Logo
Logo

समाचार प्रभावः कर्णेललाई कोर्टमार्शल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जन्ममिति कीर्ते गरी सैनिक सेवामा प्रवेश गरेका एक कर्णेलमाथि कोर्टमार्शल सुरु भएको छ । प्रमुख सेनानी(लेफ्टिनेन्ट कर्णेल) जीवन थापामाथि कोर्टमार्शल सुरु भएको हो ।

दुई साताअघि दृष्टि साप्ताहिकमा उनको कीर्ते जन्ममितिबारे प्रकाशित समाचारका आधारमा कोर्टमार्शल सुरु भएको हो । आफू फस्ने डरले थापाले हालै राजिनामा दिएका छन् । तर, उनको राजिनामा स्वीकृत नगरी कोर्टमार्शल सुरु भएको हो । २६ वर्षको उमेरमा आफू २१ वर्ष मात्र भएको भन्दै नक्कली कागजपत्र पेश गरेर उनले जागिर खाएका थिए । सेनामा २१ वर्षपछि प्राविधिक बाहेकका पदमा भर्ना हुँदैन ।

उनको स्कुलको सर्टिफिकेटमा जन्ममिति २०१९ साल पुस ६ गते उल्लेख छ । तर आफू २०१४ सालमा जन्मिएको नक्कली कागजपत्र उनले पेश गरेका थिए । उनीमाथि छानबिन सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालयले पठाएको पत्रमै उनको जन्ममिति २०१९ साल भनिएको छ ।

उनले २०३७ सालमा एसएलसी पास गरेका हुन् । उनले पेश गरेको कागजपत्रअनुसार १३ बर्षको उमेरमा नै एसएलसी उत्तीर्ण गरेको भनेर उमेर घटाएका छन् । १३ वर्षमा एलएलसी पास उत्तिर्ण सम्भव नै छैन ।

विगतदेखि उनीविरुद्ध छानबिन हुँदै आएपछि कारबाही हुन सकेको थिएन । उनको आफन्त रहेका उपरथी शेखरसिंह बस्नेतले उनलाई जोगाउँदै आएका थिए । बस्नेतले अवकाश पाइसकेका छन् । उनको बारेमा समाचार आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले नै चासो लिएर कोर्टमार्शल गर्न निर्देशन दिएका हुन् ।

नेपाली सेनामा नक्कली शैक्षिक प्रमाणपत्र भएका र जन्ममिति कीर्ते गर्नेहरुको संख्या ठूलो छ । त्यसमध्ये प्रधानसेनापतिको विरुद्धमा हुने मात्र कारबाहीमा पर्ने गरेका छन् । सेनामाथि अन्य निकायले छानबिन गर्न नपाउने भएकाले यस्ता अनियमितता सेनामा नरोकिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्