Logo
Logo

याकुमा ‘जोडी परेवा’ प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


भोजपुर,१० बैशाख । नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको हो । नाटककको लेखन तथा निर्देशन सन्तोष थापाले गरेका हुन् भने तिलक थापा र पुजन आचार्यले सहनिर्देशन गरेका थिए ।
सामाजिक विषयवस्तुमा आधारित उक्त नाटकमा पुजन आर्चाय, तिलक थापा, भूमिका ढकाल, सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, योगेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य लगायतका कलाकारले सशक्त अभिनय गरेका थिए । नाटकलाई अरुण कला–साहित्य समाजले प्रस्तुत गरेको थियो ।
उक्त अवसरमा नाटक प्रदर्शनसँगै प्राथमिक विद्यालयस्तरीय र खुल्ला नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा विद्यालयस्तरीय नृत्यतर्फ मनिशा थापा प्रथम र रिक्तिमाया तामाङ द्वितीय भएका थिए भने भने खुल्लातर्फ मीना भुजेलको समूह प्रथम, भोजकुमारी ढाकालको समूह द्वितीय र दीपा ढकाललको समूह तृतीय भएका थिए ।
कार्यक्रममा अरुण गापा उपाध्यक्ष विनिता ढकाल, पाँच नम्बर वडाका अध्यक्ष ध्यानबहादुर राई, लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’, चलचित्र निर्देशक गणेश उपाध्याय, उमेश कार्की र पञ्चकन्या निमाविका प्रधानाध्यापक सालिकराम ढकाललको आतिथ्य रहेको थियो ।
स्थानीय स्तरमा साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष अनिश ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्