Logo
Logo

डिआइजीका घुमुवाको आतंक



काठमाडौं । बर्दघाटको मोबाइल तस्करी प्रकरणमा मुछिएका लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले सीमाका चौकीहरुमा आफ्ना विश्वासपात्र प्रहरीहरु फिट गर्न थालेका छन् । यसअघिका डिआइजी रविन्द्र धानुकले खटाएकाहरुलाई धमाधम हटाएर उनले आफ्ना सेटिङका प्रहरी खटाउन थालेका छन् ।

बाँकेको जमुना नाकामा उनले सइ पूर्ण सिंह खत्रीलाई पठाएका छन् । उनले् भारत जाने नेपालीसँग सय रुपैयाँ घुस असुल्नेदेखि तस्करीको लाइन खुलाउने गरेका छन् । नेपालगञ्जका ट्राभल एजेन्टहरुले मनलागी रुपमा बसको टिकट काट्नेमा उनीहरुको सेटिङ जमुना नाकाका इन्चार्जसम्म हुने गरेको छ । साथै रातको समयमा हुने तस्करीको सेटिङ त छँदैछ ।

नेपालगञ्जको ड्रिमल्याण्ड होटलको क्यासिनोमा पनि डिआइजी आचार्यसम्मको सेटिङ रहेको स्रोत बताउँछ । जहाँ बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले पनि छुट्टाछुट्टै घुमुवा राखेर पैसा उठाउने गरेका छन् । असइ विवेक अधिकारी लगायत ११ जना असइ पैसा उठाउन खटिएका छन् ।

यसअघि डिआइजी रबिन्द्र धानुकले सइ डबल बमसहित २५ जना घुमुवा खटाएका थिए । उनीहरुलाई हटाएर हालै डिआइजी आचार्य छुट्टै घुमुवा राखेको स्रोत बताउँछ ।

कोहलपुरका ११ ठाउँमा पेशेवर रुपमा जुवा खेलाइनेमा त्यसमा डिआइजीले आफ्ना घुमुवामार्फत पैसा उठाउने गरेका छन् । त्यस्तै हालै रोकिएको गोरु तस्करी खुलाउन पनि डिआइजी विवादास्पद व्यक्तिहरुलाई भेटिरहेको प्रहरी स्रोत बताउँछ । नेपालगञ्जका होटलमा हुने अवैध गतिविधिमा पनि इन्सपेक्टर डिल्ली खड्कादेखि जिल्लाका एसपी र डिआइजीसम्म पैसा पुग्ने गरेको छ । रुपन्देही, दाङ, कपिलवस्तु, नवलपरासी बर्दिया लगायत जिल्लाका नाकाहरुमा पनि डिआइजीले आफु निकट चौकी इन्चार्ज तथा घुमुवा खटाएका छन् । ओली सरकारका मन्त्रीको चाकडी गरेर प्रदेशमा आएको र अहिलेको सरकारले हटाउन सक्ने भएकाले खर्च उठाउनतर्फ उनी सक्रिय देखिएका छन् ।

यता बाँकेको प्रहरी चौकी अगैयाले गौहत्यामा संलग्नलाई मुद्दा नचलाई छाडेको विषयमा समेत प्रदेशले छानबिन गर्न चासो नदिएपछि यसमा पनि मिलेमतोको आशंका गरिएको छ । गौहत्याको आरोपमा पक्राउ परेका ट्रक चालक सुव्रिभ भल्लाहलाई प्रहरीले मुद्दा नचलाई छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्