Logo
Logo

भारतमा मोदी पुनःआगमनको संकेत


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

दक्षिण छिमेकी गणतन्त्र भारतको १७औँ लोकसभाको चुनावको लागि ९० करोड भारतीय चुनावमा होमिएका छन् । ५४३ सिटका लागि सात चरणमा हुने यस चुनावको दुई चरण (अप्रिल ११ र १८) समाप्त भइसकेको छ । अब पाँच चरणको चुनाव हुन बाँकी छ । यसको अन्तिम परिणाम मे २३ देखि परिणाम आउन थाल्नेछ । मे २६ आगामी जेठ १२ गतेसम्म सम्पूर्ण परिणाम आइसक्नेछन् ।

यस आम चुनावमा सत्ताधारी भारतीय जनता पार्टीविरुद्ध विपक्ष पार्टी सशक्त रुपमा आउन सकेन । विपक्षी पार्टीहरु एक क्षेत्र एक उम्मेदवारमा सहमत हुन नसक्दा यो चुनाव त्रिपक्षीय भीडन्त (भारतीय राष्ट्रिय कांग्रेस, भारतीय जनता पार्टी र क्षेत्रीय दलहरु)मा परिणत भएको छ ।

निश्चितरुपमा यसको फाइदा सत्ताधारी भारतीय जनता पार्टीको ४४ पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए)लाई प्राप्त हुनेछ । चुनावी समीक्षकहरुका अनुसार यस आम चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र पुनः सत्तामा आउनेछन् । तर, त्यो आगमन सन् २०१४ मा भारतीय जनता पार्टी एक्लैको बहुमत जस्तो सहज भने हुनेछैन । सन् २०१४ मा भएको आम चुनावमा भारतीय लोकसभाको ५४३ सिटमध्ये भारतीय जनता पार्टी एक्लैले २८२ सिट ल्याई बहुमत प्राप्त गरेको थियो । सत्ताधारी एनडीएले जम्मा ३३६ सिट प्राप्त गरेको थियो । भारतीय लोकतान्त्रिक व्यवस्था बेलायती वेस्ट मिनिस्टर पद्धतिमा आधारित छ । १० लाख मतदान केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मेशिन (इभीएम) को प्रयोग हुनेछ । यस सत्रौँ लोकसभा चुनावमा १८ देखि १९ वर्षका डेढ करोड युवा मतदाताले मतदान गर्नेछन् भने आठ करोड त्रिचालिस लाख नयाँ मतदाताले मतदान गर्नेछन् ।

प्रधानमन्त्री मोदीका लागि यो चुनाव सन् २०१४ जस्तो सहज हुनेछैन । किनभने उनले गरेका नोटबन्दी (पुराना बैंक नोटहरुको खारेजी) जनरल सेल्स ट्याक्स (जिएसटी) र हरेक भारतीयको बैंक खातामा १५ लाख राखिदिने वाचा पूरा नभएको हुनाले भारतीय जनता त्यति सारो खुशी नभएतापनि विशृङ्खलित विपक्ष भएको कारणले मोदीको भारतीय जनता पार्टी नै सत्तामा आउने देखिन्छ । तर मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले त्यो बहुमत प्राप्त गर्न कठिन छ । तर, एनडीएको सहयोगले त्यो सम्भव तुल्याउने छ ।

प्रधानमन्त्री मोदी पुनः सत्तारुढ हुँदा नेपालसितको सम्बन्ध कस्तो रहला त ? यस सन्दर्भमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको केमेष्ट्री मिलिनै रहेको हुनाले अवश्य पनि नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्