Logo
Logo
साहित्य

कविता- त्यो रूख




रुखको छाहरी भनेको पातहरू हुन्
तर ती पातहरू झर्नै पर्छ
नयाँ पालुवा अङकुुरित हुन
हो, झरेर केही फरक पर्दैन
यो सृष्टिको नियम हो
यो नै संगठित तागत हो

समस्या रुख रोगाएपछि हुन्छ
पातहरू झर्छन्
तर नयाँ पालुवाहरू अङ्कुुरित हुन सक्दैनन्
केहि भए भने पनि रोगी हुन्छन्
ठिङ्ग उभिएको बुङ्गो रुख
उपस्थिति सबैले देख्छन्
तर त्यहाँ जान डराउँछन्
त्यो रुखले न ओत दिन सक्छ
एक झर पानी परेको बेला
न छहारी दिन सक्छ
टन्टलापुर घामले पोलेको बेला
ती बटुवालाई जो अहोरात्र खटिएका छन्
आफ्नो घाम छायाको जिन्दगीमा

रोगाएको रुख हरेक दिन कङ्काल हुँदै जान्छ
ठूलो हुँदै गएको गोलोमा अरिङ्गालको बास
मेलापात जानेहरू त्यहाँ बास बस्दैनन्
ढिस्कोमा उभिएर चमत्कार देखाउँदा
लाल दन्त मन्जन दलेको दाँतले फलामे डन्डी बङ्याएको
त्यस्तै, टोपीबाट खरायो झिकेको
या, बाह्र मज्जा बाडेको
तर रोगाएको त्यो रूखको अगाडि
मानिसहरू नजिक जाँदैनन्
के ठेगान कुन बेला ढाल्ने हो त्यो
कुन बेला अरिङ्गाल खनिने हो

तर अझै बुझ्ने समय सकिएको छैन
किन झरिरहेका छन् ती पातहरू डरलाग्दो परिणति बनेर ?
किन त्यो रुख बुङ्गो भो ?
यो बुझेर उपचार गरे
त्यो ठुलो छहारी दिन सक्ने रुख
अझै बाच्न सक्छ
धेरैलाई फाइदा दिन सक्छ
यदि चेतना भए

प्रतिक्रिया दिनुहोस्