Logo
Logo

अमेरिका बस्ने ज्वाइँ खोज्दा रुवावासी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालीको विदेश मोह अचम्मको छ । युरोप–अमेरिका जानका लागि करोडौं खर्च गर्न पछि पर्देनन् । अझ युवतीहरु युरोप–अमेरिका बस्ने केटा भनेपछि हुरुक्कै हुने गरेका छन् । त्यही मोहका कारण केही युवतीहरुको बिचल्ली समेत भएको छ ।

आफू अमेरिकाको पिआर होल्डर भएको र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवकले सजिलै काठमाडौंमा पाँच युवतीलाई यौन शोषण गरी लाखौं रुपैयाँ ठगी समेत गरेका छन् । युवक पक्राउ परेपछि प्रहरीमा पीडित युवतीहरुको लर्काे लागेका छ । प्यूठान घर भएका ३१ वर्षिय शशिधर खड्काले यसरी युवतीहरुलाई ठगी र यौनशोषण गरेका हुन् । महानगरीय प्रहरी परिसरले उनलाई गत साता पक्राउ परेको छ ।

काठमाडौंकी एक युवतीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । ती युवतीलाई उनले गत वर्ष एक बिहेको भोजमा भेटेका थिए । युवक चिटिक्क परेर हिँड्थे । उनको उद्देश्य नै युवतीहरुलाई आकर्षित गराएर ठगी र यौन शोषण गर्नु थियो ।

बिहेमा भेटेकी ती युवतीलाई उनले आफू अमेरिका बस्ने भन्दै प्रभावमा पारे । युवती सहजै उनको नक्कली माया जालमा परिन् । केही महिनामै आफ्ना बुबा–आमालाई समेत भेटाइन् । बिहे गर्ने सहमति भयो । बिहे गरेर अमेरिका जानुअघि नेपालमै बस्ने भएपछि युवकलाई उनीहरुले आफ्नै घरमा घरज्वाइँ जस्तै गरी राखे । उनी युवतीको घरमा बसे, लिभिङ टुगेदरका रुपमा ।

अमेरिका जान युवतीले पासपोर्ट पनि बनाइन् । भिसा प्रक्रियाका लागि अमेरिकाबाट पैसा ल्याउन समस्या भएको भन्दै उनले युवतीकै परिवारलाई पैसा मिलाउनुपर्ने बताए । छोरीलाई बिहे गरेर अमेरिका पठाउने भएपछि पैसा दिन उनको परिवार तयार भयो । भिसा प्रक्रियाका लागि भनेर पैसा लिएपछि घरज्वाइँ टाढा हुँदै गए । बिस्तारै उनी घरमै आउन छाडे । फोन गर्दा मोबाइल नै अफ हुन थाल्यो । मोबाइल नै अफ भएपछि आफूहरु ठगिएको ठानिएर उनीहरु प्रहरीमा गएका हुन् । पक्राउ परेपछि उनले ती युवती र उनको परिवारलाई चिन्दै नचिनेको बताएपछि उनीहरु छाँगाबाट खसेजस्तो भए ।

एकातर्फ छोरीमाथि शोषण र अर्काेतर्फ घर बैंकमा राखेर निकालेको करिब ४० लाख डुबेको थियो । अमेरिकी ज्वाइँको मोहमा पनि सो परिवार यतिबेला बर्बाद भएको छ ।

बर्बाद हुनेमा उनीमात्र होइन । खड्काबाट पीडित अन्य चार युवती प्रहरीमा पुगिसकेका छन् । ललितपुरकी एक विवाहित महिलालाई त उनले अमेरिका लैजाने भन्दै श्रीमानसँग डिभोर्स गर्न लगाएका थिए । अमेरिका मोहले पैसा त डुबाइन्् नै वैवाहिक जीवन समेत उनको अस्तव्यस्त हुन पुगेको छ । धादिङकी अर्की एक युवती पनि उनीबाट सिकार भइसकेकी खुलेको छ । तीन जनाले उजुरी दिइसकेको र अन्य दुई जना उजुरी दिने क्रममा छन् ।

उनले सबै युवतीलाई फरक फरक नाम भन्ने गरेका थिए । कसैलाई गुलाब सिंह त कसैलाई क्षिजितका नामले उनले चिनाउँथे । धेरैलाई अमेरिकाको पिआर होल्डर भनेर प्रभावमा पारी उनले ठगी र शोषणा गर्दै आएको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटी बताउँछन् । उनको धन्दा नै युवती ठगी भएको र निकै चलाखीपूर्वक ठगी गर्दै आएका थिए । उनीविरुद्ध बलात्कार मुद्दामा पनि प्रहरीले कारबाही अघि बढाएको छ ।

यस्ता किसिमका ठगीका घटना काठमाडौंमा धेरै छन् । आफू परराष्ट्र मन्त्रालयको जागिरे भएको भन्दै धेरै युवतीलाई ठगी गर्ने अर्का युवक डोटीका केशव भट्ट पनि काठमाडौं प्रहरीकै हिरासतमा छन् । फेसबुकमार्फत चिनजान गरी उनले पनि धनाढ्य बाबुका छोरीहरुलाई ठगी गरेका हुन् । बिहे गर्ने पक्का भएपछि आफूलाई आकस्मिक रुपमा पैसा चाहिएको भन्दै लिएपछि फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्