Logo
Logo

छाब्दी खोलामा आएको बाढीले डाइभर्सन बगायाे



दृष्टि फाइल

तनहुँ । छाब्दी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ । तनहुँको व्यास नगरपालिका वडा नं. १ र १३ लाई जोड्ने गरी छाब्दी खोलामा हालिएको अस्थायी डाइभर्सन गए रातीको बाढीले बगाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले बताए ।

१७ असारमा आएको बाढीले खोलाको पक्की पुल बगाएको थियो । यातायाता ठप्प भएर जिल्लाका दक्षिण भेगका सर्वसाधरणलाई सदरमुकाम दमौली आउजाउ गर्न समस्या भएपछि पक्की पुल बगाएकै ठाउँमा २७ असारमा अस्थायी डाइभर्सन राखिएको थियो । उक्त डाइभर्सन गए राती बाढीले बगाएको हो । 

डाइभर्सन भएको ठाउँमा बेली ब्रिज राख्ने तयारी भए पनि मर्स्याङ्दी नदीले सामान बगाएपछि ढिलाइ भएको ढुंगानाले बताए । बेली ब्रिजको दुई तर्फी जिप निर्माण भएको उनले जानकारी दिए । 

तर, बेली ब्रिजको बेस भने निकाल्दै गर्दा मस्र्याङ्दी नदीमा डुबेर बगेको छ । तनहुँको भानु नगरपालिका- ३ तुरतुरे र गोरखाको पालुङटार नगरपालिका- ५ नयाँबजार जोड्ने बेली ब्रिज २६ असारमा निकाल्दै गर्दा भाँच्चिएर नदीमा डुबेको थियो ।  

‘२ भदौमा मर्स्याङ्दीमा आएको बाढीले बेलीब्रिज बगाएको हो । अझैसम्म पुल फेला परेको छैन । अर्को पुल ल्याएर हाल्ने कुरा हुँदै छ’, ढुंगानाले भने । 

छाब्दीमा डाइभर्सन बगाएपछि व्यास नगरपालिकाको बेलबास, पोखरीभन्ज्याङ, मास्दी, धरमपानीसँगै देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट चल्ने सवारी ठप्प बनेका छन् । अब पैदल यात्रा गरेर सदरमुकाम आउनलाई पनि जोखिम मोलेर छाब्दी खोला तर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्