट हुन सक्दैनन् । बहुसंख्यक श्रमजीवी वर्गको मुक्तिका लागि जीवन अर्पण गर्न तयार भएकाहरु दलाल पूँजीवादको सारथी बन्न सक्दैनन् ।

बलिदानपूर्ण संघर्षबाट स्थापित विधि, विधान र व्यवस्थामाथि प्रहार गर्दै ‘म नै सबथोक’ भन्नेहरु कम्युष्टि हुन सक्दैनन् । यदि, कुनै कालखण्डमा कम्युनिष्ट थिए भने पनि अब कम्युनिष्ट मूल्यमान्यताबाट च्युत भइसकेका छन् । भएको त्यही हो । अर्थात, कम्युनिष्टहरु मूल्यमान्यता, आर्दश र सिद्धान्तबाट विचलित भइसकेका छन् ।

देश कारोनाले आक्रान्त थियो । कम्युनिष्ट नेतृत्वको सरकार आनन्दले बालुवाटारमा निदायो । आशा र भरोसा टुटेपछि जनता बाँच्ने चाहनामा हप्तौँ हिँडेर गाउँ पुगे । गाउँ जान नसकेकाहरु भोकले मरे । तर, सरकारले जनताको अवस्था के होला भनेर चिन्तासम्म लिएन । निद्राबाट ब्युँझेपछि स्वाथ्य सामग्री किन्न तम्सियो । त्यसैमा कमिसन खायो ।

कम्युनिष्ट सरकारले जनताको नाममा भ्रष्टाचार गर्यो । हजारौँ जनता भोकले मर्दै गर्दा कम्युनिष्ट शासक भ्रष्टाचारले मोटाउँदै थिए । पूँजीवादका दलालहरुसँग मिलेर देश लुट्दै थिए । बेथितिको राम राज्य चलाउँदै थिए । जनजीविकाको सवालमा आँखा चिम्लनेहरु कम्युनिष्ट होइनन् ।
जनता रोग र भोकले मर्दै गर्दा शासक व्यवस्था मास्न योजना बनाउँदै थिए ।

कम्युनिष्ट नै हुन्थे भने ‘जनता नै सर्वेसर्वा’ भन्ने आर्दशबाट प्रेरित हुन्थे र सबै शक्ति जनताको जीवन रक्षामा उपयोग गर्थे । तर, त्यसो भएन । ‘आफ्नो स्वार्थ पूरा भए सबथोक ठीक हुन्छ’ भन्ने मान्यताले कम्युनिष्ट शासक ग्रसित भए । एकपछि अर्को गर्दै स्वार्थसिद्ध गर्न शासक लागिरहे । आफ्नो स्वार्थ पूरा गर्ने क्रममा व्यवस्थामाथि नै प्रहार गरिरहे । त्यो कुनैपनि कोणबाट कम्युनिष्ट आरचण हुँदैन । कम्युनिष्ट आर्दश र सिद्धान्तबाट निर्देशित शासक भएको भए त्यसो गर्दैन थिए ।

कम्युनिष्ट आचरण फलामे अनुशासनमा निहीत हुन्छ । ‘विचार र अभिव्यक्तिमा स्वतन्त्रता, काम कारबाहीमा एकरुपता’ कम्युनिष्टको व्यवहार हो । तर, यहाँ कम्युनिष्ट शासकमा विचार तथा अभिव्यक्तिमा अराजकता र कामकारबाहीमा तानाशाहीपन देखियो । कम्युनिष्ट शक्तिको बलमा सत्ताको नेतृत्वमा सम्हालेका व्यक्तिमा चरम अराजकता देखियो ।

हात्तीछाप चप्पल पड्काउँदै जनताको घरमा आँटोपीठो खाँदै हिँडेका व्यक्ति सत्तामा पुगेपछि एकाएक तानाशाही बने । ‘मै सबथोक हुँ’ भन्ने मान्यताबाट शासन चनाउन खोजे । ओली सत्तामा आएपछि आम नागरिकले महशुस गरेको कुरा यो नै हो । अर्थात, आम नागरिकको नजरमा समेत कम्युनिष्ट नेतृत्व सिद्धान्त र विचारबाट बिचलित भए ।

कम्युनष्टि नेतृत्वमा विचलनका यस्ता धेरै लक्षण छन् । यस्ता धेरै आचरण छन् । कम्युनिष्ट असफलताको कारण यो नै हो । यही विन्दुबाट गम्भीर समीक्षा गर्दै कम्युष्टिहरु ‘करेक्सन’ हुन आवश्यक छ । कम्युनिष्ट नेतृत्व सच्चिन तयार भए पुनः शक्तिशाली बन्नेछन् । सच्चा कम्युनिष्टहरु एक ठाउँमा हुनेछन् । फेरि पनि शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण हुनेछ । सच्चा कम्युनिष्टहरु एक हुन सके कम्युनिष्टकै नेतृत्वमा सर्वहारा वर्गको मुक्ति हुनेछ । समाजवादको यात्रा सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्