Logo
Logo
बेरोजगारी समस्या

सुदूरपश्चिमका हजारौँ युवा भारततिर पलायन

उनीहरु भन्छन्, ‘हातमा सर्टिफिकेट छ, रोजगारी छैन । पलायन नभएर के गर्ने ?'


हिक्मत बम


धनगढी । नेपालमा रोजगारीका अवसर नपाएपछि दैनिकरुपमा ठूलो संख्यामा बेरोजगार युवायुवतीहरु त्रिनगर नाका भएर भारत पलायन हुन थालेका छन् ।

धनगढीस्थित त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकी नाकासँगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँका संख्यामा नेपाली युवायुवती रोजगारीका लासग भारतलगायत खाडी मुलुकमा जाने गरेका छन् ।

तस्बिर/हिक्मत बम

नेपालमा रोजगारीका अवसर नभएपछि बाध्य भएर उनीहरु कामको खोजीमा भारतसँगै खाडी मुलुकमा जाने गरेका छन् । भारतसँगै खाडी मुलुकमा जाने युवायुवती सरकारप्रति उदासिन देखिन्छन् । उनीहरु भन्छन्, ‘युवा त्यो हो, जोसँग सुदुढ सपना र त्यसलाई पूरा गर्ने साहस छ । तर, के गर्ने देश विकासका कर्णधार हामी पलायन हुन बाध्य छौँ । हाम्रा लागि सरकारले कुनै पनि अवसर प्रदान गर्न सकेन र भएका अवसरहरु पनि खोस्दै गयो ।’

पछिल्लो समय सुदूरपश्चिमका युवायुवतीसँगै बृद्धबृद्धासमेत सपरिवार कामको खोजीमा भारततर्फ जान थालेका छन् । उनीहरु भन्छन्, ‘हाम्रो देशमा तीन वटा सरकार छ । तर, हामीलाई सरकार भएको महसुस भएको छैन ।’

कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का यम बमले भने, ‘मैले स्नातक गरेको छु । मेरो लागि नेपालमा कुनै पनि रोजगारी मिलेन । हातमा योग्यताको प्रमाण पत्र बोकेर रोजगारीका लागि निकै डौलिएँ । तर, रोजगारी मिलेन । अहिले बाध्य भएर युरोप जाने तयारी गरेको छु । त्यसका लागि भारतको दिल्ली जाँदैछु ।’ उनले सरकारप्रति उदासिन रहेको बताउँदै युवालाई सरकारले रोक्न नसकेको बताए ।

नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा विश्वकै धनी मानिन्छ । नेपालमा अथाह सम्भावना र रोजगारका अवसर छन् । तर, सरकारले पहिचान गर्न नसकेका कारण युवायुवती रोजगारीको अवसर खोज्दै पलायन हुन बाध्य छन् ।

पछिल्लो समय देशमा रोजगारीका अवसरहरु नहुँदा नेपाली युवायुवती पलायन हुँदै गएका हुन् । भनिन्छ, युवा देश विकास र निर्माणको मेरुडण्ड हो । तर, नेपाली युवायुवतीहरु पलायन हुन बाध्य छन् । उनीहरु हातमा योग्यताको प्रमाण पत्र लिएर रोजगारीका लागि भारत, खाडी मुलकसँगै युरोपतिर पलायन हुन थालेका छन् ।

उनीहरुको गुनासो छ, ‘नेपालमा रोजगारीका अवसर भएको भए हामी अरुको देशमा मजदुरी गर्न जाने थिएनौँ । अरुको देशमा गएर काम गर्नु भनेको उनीहरुको देशको समुन्नतः विकास गर्नमा टेवा पुर्याउनु हो ।’

देशमा संघीयता छ । तीन तहका सरकार छन् । सबै सरकारले युवा पलायन रोक्न र युवाहरुलाई उद्यमशिल बनाउनका लागि युवा लक्षित कार्यक्रमहरु गर्दै आएको भएपनि ती कार्यक्रमहरु प्रभावकारी हुन सकेको छैन ।

सरकारले युवा, महिला र वालबालिकाका लागि लक्षित कार्यक्रमहरु गर्दै आएको छ भन्ने सुनेको छु, ‘जोरायल गाउँपालिकाका वडा नम्बर ७ का खेमबहादुर साउदले भने, ‘ती कार्यक्रमका बारेमा हामीहरुलाई जानकारी नहुँदा र भएका कार्यक्रमहरु पनि प्रभावकारी हुन नसकेको छैन । हामीलाई त युवा लक्षित कार्यक्राहरुको बारेमा कुनै पनि जानकारी छैन ।’

युवा लक्षित कार्यक्रमलाई मात्रै सरकारले प्रभावकारी बनाउने हो भने पलायनबाट रोक्न सकिने छ । सरकारले युवा लक्षित कार्यक्रमलाई स्थानीय स्तरबाट नै प्रभावकारी ढंगले अगाडि बढाउन जरुरी छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा भारतको मुम्बइ रोजगारीको खोजीमा जान लागेका चुरे गाउँपालिका वडा नम्बर १ का पुरन भाटले कक्षा १२ पास गरेको छ । तर रोजगारीको खोजीमा भारत जान बाध्य भएो बताए ।

उनी भन्छन्, ‘नेपाल भौगोलिक हिसाबले तीन भागमा विभाजित छ । हिमाली, पहाड र तराईमा भएका प्राकृतिक सम्पदाको मात्रै सही रुपमा पहिचान गर्न सकिने हो भने पलायन हुनबाट आमी जस्ता युवा रोकिन सक्छौँ ।’

पछिल्लो एक सातमा मात्र सुदूरपश्मिका विभिन्न नाकाबाट तीन हजारभन्दा बढीको संख्यामा नेपालीहरु कामको खोजीमा भारतका विभिन्न शहरहरु गएको तथ्यांक छ । त्यसैले देश निर्माणका मेरुडण्ड युवा पलायन हुनबाट रोक्न सरकारले युवा लक्षित कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्