Logo
Logo

नेकपा स्थापनाको ७० वर्ष : अध्यक्षद्वयले भने–युगको अभिभारा पूरा हुँदैछ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘हामी जित्नेछौँ, हामी जित्नेछौँ एक दिन’ अमेरिकी गायक बब डिलानको यो गीत हामीले धेरै गायौँ । एउटा समय थियो । जित हाम्रो सपना थियो । भूमिगत हुनुपथ्र्यो, मारिनुपथ्र्यो वा जेल बस्नुपथ्यो । त्यस्तोबेला हाम्रो आकांक्षा हुन्थ्यो जित, केवल जित । यो त्यही दिन हो । जुन दिनको हामीले सपना देखेका थियौँ,’ राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विगत सम्झिए । साथै, उनले पार्टी एकताको निम्ती विशेष लचकता, फराकिलोपना देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विशेष धन्यवाद दिए । ‘कमरेड प्रचण्डले साहस नगरेको भए, लचकता नदेखाएको भए र फराकिलोपना नदेखाएको भए एकता सम्भव थिएन,’ उनले थपे, ‘यो अवसरमा म सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । एकताको आकांक्षा राख्ने र दबाब दिने सबैलाई धन्यवाद भन्न चाहन्छु ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यो गीतको स्मरण गर्दा प्रेक्षालय लामो समयसम्म तालीले गुञ्जियो । हुन पनि त्यो प्रेक्षालयमा बसेका हरेकले कम्तीमा जीवनमा एकपटक त्यो गीत गाएकै थिए । नेकपाको नेतृत्वमा ७० वर्षअघि सुरु भएको समानताको संघर्षमा लामबद्ध भएका लाखौँ–करोडौँ नेपालीको भावना प्रधानमन्त्री ओलीले त्यसरी व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसो भन्नु नाजायज पनि थिएन । किनभने त्यही जितको सपनासहित आन्दोलनमा समाहित भएका ओलीले १४ वर्ष कठोर काराबास भोगे । अरु कयौँ नेता–कार्यकर्ताले पनि जेलजीवन बिताए । हजारौँले बलिदान गरे । त्यसपछि बल्ल प्राप्त भयो संघीय लोकतान्त्रिक गणतन्त्र । त्यो गणतान्त्रिक व्यवस्थामा सुदृढ बहुमतसहित नेकपाले सरकारको नेतृत्व गर्नु वास्तवमै एउटा जित हो ।

अझ स्थापनाको छोटोअवधिमै विभाजनको पीडा भोगेर दर्जनौँ टुक्रामा विभक्त भएको कम्युनिष्ट पार्टीले सोमबार अर्को ऐतिहासिक कार्यभार पनि पूरा गरेको थियो । अर्थात, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रियाले पूर्णता पाएको थियो । सोही कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणको कामले पूर्णता पाएको घोषणा गरेका थिए । साथै उनले आउँदो एक महिनाभित्र जिल्ला कमिटीहरूको अधिवेशन र एक वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गरिने पनि बताए ।

दुवै अध्यक्षले सम्बोधनको क्रममा नेकपाको इतिहास, एकताका लागि गरिएका पहल र सफलताबारे आआफ्ना धारणा राखेका थिए । अब एकीकृत पार्टीले पार्टी स्थापनाका बाँकी कार्यभार पूरा गर्ने दायित्व निभाउने उद्घोषसमेत उनीहरूले गरे । कार्यक्रममा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित स्थायी समिति सदस्यहरू, केन्द्रीय सदस्यहरू, पार्टीका सांसद् तथा सयौँ नेता–कार्यकर्ता उपस्थित थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनले संगठित अभियानका गौरवपूर्ण ७० वर्ष सफलतापूर्वक पार गर्नु विशेष खुसीको दिन भएको बताए । ‘वामपन्थीहरूका लागि मात्र होइन, सिंगै देशका लागि यो खुसीको क्षण हो । यही पार्टी हो, जसले राष्ट्रियताको रक्षा गरेको र राष्ट्रियताको आन्दोलनलाई उचाइमा पु¥याएको छ,’ ओलीले भने, ‘यही पार्टी हो, जसले लोकतन्त्रका निम्ति बलिदानपूर्ण संघर्ष गरेको छ । लोकतन्त्रलाई वास्तविक लोकतन्त्रका रूपमा अगाडि बढाएको छ । निरकुंश, सामन्ती व्यवस्था फालेको छ ।’ उनले यो पार्टीले सामाजिक न्याय र समानताको प्रश्न सुरुदेखि उठाएको, राजनीतिक अधिकारका निम्ति संघर्ष गरेका, सामाजिक सांस्कृतिक कुरा पनि उठाएको चर्चा गरे । यस्तै, देशको आकांक्षा, सुदृढ राष्ट्र, वास्तविक लोकतन्त्र, सामाजिक न्यायसहितको विकास र समृद्धि र राष्ट्रिय गौरवको उत्थान, संस्कृतिहरूको संरक्षण र उत्थानको लागि यो पार्टीले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्