Logo
Logo

एमाले विभाजनको मुख्य कारण



केही मान्छे भन्छन्– ‘एमाले विभाजनको मुख्य कारण जुँगाको लडाइँ हो ।’ अर्थात, सत्ताको छिनाझपटी र भागबन्डा । यो विभाजनलाई यति मात्रै भनेर टार्न सकिँदैन र हुँदैन । समाज विकासको नियमअनुसार सामाजिक चेतना र त्यसले निर्धारण गरेको आवश्यकताअनुसार संस्थाहरु गठन र पुनःगठन भइरहने तथ्य नियम संगत नै हो ।

कुनै बेला कुनै संस्था अत्यन्त प्रगतिशील हुन्छ । सोही संस्था कालान्तरमा प्रतिगामी पनि हुन्छ । उदाहरणका लागि रक्तसम्बन्धमा आधारित कविला समाजलाई ध्वंस गरेर निर्माण भएको सामन्ती संस्था अर्थात राजतन्त्रिय व्यवस्था त्यो कालखण्डका लागि प्रगतिशील संस्था हो । त्यही प्रगतिशील राजसंस्था पूँजीवादी आन्दोलनको आँखाबाट हेर्ने हो भने प्रतिगामी ठहरिन्छ ।

सामान्ती उत्पादन सम्बन्धलाई समाप्त गर्ने पूँजीवादी उत्पादन सम्बन्ध र यसले माग गरेको पूँजीवादी राज्यप्रबन्ध पनि प्रगतिशील व्यवस्था नै हो । तर समाजवाद निर्माण गर्ने आन्दोलनमा पूूूूँजीवादी व्यवस्था बाधक बन्ने भएकोले त्यो कालखण्डमा पूँजीवादी उत्पादन सम्बन्ध र यसको पक्षपोषण गर्ने राजनीतिक व्यवस्थालाई प्रतिगामी राज्यव्यवस्था भन्नुपर्ने हुन्छ । साम्यवादी व्यवस्था निर्माण गर्ने कनै कालखण्डमा समाजवादी व्यवस्थाको पनि आलोचना गर्नुपर्ने होला । समाज यसरी नै अगाडि बढ्ने हो र नियम पनि यही हो ।

सन्दर्भ एमाले विभाजनकै हो । यो पार्टीले नेपालको कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न महत्वपूर्ण योगदान गरेको छ । कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि यसको महत्वपूर्ण योगदान रहेकोमा दुईमत छैन ।

पार्टीभित्र जबजमा रमाउने यथास्थितिवाद र समाजवादमा संक्रमण गर्ने प्रगतिवादीहरूको अन्र्तविरोधको वैज्ञानिक ढंगले समाधान गर्न नसक्दा पार्टी विभाजनको तहमा पग्यो ।

तत्कालीन अवस्था र हालसम्म पनि केही कम्युनिष्ट घटकहरूमा कम्युनिष्ट आन्दोलन संचालन गर्ने अत्यन्त जडवादी सोंचहरु विद्यमान थिए र छन् । तर एमालेले जडताको यो परम्परालाई तोड्यो र आफ्नो देशकाल, परिस्थिति र सामाजिक चेतना अनुरुप पार्टी संचालन गर्दै मागहरु शुत्रवद्ध गर्यो । यही मागहरुलाई सैद्धान्तिकरण गरेर ‘जनताको बहुदलीय जनवाद’को नामाकरण पनि भएको थियो ।

जबजको मुख्य विशेषता भनेको आफ्नो पार्टीभित्र आन्तरिक लोकतन्त्रको स्थापना र दोस्रो भनेको नेपाली समाजको चेतनाअनुरुप मागहरु निर्धारण गर्नु । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्तिपृथकीकरण, मानव अधिकारको रक्षा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनको शासन, पञ्चशीलमा आधारित विदेश नीति, विदेशी पूँजी र प्रविधीको स्वीकार्यता, निर्वाचनबाट प्रकट हुने जनताको जनवादी अधिनायकत्व, सामन्ती व्यवस्थाको अवशेषको समाप्ती, नँया उत्पादनको आधार निर्माण, समाजवादमा संक्रमण भन्दै थप के कुरा प्रष्ट पार्यो भने ‘जबज’ भनेको सारमा नँया जनवादी क्रान्ति नै हो । जुन पार्टीको नवौं महाधिवेशनले सम्पन्न भइसकेको घोषणा गरेको छ ।

जबजमा उल्लेख भएको उपरोक्त मागहरु नेपाली जनताको आम चेतनामा निर्धारित थिए । त्यसकारण ‘जबज’ लोकप्रिय भयो । यही सिद्धान्तका कारण एमालेको आकारमा पनि श्रीवृद्धि हुनसक्यो । यी मागहरु आम चेतनाभन्दा कम वा बेसी थिएनन् । त्यसैले एमालेसँग जनता भयो, जनतासँग एमाले भए । तसर्थ जनताको चेतनाभन्दा धेरै नेताको चाहना वा जनताको मागभन्दा कम पार्टीको कार्यक्रम भयो भने पार्टीहरु असफल हुन्छन् । यही तथ्यलाई मनन् गर्दै जबजको विकास भएकोले एमाले सफल भयो ।

त्यसो भए एमाले किन विभाजित भयो ? हामीले एमाले विभाजनको सैद्धान्तिक कारण खोज्नुपर्छ । दुर्भाग्य भनौ कि सौभाग्य एमालेले बहुमतको सरकार संचालन गर्दा एमालेसँग विचार थिएन, अर्थात उ विचार शुन्य थियो । जबजले निर्धारण गरेका सवै मागहरु अर्थात १४ बुँदा नँया संविधानले सम्वोधन गरिसकेको थियो । जबजका लागि थप काम गर्नपर्ने केहि थिएन । अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारलार्ई दिशानिर्देश गर्ने वैचारिक हतियार उस्ले निर्धारण गरिसकेकै थिएन ।

एमालेको नवौं महाधिवेशनले नँया जनवादी क्रान्ति अर्थात जबजको कार्यभार सम्पन्न भइसकेको घोषणा गर्दै ‘अबको बाटो समाजवादतर्फको संक्रमण हो’ भनेको त थियो । तर, यो भाष्यसँग तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली सहमत थिएनन् । समाजवादतर्फको संक्रमण अगाडि बढाउन दलाल नोकरशाही पूँजीवादविरुद्ध जेहाद छेड्नु पर्दथ्यो । कमरेड ओलीले यो आँट गर्न सकेनन् वा चाहेनन् । यती र ओम्नीहरुको दलदलमा यति फसे कि त्यँहावाट उम्किनै सकेनन् वा चाहेनन् । बरु उल्टै आफ्ना कमजोरीहरु ढाकछोप गर्न रेल, पानीजहाज, घरघरमा ग्याँस, रानी पोखरी र धरहराको गीत गाउन थाले ।

गर्नु के पर्दथ्यो ? सबभन्दा पहिला त कमरेड ओलीले एमालेले निर्धारण गरेको नवाैं महाधिवेशनको निर्णयलाई मन, वचन र कर्मले स्वीकार गर्नुपर्दथ्यो । यो स्वीकार्यताले ओलीसँग सरकार र पार्टी संचालन गर्न बलियो वैचारिक हतियार हुन्थ्यो । समाजवादतर्फ उन्मुख हुने आदेश त संविधानले नै दिएको थियो । उनले न संविधान माने, न पार्टीको नवौं महाधिवेशनको निर्णय । यसरी ओलीसँग मार्गनिर्देशन गर्ने कुनै सिद्धान्त भएन । उनी कुहिरोको काग झै वालुवाटारमै हराए ।

विचार शुन्यताले दिग्भ्रमित भइन्छ, हताश भइन्छ । उनले यो हताशा चिर्न ‘साइवर स्याल’ निर्माण गरे, ‘आइ लभ यु केपी बा’ भन्न लगाए, संसद विघटन गरे, अध्यादेशले राज्य संचालन गर्न खोजे अर्थात एकपछि अर्को गल्ती गरे । फलतः पार्टीभित्र ठूलो असन्तुष्टि उत्पन्न भयो । असन्तुष्टिलाई जबजले भने झै लोकतान्त्रिक विधिले हल गर्नु पर्दथ्यो । तर उनले आफ्नो पक्षधरहरु मात्रै बोलाएर वैठक गर्न थाले, निर्णय गर्न थाले । जसरी सरकारलाई हताशावाट संचालन गरे । त्यहि विधि उनले पार्टी संचालनमा पनि प्रयोग गरे । परिणाम स्वरुप पार्टी विभाजन भयो ।

अब के गर्नपर्छ ?

एमाले वा यसबाट विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले विचारको क्षेत्रमा काम गर्नु पर्दछ । जबजले माग गरेको समाज प्राप्त भइसकेको छ । यसैको जगमा समाजवादतर्फ संक्रमण गर्ने कार्यक्रमलाई सैद्धान्तिकरण नगरे सुखै छैन ।

अब पनि जबजको मात्र गीत गाउने हो भने बदलिँदो समाजको मागलाई यसले सम्बोधन गर्न सक्दैन । सामाजिक चेतना अनुरुपको कार्यक्रम नल्याउने प्रवृत्तिलाई नै यथास्थितिवाद भनिने हो । जबज भन्दै यथास्थितिमा रमाउने हो वा प्रगतिशील कार्यक्रम ल्याएर समाजवादतर्फ संक्रमण गर्ने हो । दुवै पार्टीका लागी यो सवाल यक्ष प्रश्न हुन सक्छ ।

तसर्थ निर्धक्क के भन्न सकिन्छ भने, एमाले विभाजनको प्रमुख कारण वैचारिक नै हो । जबजले विकास गरेको सामाजिक चेतना र यसको जगमा निर्धारण भएको राज्यव्यवस्था र पूनःविकसित राज्यव्यवस्थाले विकास गरेको अर्को सामाजिक चेतना र त्यसका मागहरु सम्वोधन गर्न एमालेले ढिलाई गर्यो ।

समाजले थप अरु कुरा खोज्दै थियो, एमालेजनहरु काम फत्ते भइसकेको जबजमा रमाइरहे । त्यो रमाई भनेको ‘यथास्थितिवाद’ हो भन्ने भेउ नै पाएनन् । र पार्टीभित्र जबजमा रमाउने यथास्थितिवाद र समाजवादमा संक्रमण गर्ने प्रगतिवादीहरुको अन्र्तविरोधको वैज्ञानिक ढंगले समाधान गर्न नसक्दा पार्टी विभाजनको तहमा पग्यो । अब पनि जबजको गीत गाइरहने हो भने जबज बोक्नेहरु समाप्त हुनेछन् ।

अगाडि नै भनियो, जनताको आकांक्षा र मागहरुसँग नियमित नहुने संस्थाहरु बिलोप हन्छन् । कसैले चाहे पनि नचाहे पनि समाज यसरी नै अगाडि बढ्छ । समाज विकासको नियम पनि यहि हो ।

प्रतिक्रिया दिनुहोस्