Logo
Logo

मैले सेक्स ह्यारेसमेन्ट भोगेकी छु-उषा खनाल, मोडल/अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


मोडल होस् वा अभिनेत्री यहाँ कामभन्दा बढी चर्चा चाहन्छन् । तर, चर्चाका भोकाहरुको भीडमा अभिनेत्री उषा खनाल पर्दिनन् । उनी भन्छिन्, ‘काम गर्न पाए हुन्छ । कामविनाको चर्चा मलाई मनपर्दैन ।’ हाल नेपाली ‘बिर बहादुर’मा व्यस्त रहेकी उषा अभिनित दुई फिल्म ‘बिच बाटो’ र ‘लाले’ रिलिज भइसकेको छ भने ‘खतरनाक’ प्रदर्शोन्मुख छ । म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा पाइला राखेकी उषाले केही भोजपुरी फिल्ममा समेत अभिनय गरेकी छन् । तीमध्ये ‘बदलेकी आग’ र ‘दि आर्टिष्ट’ प्रमुख हुन् । दाङ, लमहीकी उषा रहरले कलाकारितामा लागेको बताउँछिन् । ‘म सानैदेखि नृत्य गर्न रुचाउँथेँ’ उनले सुनाइन्, ‘काठमाडौं अध्ययनका लागि आएकी हँु, यसैक्रममा रहर पनि पूरा गर्ने अवसर पाएकी छु ।’ कलाकारिताका अलावा समाजसेवाप्रति पनि रुचि राख्दै आएकी मोडल तथा अभिनेत्री उषा खनालसँग एमपी सुब्बाको जम्काभेट :

कलाकारिता क्षेत्रमा लाग्नुभएको कति भयो ?

औपचारिक रुपमा कलाकारिता सुरु गरेको पाँच वर्ष पूरा भएर ६ वर्षमा लाग्दैछ । तर, म गाउँमा स्कुल पढ्दैदेखि स्टेजमा नृत्य गर्थेँ । कलाकारिता मेरो रुचिको विषय हो ।

लमहीबाट काठमाडौं कलाकारिताकै लागि आउनुभएको हो ?

होइन, स्टडीका लागि यहाँ आएकी हुँ । कलाकारिताप्रति मेरो रहर र रुचि भएकाले यो क्षेत्रमा लागेकी हुँ ।

कलाकारिताको अवसर कसरी जु¥यो ?

यो क्षेत्रमा मेरो साथी झरना रिजाल थिइन् । उनले निर्देशक शिव विकसँग चिनजान गराए । मेरो रहर र इच्छा थाहा पाएपछि उहाँ (शिव विक)ले पहिलोपटक म्युजिक भिडियोमा अवसर दिनुभयो । त्यहीँबाट मेरो कलाकारिता अगाडि बढेको हो ।

पछिल्लो समय त फिल्ममै बढी व्यस्त हुनुहुन्छ ?

हो, तर मैले म्युजिक भिडियो पनि गर्दै आएकी छु । अहिले फिल्म ‘बिर बहादुर’मा काम गरिरहेकी छु । मेरो फिल्म ‘खतरनाक’ चाँडै रिलिज हुँदैछ ।

काम गरेअनुसार तपाइँको चर्चा छैन नि ?

हो, काम गरिरहेकी छु । खाशै फुर्सदमा बस्नुपरेको छैन । तर, मेरो चर्चा भएन र कसैले चिनेन भनेर गुनासो पनि छैन । चिन्ने जतिले चिनेकै छन् । मलाई काम विनाको चर्चा मन पर्दैन ।

म्युजिक भिडियो गर्दा–गर्दै फिल्मी अभिनयमा लाग्नुभयो । सजिलो केमा लाग्छ ?

म्युजिक भिडियोमै सजिलो छ । भिडियोमा डाइलग बोल्नु पर्दैन । तर, फिल्ममा अभिनयमात्र गरेर हुँदैन । डाइलग पनि बोल्नुपर्छ ।

तपाइँको प्राथमिकता म्युजिक भिडियो कि फिल्म ?

दुवैलाई प्राथमिकता दिएकी छु किनकि, कलाकारिता मेरो रहर र रुचिको क्षेत्र हो । त्यसैले मलाई सुहाएसम्म म्युजिक भिडियोसँगै फिल्म पनि गर्दै आएकी छु ।

तर, अहिले नयाँ आएका हिरो÷हिरोइनहरु त म्युजिक भिडियो गर्न मान्दैनन् नि ?

त्यो उनीहरुको विषय हो । अर्को कुरा म आफूलाई हिरोइन भन्दिनँ । म कलाकार हुँ । कलाकार भनेको काँचो माटोजस्तो हुनुपर्छ । काँचो माटोलाई जस्तो पनि आकार बलाउन मिल्छ । त्यस्तै कलाकार भएपछि जता पनि फिट हुन सक्नुपर्छ । तैमाथि म त भिडियोबाटै आएकी हुँ ।

तपाइँलाई अहिले बनिरहेका नेपाली फिल्म कस्तो लाग्छ ?

म खाशै धेरै फिल्म हेर्दिनँ । तर, पहिलेभन्दा अहिले नेपाली फिल्म धेरै राम्रो बन्न थालेको छ । यो खुसीको कुरा हो ।

प्रशंग बदलौँ, अहिलेसम्म सिंगल हुनुहुन्छ होइन त ?

अँ, अहिले चाहिँ सिंगल नै छु । कुनै समय मेरो पार्टनर थियो । अहिले त पूरै सिंगल नै हो ।

सिंगल देखेपछि प्रेम प्रस्तावहरु त प्रसस्तै आउँछ होला है ?

प्रेम प्रस्ताव नआउने भन्ने कुरै छैन । कति आउँछ तर पछिल्लो समय प्रेम प्रस्तावलाई इग्नोर गर्दै आएकी छु किनकि, अहिले मेरो करिअर बनाउने समय हो ।

यो क्षेत्रमा लागेर केही अप्ठ्यारो अवस्था झेल्नुपरेको छ कि छैन ?

फिल्म क्षेत्रमै त केही नराम्रो झेल्नुपरेको छैन । मैले थोरै मान्छेसँग काम गर्दै आएकी छु । तर, शोसल मिडियामा भने सेक्स ह्यारेसमेन्ट भोगेकी छु । म्यासेस र कमेन्टहरुबाट केही मान्छेले म माथि सेक्स ह्यारेसमेन्ट गरेका थिए । त्यो बेला म घर बाहिर निस्किन समेत डर लाग्थ्यो । ह्यारेट्समेन्टबाट बच्ने अहिले सजिलो उपाय सिधै ‘ब्लक’ हो ।

कलाकारिताबाहेक भविष्यको योजना के छ ?

कलाकारिता ड्रगको नशाभन्दा ठूलो नशा हो । म कलाकारितालाई कुनै एंगलबाट पनि छाड्न सक्दिनँ । तैपनि साइट जबका लागि केही व्यापार व्यवसायी गर्नु पर्ला भनेर सोच्दै छु । ढिलो चाँडो व्यापार नै गर्छु होला ।

प्रतिक्रिया दिनुहोस्